संक्रमण दर घटेपछि रुपन्देहीमा अक्सिजनको समस्या पनि हट्यो, स्थानीय उत्पादन पर्याप्त – Nepal Press

संक्रमण दर घटेपछि रुपन्देहीमा अक्सिजनको समस्या पनि हट्यो, स्थानीय उत्पादन पर्याप्त

रुपन्देही । रुपन्देहीमा एक महिना अगाडि अक्सिजन अभावमा कोभिड संक्रमित उपचार मात्र प्रभावित भएन ९ जनाले मृत्यु नै भयो । यहाँका अस्पताल, प्रशासन तथा जनप्रतिनिधिलाई अक्सिजनको व्यवस्थापन नै चुनौती बनेको थियो ।

अक्सिजन अभावमा यहाँका अस्पतालले नियमित बिरामीसँगै कोभिड संक्रमितको पनि उपचार बन्द गर्नुपर्ने घोषणा गरेका थिए । तर अहिले संक्रमण दर ओरालो लागेको छ भने यहाँका अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन पनि पर्याप्त छ । अक्सिजन आपूर्ति र उत्पादन सहज बनेपछि संक्रमितको उपचारमा सहज भएको छ ।

संक्रमणले श्वासप्रश्वासमा समस्या भएका बिरामी अस्पतालमा बेड नपाएपछि पेटी बरण्डा, भूइँ जताततै पल्टिएका हुन्थे । बिरामीका आफन्त आक्सिजन जोहो गर्न भौतारिन्थे । पहुँचवालाई भनसुन हुने गर्थ्याे । आफन्त अक्सिजन उत्पादन गर्ने प्लान्टमा दिनरात लाइन लाग्थे, सिलिण्डर खोसाखोस गर्थे । अस्पताल र स्थानीय प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मेहम्मे थियो । पछिल्लो समय भने अक्सिजन अभाव टरेको छ । यहाँको उत्पादन बाहिरी जिल्लासमेत पठाउन थालिएको छ ।

अक्सिजन चाहिने संक्रमित घट्नु, भारतबाट आयात गरिएको लिक्विड ट्यांकबाट उत्पादन सुरु गरिनु, अक्सिजन उत्पादन गर्ने प्लान्टमा सुरक्षा निकायको व्यवस्थापनजस्ता कारण अक्सिजन आपूर्ति सहज भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

यसअघि स्थानीय उत्पादनले नधानेपछि बाहिरी जिल्लाबाट एअर लिफ्टमार्फत् पनि रुपन्देहीमा अक्सिजन आपूर्ति गरिएको थियो । जिल्लामा तीन उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । तीन उद्योगको दैनिक क्षमता ११ सय अक्सिजन सिलिण्डर भर्ने छ । भारतबाट लिक्विड ल्याएपछि क्षमता बढेर १४ सय पुगेको छ । पहिला दैनिक १७ सय सिलिण्डर खपत हुनेमा अहिले ८ सय मात्रै छ । यहाँका कोरोना अस्पताल र १६ वटै स्थानीय तहले बनाएका २४६ बेडको आइसोलेसन सेन्टरमा पर्याप्त अक्सिजन छ । जिल्लामा उत्पादित अक्सिजन अन्य ८ जिल्लामा पनि उपलब्ध गराइएको छ । अक्सिजन अभावमा संक्रमितको उपचार नगर्ने अस्पतालले पनि विरामी भर्ना गर्न सुरु गरेका छन् ।

अहिले अस्पतालहरुमा अक्सिजन सहज आपूर्ति भए पनि तेस्रो र चौथो लहरको संक्रमण आउन सक्ने विज्ञले चेतावनी दिएका छन् । यसले गर्दा यसअघिकै जस्तै अक्सिजन र बेड अभावमा संक्रमितको ज्यान जाने जोखिम नदोहोरिएला भन्न सकिँदैन । त्यसैले अक्सिजन पर्याप्त भयो भनेर व्यवस्थापकीय काम थाँती राख्न भने हुँदैन ।

रूपन्देहीमा कोभिड संक्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थापन सहज हुन थालिसकेको छ । यहाँका अस्पतालमा अहिले अक्सिजनको हाहाकार छैन । भारतबाट आयात गरिएको लिक्विडबाट उत्पादन थालिएपछि, अक्सिजन प्लान्टमा सुरक्षा निकायको व्यवस्थापन र संक्रमितको कमीसँगै यसको व्यवस्थापन सहज हुन थालेको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा अक्सिजनको कमी नरहेको बताए । रूपन्देहीका स्थानीय तहले २ सय ४६ बेडका आइसोलेसन सेन्टर तयार पारेका छन् । स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले दोस्रो चरणको संक्रमणका क्रममा रूपन्देहीमा कुनैबेला एकैदिन अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको चाप अस्पतालमा ४ सयभन्दा धेरै पुगेकोमा अहिले त्यो घटेर गएको बताए ।

जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुटवलको प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, युनिभर्सल शिक्षण अस्पताल, मणिग्रामस्थित क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजबाहेक बुटवलको आम्दा अस्पताल र १६ वटा स्थानीय तहले तयार पारेका आइसोलेसन सेन्टरमा पनि अक्सिजन उपलब्ध गराउन थालेको छ ।

जिल्लामा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमा गरी तीनवटा प्लान्टसँग दैनिक १ हजार १ सय ५० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता छ । तर विद्युत् आपूर्तिमा अवरोध र प्लान्ट बिग्रिनाले क्षमताअनुरूपको उत्पादन थिएन । शंकर अक्सिजन ग्यासले भारतबाट लिक्विड अक्सिजनको ट्यांक आयात गर्न थालेपछि उत्पादन बढ्न थालेको छ । उक्त प्लान्टले पछिल्लो एक सातामा मात्रै तीनवटा ट्यांकमा ३ हजार ५ सय सिलिन्डर अक्सिजन आयात गरेको छ । जसमध्ये सबै प्रयोग भएको छैन । अहिले पनि १ हजार ३ सय सिलिन्डर भर्ने अक्सिजन मौज्दात छ । तर खाली सिलिन्डरको अभाव छ ।

रुपन्देहीमा घट्दो संक्रमण

रुपन्देहीमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ७६ मात्र पुगेको छ । सात हजार ५ सय सकृय संक्रमित पुगेको जिल्लामा अहिले संक्रमणमुक्त हुनेको संख्या बढेको छ भने संक्रमितको संख्या घटेको छ । जिल्लामा हालसम्म २७ हजार ४ सय ९१ जना संक्रमित भएकोमा २५ हजार ९ सय ५८ जनाले संक्रमण जितेका छन् भने ४५७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर