सस्तोमा सामान किन्न साल्ट ट्रेडिङ जानुस्, साथमा नागरिकता लानुस् ! – Nepal Press

सस्तोमा सामान किन्न साल्ट ट्रेडिङ जानुस्, साथमा नागरिकता लानुस् !

काठमाडौं । सरकारले बजेट भाषणमा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दैनिक उपभोग्य बस्तु २० प्रतिशत छुटमा बिक्री गर्ने घोषणा गर्‍याे । उक्त घोषणा कार्यान्वयन गर्दै साल्ट ट्रेडिङले सहुलियत मूल्यमा खाद्यवस्तु विक्री गरिरहेको छ ।

बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी ९० देखि १ सय रुपैयाँसम्म पर्छ । साल्ट्र ट्रेडिङले भने प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै, बजारमा २५० मा बिक्री भइरहेको भटमासको तेल साल्ट ट्रेडिङमा १ सय ८८ रुपैयाँमा किन्न सकिन्छ । पिठो प्रतिकेजी ४४, नून प्रतिप्याकेट १६ र ग्यास प्रतिसिलिण्डर १ हजार १ सय २० मा साल्ट ट्रेडिङले बिक्री गरेको गरिरहेको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक प्रबन्धक निर्देशक प्रज्जलमान प्रधानले पहिले पनि साल्ट ट्रेडिङले निजी क्षेत्रले भन्दा सस्तोमा नै सामान बिक्री गरेको र अहिले सरकारले भनेअनुसार २० प्रतिशत छुट दिएको बताए । केही सामान बजारमा भन्दा झन्डै ५० प्रतिशत नै सस्तो रहेको उनको भनाइ छ ।

प्रधानले भने, ‘सरकारले भने अनुसार २० प्रतिशत छुटमा हामीले सामान बिक्री गरिरहेका छौं । प्रत्येक परिवारले चिनी २ केजी, नुन २ केजी, पिठो २ केजी, ग्यास १ सिलिण्डर र तेल १ लिटर सहुलियत मूल्यमा किन्न सक्छन् ।’

२० प्रतिशत छुट नदिँदा पनि साल्ट ट्रेडिङमा बाहिरभन्दा सस्तो नै थियो । अहिले भारी छुट पाएपछि साल्ट ट्रेडिङमा उपभोक्ताको चाप बढेको छ । दैनिक ३ देखि ४ सयले उपभोक्ताले त्यहाँ धाएर सामान किन्ने गरेका छन् । काठमाडौं उपत्यकाको कालीमाटी, सतुङ्गल, पाटन, भक्तपुर र कोटेश्वरबाट साल्ट्र ट्रेडिङका सामान विक्री हुन्छ । मोबाइल भ्यानबाट पनि टोल-टोलमा सामान बिक्री भइरहेको प्रधानले बताए ।

जेठ २१, २२, २३ र २४ गतेसम्म विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सामान बेच्दै आएको साल्ट ट्रेडिङले अहिले विहान ७ देखि ९ बजेसम्म विक्री गर्छ ।

साल्ट ट्रेडिङमा ५ जनाको परिवारले २ केजी चिनी, २ केजी नुन, १ लिटर तेल, २ केजी पिठो र एक सिलिन्डर ग्यास किन्न सक्छन् । छुटका लागि साल्ट ट्रेडिङले नागरिकता वा भोटर कार्डको फोटोकपी माग्ने गरेको छ । प्रधानले २० प्रतिशत छुटमा सामान किन्नको लागि सरकारी मान्यताप्राप्त कागज चाहिनेले बताए ।

खाद्य व्यवस्था कम्पनीमा पनि छुट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि सरकारले भने अनुसार २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । लिमिटेडले कर्णालीको सिमी र चामल २० प्रतिशत छुट दिएर बिक्री गरेको हो ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले कर्णालीको सिमी र बास्मती र मार्सी बाहेकको चामलमा २० प्रतिशत छुट दिएको बताइन् ।

न्यौपानेले भनिन्, ‘व्यापारमा छुट दिएपछि बिक्री वृद्धि भएको छ । २० र ३० केजीको चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिएर बिक्री भइरहेको छ । सिमी पहिले प्रतिकेजी १ सय २० रुपैयाँ थियो । अहिले प्रतिकेजी ९५ मा बिक्री भइरहेको छ ।’

जेठ २१ गते २ हजार ३ सय ३७ केजी चामल र सिमी बिक्री गर्दा उपभोक्ताले २९ हजार ५ सय ७३ रुपैयाँ छुट पाए । २३ गते ३ हजार ८ सय २३ केजी सिमी र चामल बिक्री गर्दा ४८ हजार २०७ रुपैयाँ छुट पाएका छन् । २४ गते ७ हजार ५ सय ३२ केजी चामल र सिमी बिक्री गर्दा उपभोक्ताले ९५ हजार २६८ रुपैयाँ छुट पाएका छन् । २५ गते १० हजार ६३ केजी चामल र सिमी बिक्री गर्दा १ लाख २६ हजार ३७७ रुपैयाँ छुट पाएका छन् ।

कम्पनीले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र छुट दिएर सामान बिक्री गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर