फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न – Nepal Press

फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न

काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने प्रतीक्षामा रहेकालाई चिकित्सकले ढिला भएपनि नडराउन सुझाएका छन् ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले केही समय ढिला भएपनि नआत्तिन सुझाएका छन् । उक्त खोप लगाएको महिनौं बित्दा पनि समयमा दोस्रो डोज आउने सम्भावना नभएकाले चिकित्सकले धैर्य राख्न आग्रह गरेका हुन् ।

डा. राजभण्डारीले भने, ‘पहिलो डोज लगाइसकेपछि दोस्रो डोज १२ देखि १६ हप्ताको बिचमा लगाउँदा पनि एन्टिबडी प्रशस्त मात्रामा रहने हुँदा खासै असर गर्दैन । हामीले हाम्रो शरीरमा कति समयसम्म एन्टिबडी रहन्छ भनेर हेरेका छैनौं, अन्तर्राष्ट्रियस्तरमा हेर्दा १६ हप्तासम्म एन्टिबडी स्थिर रहिरहन्छ त्यसकारण १६ हप्ताभित्र दिँदा खासै फरक पर्दैन ।’

सोही कम्पनीको र उपलब्ध नहुने भए अस्ट्राजेनेका तथा अक्सफोर्ड कम्पनीको खोपको पनि फर्मुला मिल्ने भएकाले सोही कम्पनीले विकास गरेका अन्य खोपको लागि पहल गर्न उनले सुझाए । तर, फरक-फरक कम्पनीको फर्मुला भएका खोपहरु भने लगाउन नहुने उनले बताए ।

उनका अनुसार कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका व्यक्तिले कोरोना लाग्दैन भनेर ढुक्कले बस्न भने हुँदैन । तर उनीहरुलाई जोखिम भने कम हुन्छ । पहिलो डोज खोप लगाउँदाको प्रभाव ३० देखि ३५ प्रतिशत हुन्छ भने दास्रो डोज खोप लगाउँदा यसको प्रभावकारिता ७० देखि ८५ प्रतिशतसम्म रहन्छ ।

कोभिसिल्ड खोपको पहिलो डोज लगाएका व्यक्तिले भने चिनियाँ खोप (भेरोसेल) लगाउन नहुने उनको भनाई छ । यो खोपले शरीरभित्र प्रवेश गर्ने भाइरसलाई मार्ने नभई एन्टिबडीको निर्माण मात्र गर्ने हँदा पहिलो डोज लगाएपछि एन्टिबडी कायम रहँदै गर्दा अर्को खोप लगाउँदा प्रभावकारी हुन्छ ।

त्यस्तै टेकु अस्पतालका डा. बाबुराम मरासिनी भन्छन्, ‘भारतबाट ल्याइएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरु दोस्रो डोज खोप उपलब्ध नहुँदा अन्यौलमा परेका छन् ।

भारतमा कोरोना धेरै फैलिएकाले नेपालले खोप पाउन सकेको छैन । भारतबाट खोप प्राप्त हुन सक्दैन भने तत्काल १३ लाख नागरिकलाई दास्रो डोज खोपको लागि अन्य देशबाट आयात गर्ने प्रक्रिया अगाडी बढाउनुपर्छ ।

मरासिनीले भने, ‘पहिलो र दोस्रो डोज खोपको अन्तर धेरै भयो भने विकसित भएको एन्टीबडी समाप्त हुन्छ । दोस्रो डोज खोप लगाएपछि मात्र पर्याप्त मात्रामा रोगसँग लड्नको लागि शक्ति जम्मा भएको हुन्छ । दोस्रो डोजको समय धेरै भयो भने एन्टिबडी रगतमा हराएर जाने सम्भावना धेरै हुन्छ । धेरै समय ग्याप हुँदा पहिलो डोज खोपको प्रभावकारी हुन सक्दैन ।’

‘कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुको अहिलेसम्म दोस्रो खोपको सुनिश्चितता भने छैन । मन्त्रालयका अनुसार १३ लाख नागरिक अझैपनि कोभिसिल्ड खोपको दोस्रो डोज पर्खाइमा छन्’ मरासिनीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर