लिम्पियाधुरा समेटिएको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन – Nepal Press

लिम्पियाधुरा समेटिएको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनेल सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौं ।’ उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।

अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढार्यने जानकारी दिए ।

उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौं, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उनकाे भनाइ थियो ।

अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाइ गरेको पाइएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखि प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचिकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिए । बैठकले विभिन्न विषयका कक्षा ६-८को पाठयक्रम स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर