सदनबाट बजेट नल्याउने कर्णाली सरकारको नियत : एमाले नेता कँडेल – Nepal Press

सदनबाट बजेट नल्याउने कर्णाली सरकारको नियत : एमाले नेता कँडेल

सुर्खेत । नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको बताएका छन् ।

‘यो सरकारको सदनबाट बजेट ल्याउने नियत छैन । बाटो छँदैछ भन्दै मनोविज्ञान सम्प्रेषण गरिरहेका छन्, ’ उनले भने, ‘राजनीतिक प्रतिशोधका रूपमा उक्त कुरा उठाएका होइनौं । पात्रका बारेमा कुरा उठाएका होइनौं । प्रवृत्तिका बारेमा उठाएका हौं ।’

सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरेपनि त्यसबाट सरकार भागेको उनको आरोप छ । ‘तीन वैठकमा बस्दा वैठक जस्तो हुनुपर्छ । सहमति भएको आधारमा निर्णय गरौं न भनेर हामीले भनेका थियौं । भविष्यमा पनि यो आधारमा समस्या आएको खण्डमा सदन चलाउन सजिलो हुन्छ । मैले त्यस्तो भनेका कारण सरकार पछि हट्यो ।’

नेता कँडेलले भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै उनलाई जेठ तीस गतेसम्म सदनमा आउन नदिने लिखित सहमति सरकारले गर्न नचाहेको बताए । उनले भने, ‘कानूनी रुपमा सदन बोलाउनै पर्ने बाध्यता भएका कारण मात्रै सदन आव्हान भएको हो । बाहिर भाग्न नसक्ने भएर सदन सरकारले बोलाएको हो ।’

‘योजना छान्नका लागि सबै होटलहरु क्रियाशील छन् । मन्त्रालय त देखाउने मात्रै हुन । सत्ता पक्षका सबै नेताहरू सुर्खेतका होटलहरुमा योजना बनाइरहेका छन् । हामी जनप्रतिनिधिहरु हेरेका हेर्‍यै भएका छौं ’, कँडेलको टिप्पणी थियो ।

यसैबीच सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर