कथा- पश्चाताप

रातभर परेको मुसलधारे झरीपछि आकाश खुलेको थियो । क्षितीजबाट सुनौला उषाकिरणसँगै मन्द चिसो हावाले अनुहार स्पर्श गरेसँगै अध्याय स्वप्नसंसारबाट बाहिरियो । र मन्द, मधुर मुस्कानसाथ प्रभातकालीन आनन्द लिन थाल्यो ।

छतमा बसेर तातो चियासँगै चुरोटको आनन्द लिइरहेको छ । घरी चियाको चुस्की लिँदै त घरी मुखमा अटाइनअटाइ चुरोटको धुँवा तानेर आकाशमा फाल्छ । यतिकैमा मोबाइलमा कल आउँछ, मिल्ने साथी दिवसकी बहिनीको रहेछ । सोध्यो, ‘एकाबिहानै फोन गर्यौं, घरतिर सबैलाई ठीकै त छ नि !’

दिवसकी बहिनी अरु केही नबोली एकोहोरो रुन थाली । उसको मनमा चिसो पस्यो । अलिपछि बहिनीले भनिन्, ‘दाइ एकदमै सिकिस्त हुनुहुन्छ…।’

त्यसपछि अध्याय हतारहतार दिवसको घरतिर लाग्यो । घर बाहिरै चित्कार सुनियो । गेट खोल्नेबित्तिकै उसले अनुमान गरेभन्दा दर्दनाक दृश्य देख्यो । उसको साथी एक मुठी स्वासको लागि छट्पटाइरहेको रहेछ । गेटभित्र छिर्नेबित्तिकै उसलाई प्राङ्गणमा राकिराखेको एम्बुलेन्सका चालकले भने, ‘ए भाइ, मास्क खै ?’ त्यसपछि अध्याय झस्कियो । यसले साथी गम्भीर विरामी परेको घटनाले ऊ कति बेचैन भएछ भन्ने पुष्टि हुन्छ ।

आफ्नो पाइन्टको खल्तीमा हात हाल्यो । धन्न हिजो किनेको एउटा मास्क त्यही रहेछ । त्यो निकाल्दै उसले एक नजर दिवसतिर लगायो ।

दुईजना पिपिइ लगाएका मान्छेहरु दिवसलाई समातेर एम्बुलेन्समा राख्ने प्रयास गर्दै थिए । तर ऊ एक पाइला पनि सार्न सक्ने अवस्थामा थिएन ।

स्वास फेर्नका लागिदिवस प्रत्येक पल आफूसँग नै लडाइँ लडिरहेको थियो । उसको मुटुको चाल बढेर बाहिरबाटै देखिने, महसुस हुने हालमा पुगेको थियो । आफ्नो छोराको त्यो अवस्था देखेर दिवसकी आमा मुर्छित हुनुभएको थियो । बहिनी रुँदै ‘आमा–आमा’ भन्दै कुनैबेला आमालाई सुम्सुमाउँदैै त कुनैबेला दाइ भन्दै चिच्याएर रुँदै थिइ ।

आफ्नो विवसता अनि लाचारीतामा दिवसको बुवा आफ्नो टाउकोमा पिटी–पिटी बलिन्द्र आँशुका धारा झार्दै थिए । ओहो, यो सबै देखेर अध्याय भवहीन हुन पुग्यो । अध्याय कुद्दै दिवस छेउमा जान लाग्यो । पिपिइ लगाएका एक व्यक्तिले भने, ‘भाइ, यो मान्छेलाई कोरोना लागे जस्तो छ, परै बस्नुस् ।’

आफ्नो सद्भावपूर्ण बढाएको सहयोगी हात अनि अघि सरेका पाइलालाई पछाडि सार्नुबाहेक उसँग केही विकल्प रहेन । आफूलाई एकदम निरीह र कमजोर भएको महसुस गर्दै, ऊ मुख छोपेर रुन थाल्यो । मनै त हो, कहाँ समालिन्छ र !

ऊ भक्कानिएर रोयो, साहै्र भावुक भएर । त्यत्तिकैमा एम्बुलेन्सको ढोका खुलेको आवाजले उसको ध्यान तान्यो । बल्लतल्ल उठाएर दिवसलाई एम्बुलेन्समा राखियो र ढोका लगाइयो अनि दिवसको बुवा आफ्नो बाइकमा एम्बुलेन्सको पछिपछि लागे । छट्पटाइरहेको दिवस सबैको आँखाबाट एकैछिनमा टाढा गयो । अब एम्बुलेन्सको पछिपछि जान कडा लकडाउनको समय, नगइ त्यहीं बस्न फिटक्कै नमानेको मन ।

पीडादायक रोदनलाई सम्हाल्दै अध्यायले जसो–तसो हिम्मत बटुलेर दिवसको बहिनीलाई दिवसको हालत कसरी त्यस्तो भयो ? भनेर सोध्यो ।

जवाफमा उसले थाहा पायो कि, दुई दिन अघिदेखि सामान्य रुघाखोकी लागेको थियो । हिजो साँझदेखि बेस्सरी ज्वरो आयो । बिहान उसकी आमा छोराको हालचाल सोध्न जाँदा उसको त्यस्तो अवस्था देखेर मुर्छित पर्नुभएको रहेछ । अनि बहिनीले थाहा पाएर बुवा र अस्पतालमा फोन गरिछिन् र एम्बुलेन्स आएको रहेछ । बल्लतल्ल आधा घण्टामा दिवसकी आमाको होस आयो, आफ्नो छोरालाई हेर्न उहाँका आँखा आतुर देखिन्थे ।

उहाँले हतार–हतार सोध्नुभयो, ‘दिवसलाई कस्तो छ ? कहाँ लग्यो मेरो बाबुलाई ?’ त्यसभन्दा धेरै उहाँले केही बोल्न सक्नुभएन ।

बहिनीले बुबा दाइलाई लिएर अस्पताल जानु भएको छ, प्राथमिक उपचार त सुरु भयो रे तर दाइलाई कोरोना एन्टिजेन टेष्टमा पोजिटिभ देखायो रे । अब पिसिआर रिपोर्ट आएपछि राम्रो उपचार सुरु हुन्छ रे भनिन् । त्यो खबरले अत्तालिएको आमाको मन झन् अत्तालियो । अध्याय त्यति बेलासम्म त्यही नै थियो ।

दिवसको रिपोर्ट नआउँदासम्म अध्यायले पनि त्यही बस्ने निधो गर्यो । उसलाई एकोहोरो दिवस र दिवससँग विताएका हर सम्झनाले सताइरह्यो ।
अपराह्न चार बजेतिर अस्पतालबाट दिवसको बुवाको फोन आयो र सबैले जे रिपोर्ट नआओस्् भनेर प्रार्थना गरेका थिए, आखिर त्यही आयो ।

दिवसलाई कोरोना संक्रमण भएको पुष्टि भएछ । फोक्सोसमेत धेरै खराब भएछ ।

दिवसको हालत बिहानको भन्दा नाजुक रहेको र फोक्सोको एक्स–रे हुँदै गरेको खबर पनि दिए बुवाले । साथै पीडामा रहेको आफ्नो परिवारजनको ख्याल राख्न अध्यायलाई अनुरोध गरे । उसले जतिहिम्मत जुटाए पनि सत्य कुरा दिवसकी आमा र बहिनीलाई भन्न सकेन ।

दिवसको हालत निकै सुधार भएको छ रे तर कोरोनाको रिपोर्ट चाहिँ पोजेटिभ नै आएछ भनी आधा सत्य बोल्यो अध्यायले । अत्याससंगै केही आशाका किरण देखिएको आमाको त्यो आँखामा नजर मिलाउन सकेन उसले ।

एकछिनपछि फेरि दिवसका बुवाको फोन आयो । भने, ‘डाक्टरले त दिवसले चुरोट तानेर धेरै समस्या भएको बताए । उसले चुरोट नपिउने कुरा फोनमा भनिदेऊ न !’ अध्याय अफ्ठेरोमा पर्यो । किनकि, दिवसलाई चुरोट पिउन उसले नै सिकाएको थियो ।

दिवसलाई झन् गाह्रो भयो । चुरोट फोक्सो कमजोर भइसकेकाले स्वास फेर्न झन् गाह्रो भयो । अक्सिजन लेभल पनि ह्वात्तै घट्यो । डाक्टरले बँचाउन नसक्ने बताए । दिवसका बुवाले रुँदै बताए । पीडा भुलाउन चुरोट पिउने अध्यायलाई चुरोटकै कारण औधी पीडाबोध भयो । दिवसलाई चुरोट पिउन सिकाएको ग्लानीले उसलाई नराम्ररी पोल्यो ।

एकछिनपछि खबर आयो, दिवसको मृत्यु भयो । उक्त खबरले अध्याय विक्षिप्त भयो । आफैंलाई धिक्कार्यो । सोच्यो, ‘मैले चुरोट पिउन नसिकाएको भए दिवसले यतिछिटै मृत्युवरण गर्दैनथ्यो होला !’

अलिपछि दिवसका बुवाको पनि हृदयघातका कारण मृत्यु भयो । उसलाई चुरोट पिउने आफ्नो लत र साथीलाई जबरजस्ती चुरोट खुवाएप्रतिको ग्लानीले झन् कमजोर बनायो । र, धिक्कारी रहेछ आफूलाई !

प्रतिक्रिया

2 thoughts on “कथा- पश्चाताप

Leave a Reply

Your email address will not be published. Required fields are marked *