टर्की र कतारको नियमित उडानमै चार्टर्डसरह भाडा – Nepal Press

टर्की र कतारको नियमित उडानमै चार्टर्डसरह भाडा

काठमाडौं । सरकारले निषेधाज्ञाकै बीच टर्की र कतारका लागि नियमित उडान खुलाएको छ । तर, ती गन्तव्यमा जाने विमान कम्पनीहरुले यात्रुसँग चर्को भाडा असुलिरहेका छन् ।

अहिले नेपालबाट टर्की र कतार जानका लागि ८० हजार रुपैयाँसम्म यात्रुले तिर्नुपरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।

‘सरकारले सहयोग नगरेको भनौं भने कतार र टर्कीका लागि नियमित उडान खुला गर्‍यो । तर, यो वैदेशिक रोजगारमा जाने नेपाली कामदारका लागि भने ५ प्रतिशत सहयोगमात्रै जस्तो भएको छ,’ उनले भने ।

हिजोसम्म हवाई उडान नियमित हुँदा कतार र साउदीको भाडा २६ हजारदेखि ४० हजारको हाराहारीमा थियो । तर, अहिले कोरोना माहामारीको बहाना बनाएका कतार एयरवेज, नेपाल वायुसेवा निगम र टर्किस एयरलाइन्सलाई ८० हजार रुपैयाँ तिर्छु भन्दा पनि टिकटका लागि महिनौं कुर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

‘सरकारले नियमित उडान गर्‍यो भन्ने मात्र भएको छ, भाडा अहिले पनि चाटर्डकै रहेको छ,’ उनले भने ।

संघका अनुसार अहिले २५ देखि ३० हजार नेपाली साउदी जानलाई हातमा भिसा बोकेर बसेका छन् । यसैगरी, ३० देखि ३५ हजार नेपाली कतारका लागि, १५ हजार साइप्रसका लागि, ओमन र बहराइनका लागि १५ सय जना र रोमानियाका लागि ५ देखि ७ सयको हाराहारीमा युवाहरू प्रतीक्षारत छन् ।

यत्रो संख्यामा भिषा हातमा लिएर बसेको भए पनि सरकारले हप्ताको एक दिन मात्रै टर्की र कतारका लागि नियमित उडान खोल्दा यात्रु समस्यामा परेको संघको भनाइ छ ।

‘हामीले यस्तो विषम परिस्थितिमा दैनिक उडान गर्नुस भन्दैनौ तर, हप्तामा २ कम्पनीका दुई/दुई उडान भइदिएको भए पनि सबै नेपाली सस्तो मूल्यमा सहजै र चाँडै गन्तव्यमा जान सक्ने थिए,’ श्रेष्ठले भने ।

सरकारले दुई देशका लागि हप्ताको दुईवटा मात्र उडान खुलाएकाले असाध्यै महंगो भाडा तिर्न नेपाली दाजुभाइ बाध्य भएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेसन नेपालका महासचिव भुवनबहादुर पाण्डेले बताए ।

सीमित सिटका लागि मात्र टिकट पाउन पनि हप्तौ कुर्नुपर्ने उनको भनाइ छ । सस्तो मूल्यका टिकट एउटै नभएको र हवाई कम्पनीले मंहगो मूल्यका मात्र टिकट बेच्दा यात्रु मारमा परेको उनले बताए ।

पाण्डेको ट्राभल एजेन्सीले लकडाउनअघि नियमित उडान हुँदा कतारका लागि बढीमा ३० हजार र साउदी अरबका लागि ३० देखि ४० हजार रुपैयाँमा टिकट खरिद गरिरहेका थिए । तर, अहिले दोब्बर मूल्य तिर्न उनीहरु बाध्य भएका छन् । नियमित उडानमा पनि कोरोना महामारीको असहज परिस्थितिलाई देखाएर दोब्बर भाडा लिंदा नियामक निकाय नेपाल उड्डयन प्राधिकरण मुखदर्शकमात्र बनेको उनको आरोप छ ।

‘प्राधिकरणले नियमन गरेर निश्चित भाडादर तोकिदिने हो भने समस्या आउने थिएन,’ उनी भन्छन्, ‘साथै अहिले हवाई कम्पनी र केही एजेण्टको मिलेमतोमा पनि टिकट बिक्रीमा सिण्डिकेट भइरहेको छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‍बाट टर्की र कतारका लागि उडान खुलाउने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुरूप सरकारले यी दुई देशका लागि हप्तामा एक दिन नियमित उडान खुलाएको हो । यो पर्याप्त नभएको र यात्रुले टिकट खरिद गर्दा वायुसेवा कम्पनीले अत्यन्त महंगो भाडा असुलेको विषयमा पर्यटन मन्त्रालय अनविज्ञ छैन ।

मन्त्रालयका सह-प्रवक्ता प्रेम सुवेदीले मन्त्रालयमा धेरै गुनासो आइरहेको बताए । यस सम्वन्धमा मन्त्रालयले प्राधिकरणलाई ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए ।

‘अहिले अन्य बेलाको भन्दा असहज परिस्थिति हो तर, वायुसेवाले मनलाग्दी भाडा लिन पाउँदैनन्,’ उनले भने, ‘अहिले यात्रुले भनेजसरी प्रतिव्यक्ति ८० हजार भाडा लिनु भनेको चार्टर्ड बराबर नै हो । यो हवाई कम्पनीको ‘म्याक्सिमम’ भाडाभन्दा बढी हुन आउँछ,’ उनले थपे ।

उडान संख्या बढाउने विषयमा पनि सोच्न सकिने सुवेदीले बताए ।

नेपाल वायुसेवा संघले पनि अहिले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, टर्किस र कतार एयरवेजले भाडा महंगो लिएको सत्य भएको बताएको छ ।

संघका प्रवक्ता योगराज कँडेलले भने, ‘अहिले नेपाल एयरले चाहीँ केही मूल्य घटाएको भन्ने छ । अन्य दुई एयरलाइन्सले चाहिँदोभन्दा बढी भाडा लिएका छन् । तर, वायुसेवा सञ्चालक संघमा उनीहरु आवद्ध नभएकाले हामीले केही गर्न सक्ने ठाउँ छैन ।’

यसका लागि पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले नियमन गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले ट्राभल एजेन्सीलाई सिट बुकिङका लागि अनुमति दिइएको छ । उनीहरुले अहिले सिट खाली हुँदा पनि लुकाएर सिट नै देखाउँदैनन् । साथै सस्तो दरको टिकटलाई पनि मंहगोमा नै बेचिरहेका छन् । यो प्रवृत्तिले त एयरलाइन्स क्षेत्र नै बदनाम भयो,’ कँडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *