स्थानीय तहको अनुदान सच्याउने मुख्यमन्त्री राउतको प्रतिवद्धतापछि सदन सुचारू – Nepal Press
प्रदेश-२

स्थानीय तहको अनुदान सच्याउने मुख्यमन्त्री राउतको प्रतिवद्धतापछि सदन सुचारू

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफूहरूले योजना सिफारिस गरे सहमतीविपरीत बजेट पठाएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । हिजोदेखि सदन चल्न नसकेपछि मुख्यमन्त्री राउत सदनमै उपस्थित भएर योजना सच्याउने प्रतिवद्धता जनाएका हुन् ।

‘सबै माननीयजीको आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने दायित्व हुन्छ, ‘ मुख्यमन्त्री राउतले भने, ‘त्यसैले माननीय जीहरूसँग योजना मागेका थियौं । उहाँहरुले दिएको योजना अनुसार नै धेरै ठाउँमा गएको छ । केही ठाउँमा त्रुटी भएको छ । त्यो सच्याइन्छ ।’

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई मुख्यमन्त्री राउतले भने, ‘गडबड भएका माननीय जीको योजना सच्याउन सकिन्छ भने गरौं । छेडछाड गर्नु हुँदैन । सबै साँसदको आफ्नो क्षेत्र महत्वपूर्ण हुन्छ ।’

मुख्यमन्त्री राउतले विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भिरतापुर्वक पढेर पारित गर्न साँसदहरूसँग आग्रह गरेका छन् । अब प्रि-बजेटको विषयमा छलफल गर्न मुख्यमन्त्री राउतको अनुरोध छ ।

मुख्यमन्त्रीको आश्वासनपछि प्रतिपक्षी सांसदहरूले प्रदेशसभा बैठक चल्न दिएका छन् । प्रि-बजेटको विषयमा अहिले छलफल चलिरहेको छ । भोलि नीति तथा कार्यक्रम र पर्सी बजेट ल्याउने प्रदेश २ सरकारको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर