खेलाडीलाई कोभिड १९ खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्रीसँग माग – Nepal Press

खेलाडीलाई कोभिड १९ खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्रीसँग माग

काठमाडौं । नेपाल खेलकुद महासंघले खेलाडीलगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा साथै प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पीसीआर परिक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड-१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड-१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका हुन् ।

‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ । आएको खोपको सीमितताको कारणले उमेर समूहलाई छुट्याएर गरिरहेका छौँ । सम्भवत्ः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईंहरूले पाउँनुहुनेछ । पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन,’ मन्त्री तामाङले भने, ‘तर अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ । कोभिड सँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर