चुरे मास्न लाग्यो भनेर गलत प्रचार गरियो : अर्थमन्त्री – Nepal Press

चुरे मास्न लाग्यो भनेर गलत प्रचार गरियो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चुरेबाट एक डोको माटो र ढुंगा नबेच्ने स्पष्ट पारेका छन् ।

आज वातावरण पत्रकार समूहले गरेको भर्चुअल मिटिङमा सो कुरा बताएका हुन् । सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख भएकोमा टिप्पणी बढेकोप्रति अर्थमन्त्री पौडेलले सो बुँदामा कहिँकतै चुरे उल्लेख नभएको प्रष्ट पारे ।

अर्थमन्त्रीले देशको सार्वभौम र वातावरणजस्तो संवेदनशील विषयमा जथाभावी नबोल्न पनि आग्रह गरेका छन् । ‘चुरेमा रहेको सिद्धबाबा पहाडलाई समतल बनाएर गिटी बालुवा उत्खनन् गर्ने कुरा जसरी बाहिर गरिएको छ त्यो सरासर गलत हो । त्यसको लागि पछि नलाग्न आग्रह गर्दछु’, उनले भने ।

चुरेको काखमा रहेको क्षेत्रबाट आफू जनप्रतिनिधि भएर आएकाले पनि चुरे संरक्षणमा कुनै कसर बाँकी नराख्ने पौडेलको प्रतिवद्धता थियो ।

प्राकृतिक सम्पदाको दोहन गर्ने कामको सरकारले संरक्षण नगर्ने भन्दै अहिले चुरे मास्न लाग्यो भनेर गलत प्रचार भइरहेको उल्लेख गरे । खानी उत्खनन् गर्दा व्यवस्थित तरिकाले गर्नुपर्ने विज्ञको सुझावलाई मनन गर्ने र जति सक्दो व्यवस्थापकीय क्षमतालाई उन्नत गर्दै अघि बढ्ने उन अर्थमन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा भूगर्भविद् मेगराज धितालले भौगोलिक बनावटलाई ख्याल गरेर वैज्ञानिक ढंगले खानी उत्खनन् गर्न कुनै समस्या नहुने बताए । उनले अहिले नेपालमा जथाभावी रूपमा कुनै वैज्ञानिक ढंगबिना नै उत्खनन् गरिरहेकाले समस्या निम्तिएको उनको भनाइ थियो ।

विकसित देशमा पनि खानीजन्य पदार्थ उत्खनन गरी अन्य मुलुकमा बिक्री हुने गरेको उदाहरण दिँदै धितालले यसलाई व्यवस्थित गर्न जोड दिए ।

चुरे विकास समितिका अध्यक्ष डा. किरण पौडेलले चुरे संरक्षणमा चुनौती थपिएको बताउँदै सरकारले अहिले ल्याएको कार्यक्रममा चुरेबाट नै बालुवागिटी निकास गर्ने भनेर नलेखिएको स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *