दुई न्यायाधीशले संवैधानिक इजलास नछाड्ने, अब उप्रान्त इजलास गठनबारे कसैको कुरा नसुन्ने – Nepal Press

दुई न्यायाधीशले संवैधानिक इजलास नछाड्ने, अब उप्रान्त इजलास गठनबारे कसैको कुरा नसुन्ने

काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरद्धको मुद्दामा सुनुवाइ शुरू भएको छ ।

दुई न्यायाधीशले इजलास छाड्नुपर्ने भनी यसअघि सरकार पक्षका कानून व्यवसायीले सुझाव दिएपछि विवाद भएको थियो । तर, दुवै न्यायाधीशले आज कुनै राय दिएनन् बरु प्रधानन्यायाधीशले सुनुवाइ अघि बढाउने आदेश दिएका छन् ।

इजलासको विवादबारे न्यायाधीश ईश्वर खतिवडाले संविधानतः प्रधानन्यायाधीश बाहेक इजलास नबन्ने र बाँकी चारजना न्यायाधीश एउटै डुंगामा रहेको भन्दै परिस्थितिवस इजलासमा आएका कसैले पनि छाड्न नसक्ने बताए ।

बेञ्च गठनको विषयमा अब उप्रान्त केही कुरा नसुन्ने र जे भन्नु पर्छ फैसलामा भन्ने उनले बताए ।

खतिवडाले भने, ‘केही प्रश्नहरुको उत्तर शब्दबाट दिनुपर्छ भन्ने हुँदैन, मौनताबाटै उत्तर दिन सकिन्छ । बेन्च गठनको विषयमा अब उप्रान्त केही सुन्दैनौँ । जे भन्नुपर्छ फैसलामै भन्छौँ । इजलासबारे अब केही सुन्दैनौँ, न्यायालयमाथि अब धेरै प्रहार सहँदैनौँ ।’

रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर