कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन चार मन्त्रालय फुटाउने तयारी – Nepal Press

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन चार मन्त्रालय फुटाउने तयारी

जनकपुरधाम । प्रदेश–२ सरकारले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लाई ल्याउन चार मन्त्रालय फुटाउने तयारी थालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने निष्कर्षमा पुगेको सत्तारुढ जसपा उपेन्द्र यादव पक्षका एक मन्त्रीले बताए । उनका अनुसार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाउने कुरा भइररहेको छ ।

‘अहिले तत्काल ७ मन्त्रालयलाई १० बनाउने कुरा भएको छ’, सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘कांग्रेस र माओवादीलाई कति मन्त्रालय दिने कुराको टुङ्गो लागेको छैन । आजको छलफलबाट टुङ्गो लाग्ने सम्भावना छ ।’

कांग्रेसले तीन मन्त्रालय र माओवादीले दुई मन्त्रालय मागेको छ । महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनललाई हटाएपछि भौतिक पूर्वाधार मन्त्रालय र थपिने तीन मन्त्रालय खाली हुन्छ । जबकि कांग्रेस र माओवादीलाई ५ मन्त्रालय दिनुपर्नेछ । यस्तो अवस्थामा जसपा उपेन्द्र यादव पक्षका एक मन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ ।

मन्त्री यादवले सत्ता समीकरणका लागि कसैले राजीनामो दिन सक्ने बताउँछन् । उनी भन्छन्, ‘कुन मन्त्रीले राजीनामा दिने कुरा अहिले नै भन्न सकिन्न । विरामी परेकाले दुई क्याबिनेट बैठकमा जान नपाउँदा पनि धेरै कुरा मलाई थाहा भएन ।’

अहिले नै मन्त्रालयमा दरबन्दी अनुसार कर्मचारी छैननु । विकास निर्माणसहितका विभिन्न कार्य हुन नसक्दा मन्त्रीहरु कर्मचारी अभावको बहाना बनाउँछन् । तर तीन मन्त्रालय फुटाएर १० मन्त्रालय बनाएपछि कसरी कर्मचारी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ ।

मन्त्रालय फुटाउन प्राविधिक कठिनाइ रहेकाले बुधवार बिहान फेरि कार्यदलहरुबीच छलफल हुने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले जानकारी दिए । कर्मचारीको अभाव, औचित्य पुष्टि भइ नसकेको मन्त्रालयहरुलाई अलग्याउँदा आउने समस्यालाई समेत बिचार गर्नुपर्ने उनको भनाई छ ।

आज हुने छलफलमा कांग्रेस र माओवादीसँग कुरा मिल्यो भने आजै सरकारमा सहभागी गराउने तयारी जसपा उपेन्द्र यादव पक्षले गरेको स्रोतले जनाएको छ ।

कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादव र माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साहले सरकारमा नेतृत्व गर्ने बुझिएको छ । माओवादीबाट सिरहाका सांसद दिलिप साह पनि मन्त्री बन्ने चर्चा चलेको छ । कांग्रेसमा दलका नेता यादव बाहेक मन्त्रीको टुङ्गो लाग्न सकेका छैन ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीमा विद्रोह गरी संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष प्रदेश २ सरकारबाट मन्त्री सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव सरकारको सत्तासमीकरण फेर्न आफैं सक्रिय भएका हुन् । उनी कांग्रेस र माओवादीलाई सहभागी गराएर प्रदेश सरकार सुरक्षित गरेर मात्र जनकपुरबाट काठमाडौं फर्किनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *