फ्रान्सले बुल्गेरियालाई हरायो, लिथुवानियामाथि स्पेन हावी – Nepal Press

फ्रान्सले बुल्गेरियालाई हरायो, लिथुवानियामाथि स्पेन हावी

एजेन्सी । युरो च्याम्पियनसिपअघिको अभ्यास खेलहरुमा विश्वविजेता फ्रान्सले बुल्गेरियामाथि ३–० गोलको जित हासिल गर्दा युवा खेलाडीलाई अवसर दिएको स्पेनले लिथुवानियालाई ४–० ले हराएको छ ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजमनले सानदार बाइसाइकल किकमार्फत गोल गरे भने ओलिभर जिरोडले २ गोल गरे ।

यो खेलमा फ्रान्सले केलियन एम्बाप्पे, करिम बेन्जेमा र ग्रिजमनलाई अग्रपंक्तिको जिम्मेबारी दिँदै आफूलाई युरो दावेदारका रुपमा प्रस्तुत गरेको छ ।

ग्रिजमनले पहिलो हाफमा सानदार एक्रोब्याटिक प्रहारमार्फत गोल गरेका थिए । सब्स्टिच्युडका रुपमा आएर जिरोडले खेलको अन्त्यतिर २ गोल गरे ।

युरोमा फ्रान्सले समूह एफबाट जर्मनीसँग पहिलो खेल खेल्दैछ । ग्रुप अफ डेथमा रहेको उसले दोस्रो खेल हंगेरी र तेस्रो खेल साविक विजेता पोर्चुगलसँग खेल्नेछ । अघिल्लो संस्करणको फाइनलमा उसले पोर्चुगलसँगै हारेपछि उपाधि जित्न सकेको थिएन ।

युरोअघिको अन्तिम मैत्रीपूर्ण खेलमा लिथुवानियाविरुद्ध स्पेनले नयाँ प्रयोग गर्दै २१ वर्षमूनिका मात्र खेलाडीलाई अवसर दिएको थियो । आइतबार कप्तान सर्जियो बुस्केटलाईसमेत कोरोना संक्रमण देखिएपछि स्पेनमा यसै पनि युवा खेलाडीको बाहुल्यता छ ।

यति हुँदा पनि स्पेनको निकै नै युवा टोली विपक्षीविरुद्ध पर्याप्त बन्यो । उसले ह्युगो गुलामोन र ब्राहिम डियाजको गोलमार्फत पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा जुहान मिरान्डा र जाभी पुआदोले एक एक गोल थपे । स्पेनले १० खेलाडी डेब्यू गराएको थियो । इवारबाट खेलेका ब्रायन गिलमात्र यसअघि खेलिसकेका खेलाडी थिए ।

र यो स्पेनिस फुटबलको इतिहासमै सबैभन्दा कम औषत उमेरको टोली रह्यो । लिथुवानियाविरुद्ध सुरुआती ११ मा परेका खेलाडीको औषत उमेर २२ वर्ष १ सय २ दिन थियो ।

युरोको समूह ई मा रहेको स्पेनले पहिलो खेल स्वीडेन, दोस्रो खेल पोल्याण्ड र तेस्रो खेलमा स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *