मेदभेदेवलाई हराउँदै सितसिपास फ्रेन्च ओपनको अन्तिम चारमा, फाइनल प्रवेशका लागि भेरेभसँग खेल्ने – Nepal Press

मेदभेदेवलाई हराउँदै सितसिपास फ्रेन्च ओपनको अन्तिम चारमा, फाइनल प्रवेशका लागि भेरेभसँग खेल्ने

एजेन्सी । पाँचौं वरियताका ग्रिक खेलाडी स्टेफानोस सितसिपासले क्लेकोर्टमा आफ्नो विशेष क्षमता पुनः एकपल्ट प्रमाणित गरेका छन् ।

वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा उनले रुसी प्रतिस्पर्धी ड्यानिएल मेदभेदेवलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका छन् ।

सितसिपासले ६–३, ७–६ र ७–५ को सेटमा खेल आफ्नो पक्षमा पारेका हुन् । सितसिपास लगातार तेस्रोपल्ट ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका हुन् । २२ वर्षीय उनले फाइनल प्रवेशका लागि छैटौं वरियताका जर्मन खेलाडी अलेक्जान्दर भेरेभसँग खेल्नेछन् ।

स्पेनका अलेजान्द्रो डेभिटोभिचलाई ३–० को सहज सेटमा पराजित गरी भेरेभ करिअरमा पहिलोपल्ट ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका हुन् ।

सितसिपासजस्तै भेरेभ पनि फ्रेन्च ओपनको उपाधि उचालेर करिअरको पहिलो ग्राण्डस्लाम जित्न चाहन्छन् । ‘सेमिफाइनलमा पुगेको छु भनेर सोच्दा मलाई धेरै खुसी मिलेको छ तर म यसमै सन्तुष्ट छैन,’ २४ वर्षीय भेरेभले भने, ‘मैले राम्रो खेलिरहेको छु र यस्तै लयलाई आगामी खेलमा पनि कायम राख्न चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर