सविता भण्डारी मृत्यु प्रकरणः मुद्दा अदालतमा, बयानवाजी युट्यूवमा – Nepal Press

सविता भण्डारी मृत्यु प्रकरणः मुद्दा अदालतमा, बयानवाजी युट्यूवमा

कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् ।

यति मात्रै होइन, सविताका संवेदनशील अडियो-भिडियोलाई पनि यूट्युवरले छताछुल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लिपसिंक गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन ।

०००

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।

माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्रताडित गर्ने गरिएको बहिनी सजनीको आरोप छ । परिवारले उनलाई जबरजस्ती मानसिक तनावकाे औषधि खुवाउने गरेको पनि उनले बताएकी छन् । तर, श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मानसिक समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औषधि सेवन गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै सविता मानसिक तनावकाे समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’

हत्या कि आत्महत्या ?

घटनापछि मृतकका माइती पक्षले यसलाई सहजरुपमा लिन सकेनन् । सविताको हत्या गरिएको वा मानसिक-यातना दिएर आत्महत्याका लागि वाध्य पारिएको उनीहरुले आशंका गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या ठहर्‍याएको थियो । सविताले आफ्नै कोठामा पासो लगाएर झुण्डिएको प्रहरीले जनाएको छ । मृतकको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ‘ह्याङ्गिङ’ (झुण्डिएको) भनिएको छ ।

जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घटनाको वस्तुस्थितिले हत्या नदेखिएको बताए । तर, आत्महत्याका लागि दुरुत्साहन गरिएको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाइ छ ।

नेपाल प्रेससँग डीएसपी थापाले भने, ‘यो आत्महत्या दुरुत्साहनको घटना हो भन्ने  प्रहरीकाे प्रारम्भिक निष्कर्ष हो । हामीले आफ्नो तर्फबाट सबै प्रमाणसहितको प्रतिवेदन अदालतमा बुझाइसकेका छौं । अन्तिम निर्णय अदालतबाटै हुने हो । हामी आफ्नो तर्फबाट अदालतलाई सबै सहयोग गर्छौं ।’

सविताका माइती पक्षको भनाइमा परिवारबाट उनले लामो समयदेखि विभिन्न खाले यातना भोग्दै आएकी थिइन् । श्रीमानले मदिरा सेवन गरेर  पिट्ने गरेको उनीहरुको आरोप छ । त्यो भन्दा संवेदनशील चाहिँ ७५ वर्षका ससुराले सवितालाई यौन दुर्व्यवहार गरेको बताइएको छ ।

घटनालगत्तै माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो । उनीहरु सबै धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार इश्वर अर्यालका अनुसार थुनछेक बहसपछि श्रीमान र ससुरालाई १–१ लाख र आमाजुलाई २५ हजार धरौटीमा छोडिएको हो । अहिले मुद्दाको थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।

ससुरामाथि गम्भीर आरोप

सविताका माइती पक्षले मृतकका वयोवृद्ध ससुरामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । यो आरोपलाई बल पुर्याउने केही भिडियो क्लिप पनि सार्वजनिक भएका छन् । यूट्युव र टिकटकमा छताछुल्ल बनाइएको भिडियोमा धिताल बुहारीको काखमा सुतेको र संवेदनशील अंगमा हात पुर्याएको देखिन्छ । यो भिडियो सविता स्वयमले प्रमाणका लागि आफ्नो मोबाइलबाट खिचेकी हुन् ।

सविताले आफूलाई ससुराले गलत तरिकाले छुने गरेको गुनासो आफूसँग गरेको बहिनी सजनीको भनाइ छ । सविताका श्रीमान र सासुले चाहिँ यो स्वीकार गरेका छैनन् । श्रीमान योगेन्द्रको भनाइमा उनका बुवा वयोवृद्ध र रोगीसमेत भएकाले बुहारीले स्याहार्नु स्वभाविक हो ।

परिबारको भर यूटुवर !

अदालतमा बिचाराधीन मुद्दा भए पनि यस घटनामा आरोपी र पीडित दुवै पक्ष युट्युबरको शरण परेका छन् । दुवै पक्ष युट्यूवरलाई नै अन्तिम अदालत सम्झेर बयानवाजी गरिरहेका छन् । सुरुमा माइती पक्षका आमा, बाबु र बहिनीको अन्तरवार्ता युट्युवमा आएका थिए । अहिले फेरि घरपट्टिका श्रीमान, सासुदेखि भिनाजुसम्मको अन्तरवार्ता आइरहेको छ ।

तर, न्याय माग्ने नाममा धेरै विकृति पनि देखिएका छन् । अदालतमा विचाराधीन मुद्दामा युट्यूवका अन्तरवार्ता हेरेर धारणा बनाउने अनि गालीगलौज गर्ने क्रम तीव्र छ । यस्तो प्रवृत्तिले प्रहरी र अदालतकै कामकारवाहीसमेत प्रभावित बन्ने खतरा हुन्छ ।

सविताको माइती पक्षले विभिन्न यूट्यूवरलाई अन्तरवार्ता दिँदै आफूसँग भएका सविताका अडियो-भिडियो र अन्य प्रमाण पनि उनीहरुलाई सुम्पिए । प्रहरीलाई मात्र दिनुपर्ने संवेदनशील अडियो-भिडियो यसरी सार्वजनिक गर्दा दुरुपयोग हुन सक्ने उनीहरुले ध्यान दिएनन् ।

युट्यूवरले पनि भ्यूजको लोभमा खुशीसाथ यस्ता भिडियो क्लिप्स अपलोड गरेर अतिरञ्जित शिर्षक राख्दै भाइरल बनाएका छन् । ‘फलानोले खोले सबै वास्तविकता’, ‘ढिस्कानोले खुलाए डरलाग्दो रहस्य’, ‘ससुरा र श्रीमानले यस्तोसम्म गरेका रहेछन्’ आदि इत्यादि शिर्षकका भिडियो अहिले यूट्यूवमा छ्याप्छ्याप्ति बनेका छन् ।

यता, टिकटकमा सवितालाई न्याय दिलाउने अभियान अर्कै तरिकाले चलिरहेको छ । युट्यूवबाट भिडियो क्लिप ल्याउँदै युवतीले लिपसिंक र अभिनय गरेर बग्रेल्ती भिडियो बनाएका छन् । न्याय दिलाउने नाममा गरिएको यस्तो हर्कतले अन्तत पिडित परिवार झन् पिडित बन्ने अवस्था आएको छ । सविताकी बहिनी सजनीले आफूले विश्वास गरेर यूट्युवरलाई उपलब्ध गराएका प्रमाणको दुरुपयोग भएको बताएकी छन् ।टिकटकमा आएर उनले भनेकी छन्, ‘यसले हामीलाई एकदमै पिडा भइरहेको छ । कृपया यस्ता भिडियो पोष्ट नगरिदिनुहोला ।’

यता, नेपाल प्रहरीको साइबर ब्यूरो भने यो सारा प्रकरणमा बेखबर छ । व्यूरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआइजी) रामकृपाल साहले आफूले यो घटनाका बारेमा थाहा नपाएको बताए । नेपाल प्रेससँग उनले भने, ‘तपाईंले सोध्नुभयो, म अब बुझेर के रहेछ जानकारी गराउनेछु ।’ उनले यस्ता भिडियो सार्वजनिक गर्ने व्यक्तिलाई कानूनी कारवाही हुन सक्ने बताए ।

यदि प्रहरी वा कोहि कसैले सार्वजनिक गरेको भए के हुन्छ भन्ने प्रश्नमा प्रमुख डीआईजी साहले जो सुकै व्यक्तिले सार्वजनिक गरेको भए पनि कानून अनुसारको कारवाही गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *