आफ्नै प्रतिवद्धताबाट सरकार पछि हट्दा प्रदेशसभा अवरुद्ध – Nepal Press

आफ्नै प्रतिवद्धताबाट सरकार पछि हट्दा प्रदेशसभा अवरुद्ध

सुर्खेत । बजेट ल्याउन एक सातामात्र समय बाँकी रहेको समयमा कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कारण आज दोश्रो दिन पनि बस्न सकेन ।

जेठ २४ गते सोमबार दिउँसो दुइ बजे सुरु भएको आठौं अधिवेशनको पहिलो बैठक एमालेले नैतिक अभियोग प्रमाणित भइसकेका मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्नुपर्ने मागसहित अवरुद्ध गरेको थियो । एमालेले सदन अवरुद्ध गरेलगत्तै सभामुख राजबहादुर शाहीले सदनमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरुबीच छलफल गराएका थिए । करिब एक घण्टा चलेको बैठकमा सहमति नहुँदा फेरी सदन बसेको थियो भने एमालेले आफ्नो माग पुरा नगरेसम्म सदन चल्न नसक्ने जनाउँदै सदन अवरुद्ध गरेको थियो ।

सोमबारको सदनमा सहभागी बन्न भन्दै थापा उपसभामुखको कुर्सीमा गइ बसेका थिए । त्यो देखेर एमाले थप चिढिएको थियो ।

सोमबारको छलफलमा नेकपा माओवादी संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा एमालेका नेता यामलाल कंडेल, नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही र राप्रपाकी सोशीला शाहीको उपस्थिति थियो । त्यसका अलावा नेकपा माओबादिका प्रमुख सचेतक ठम्मर बिस्ट र एमालेका प्रमुख सचेतक गुलावजंग शाह पनि थिए ।

उक्त छलफलमा सत्ता पक्षले नैतिक पतन भएका मन्त्री थापालाई जेठ ३० गतेसम्म उपस्थित नगराउने प्रस्ताव गर्यो । तर एमालेले भने पूर्व भौतिक पूर्वाधार विकास मन्त्री खडक खत्रीलाई आरोप लागेकै कारण मुख्यमन्त्रीले बर्खास्त गरेको स्मरण गराउँदै सोही बमोजिम अघि बढेमात्र सहमति हुन सक्ने बताएको थियो ।

‘हामीले सरकारको तर्फबाट मन्त्री थापालाई सदनमा जेठ ३० गतेसम्म अनुपस्थित गराउने प्रतिबद्धता जनाएका थियौं ।’ वार्तामा सहभागी पूर्वमन्त्री नरेश भण्डारीले भने, ‘दुवै पक्षलाई विन-विनको अवस्थामा लिएर जान भनेका थियौं तर उहाँहरुले मान्नु भएन । साही कारण यस्तो अवस्था आएको हो ।’

आजको बैठकमा सत्ता पक्ष व्याक !

सदन सञ्चालनका लागि सोमबारको बैठकमा सरकारले गरेको प्रस्ताव मान्न मंगलबार प्रमुख प्रतिपक्ष एमाले तयार भयो । तर, सत्ता पक्ष भने आफ्नै प्रस्तावबाट व्याक भएको छ ।

‘हिजो सरकारले राखेको विषयलाई लिखित रुपमा सहमति गरेर अघि जाऔं न भन्ने हाम्रो प्रस्तावमा सरकार तयार भएन,’ दलका नेता कँडेल भन्छन्, ‘सरकार नै मौखिक रुपमा एउटा र व्यवहारमा अर्कै कुरा गर्छ । बारम्बार रंग बदलिरहन्छ । यस्तो अवस्थामा कसरी सहमति हुन्छ ?’

सरकारले भनेकै अनुसारमा मध्यमार्गी भएर अधिवेशनलाई अगाडी बढाऔं भनेर एमाले तयार हुँदा सत्ता पक्षले नमानेका कारण बैठक स्थगित भएको उनले बताए ।

यता, आजको वार्तामा सहभागी पूर्वमन्त्री नरेश भण्डारीलाई यसबारेमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सूचना टाँस गरेर बैठक स्थगित

दलहरुबीच सहमति नजुटेपछि प्रदेश सभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । अर्को बैठक भोली बुधबार दिउँसो दुइ बजे बस्ने गरि बोलाएको सभामुख राजबहादुर शाहीले बताए ।

शाहीका अनुसार आज दलहरुबीच सहमति जुट्न नसकेका कारण फेरी भोली दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर