आफूहरूलाई थाहै नदिइ स्थानीय तहमा पैसा पठाएको भन्दै विपक्षी सांसदद्वारा सदन अवरुद्ध – Nepal Press
प्रदेश-२

आफूहरूलाई थाहै नदिइ स्थानीय तहमा पैसा पठाएको भन्दै विपक्षी सांसदद्वारा सदन अवरुद्ध

जनकपुरधाम । प्रतिपक्षी दलका सांसदहरूले प्रदेश २ सभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा सशर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख सरोज यादवले प्रदेशसभा बैठक शुरू गरेलगत्तै तीनै दलका सांसदहरूले उभिएर विरोध जनाए । एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले चलाखीपूर्ण तरिकाले सशर्त अनुदानको रकम पालिकामा पठाएर सांसदहरूको अपमान गरेको बताए । उनले भने, ‘हामीले पटक-पटक सम्बन्धित प्रदेशसभा सदस्यको सिफारिस र परामर्शमा रकम पठाउन भनेका थियौं । तर त्यसको कुनै सुनवाइ भएको छैन ।’

माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि स्थानीय तहमा पठाएको अनुदानको रकम प्रदेशसभा सदस्यहरूको सिफारिसमा खर्च हुनुपर्ने धारणा राखे । उनले मुख्यमन्त्री लालबाबु राउतले पटक-पटक आश्वासन दिएपनि त्यसो नगरेकाले बैठक चल्न नदिने चेतावनी दिए ।

नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए । सभामुख यादवले सांसदहरुको धारणा सुनेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै बैठक चल्न दिन आग्रह गरे । तर, प्रतिपक्षी सांसदहरू नमानेपछि सभामुख १ घण्टाका लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर