विद्यार्थी भिसा माग्दै अमेरिकी दूतावासलाई तीन हजारभन्दा बढी नेपाली विद्यार्थीको हस्ताक्षर – Nepal Press

विद्यार्थी भिसा माग्दै अमेरिकी दूतावासलाई तीन हजारभन्दा बढी नेपाली विद्यार्थीको हस्ताक्षर

काठमाडौं । विद्यार्थी भिसाका लागि तत्काल अन्तर्वार्ता सुरु गर्न काठमाडौंस्थित अमेरिकी दूतावासलाई आग्रह गरिएको छ । विभिन्न अमेरिकी विश्वविद्यालयहरुमा अध्ययनका लागि प्रकृया अगाडि बढाइसकेका नेपाली विद्यार्थीले यसका लागि हस्ताक्षर अभियान पनि थालेका छन् ।

चेन्ज डट अर्गमा सुरु गरिएको हस्ताक्षर अभियानमा अहिलेसम्म ३ हजार बढीले हस्ताक्षर गरेका छन् ।

गएको मार्चदेखि काठमाडौंको अमेरिकी दूतावासले विद्यार्थी भिसा जारी गर्न रोकेपछि भिसा आवेदकहरुले आफूहरु मर्कामा परेको जनाएका छन् । दूतावासले कोरोना महामारीको कारण देखाउँदै भिसा अन्तरवार्ताहरु रद्द गरेको छ ।

गतबर्षदेखि कुर्दा एकबर्षको पढाई नै गुमाएको र कतिपयले छात्रबृत्ति समेत गुमाउनुपरेको ती विद्यार्थीको गुनासो छ ।

आफूहरु अन्तरवार्तामा जानका लागि नेगेटिभ कोरोना रिपोर्ट ल्याउन, पीपीई लगाउन तथा अनलाइनबाट अन्तरवार्ता दिन तयार रहेको उल्लेख गर्दै विद्यार्थीहरुले भिसा अन्तरवार्ता सुचारु गर्न आग्रह गरेका छन् । आवेदन दिंदा समय, रकम र उर्जा खर्चेको तथा अर्कोबर्ष समेत पढाइ गुमाउन एवं छात्रबृत्ति गुमाउन नचाहेको उनीहरुले बताएका छन् ।

दूतावासले अब कहिले अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन सकिने भन्ने कुनै जानकारी नदिई तय गरिएका सिमित अन्तरवार्ता पनि रद्द गरेको विद्यार्थीहरुको भनाई छ । काठमाडौंमा जारी निषेधाज्ञाको कारण दूतावासले अर्को सूचना जारी नभएसम्म भिसा अप्वाइन्टमेन्ट स्थगित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर