अर्थतन्त्रको वर्तमान परिसूचकलाई सर्वसाधारणले कसरी बुझ्ने ? (प्रश्नोत्तर-माला)

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश भएका नीति कार्यक्रमहरुलाई कसरी बुझ्ने ? बजेटको बारेमा विज्ञहरुले मात्र टिप्पणी गरिरहेका बेला सर्वसाधारणले मुलुकको अर्थतन्त्रको सूचकलाई कसरी बुझ्ने ? सामान्य मान्छेले पनि बुझ्ने गरी नेकपा एमालेका स्कूल विभाग सचिव ईश्वरी रिजालले २९ वटा प्रश्नोत्तरमालाका रुपमा अर्थतन्त्रको वर्तमान परिसूचकलाई बुझाउन खोजेका छन् । सबैको लागि उपयोगी हुने ठानेर नेपाल चिन्तनमा पश्नोत्तर माला प्रस्तुत गरिएको छ ।

१. आर्थिक वृद्धिदर ऋणात्मक भनेको के हो ? गत आर्थिक वर्षको आर्थिक वृद्धिदर कति प्रतिशतले ऋणात्मक भयो र यसको मुख्य कारण के हो ?

– गत वर्षको कुल उत्पादन बृद्धिको तुलनामा चालु वर्षको उत्पादन वृद्धि घट्यो भने आर्थिक वृद्धिदर ऋणात्मक भएको मानिन्छ । मानौ, गत आर्थिक वर्षको कुल उत्पादन ४ करोड थियो, तर चालु आर्थिक वर्षको कुल उत्पादन ३ करोड मात्र भयो भने आर्थिक वृद्धिदर १ करोडले अर्थात २० प्रतिशतले ऋणात्मक हुन पुग्यो ।

गत वर्षको हाम्रो आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक भएको छ । यो कोभिड १९ महामारीबाट आर्थिक गतिविधि प्रभावित भएको कारणबाट हुन गएको हो ।

२. बजेटले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर कति प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ?

– ४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ ।

३ कुल गार्हस्थ्य उत्पादन भनेको के हो ?

– मुलुकभित्र निश्चित समयवधि, विशेषगरी एक वर्षमा उत्पादित अन्तिम वस्तु तथा सेवाको बजार मूल्यको कुल जोडलाई नै कुल गार्हस्थ्य उत्पादन भनिन्छ । नेपालमा विशेष गरी कृषि, उद्योग र सेवाक्षेत्रमा हुने अन्तिम वस्तु तथा सेवा उत्पादनको बजार मूल्यलाई जोडेर कुलगार्हस्थ्य उत्पादन अर्थात जीडीपी निकालिन्छ । मानौ, कुनै एक कम्पनीले एक वर्षभित्र एक हजार मूल्यका एक सयवटा कुर्सि उत्पादन गर्दछ भने उसको जीडीपी एक लाख भयो । अर्को वर्ष उसले ९० वटामात्रै उत्पादन गर्न सक्यो भने त्यो वर्ष उसको जीडपी अघिल्लो वर्षभन्दा घटेर ९० हजार मात्र हुन्छ । अर्को वर्ष कुर्सि एक हजार थानै उत्पादन भयो, तर सो वर्ष कुर्सिको बजार मूल्य घटेर पाँचसय मात्र भयो भने उसको प्रचलित बजार मूल्यमा जीडीपी घटेर ५० हजार मात्र हुन आउँछ, तर आधार वर्षमा मापन गरिने वास्तविक जीडीपी भने समान नै रहन्छ ।

कुर्सि, उद्योग अन्तर्गत पर्दछ । देशमा कुर्सि उद्योगमात्र होइन अनेकौं उद्योगहरू हुन्छन् । त्यससंगै कृषि क्षेत्रमा पनि धेरै थरीका उत्पादन हुन्छ । साथै सेवा क्षेत्रले पनि विविध प्रकारका सेवा उत्पादन गर्दछ । यी सबै क्षेत्रबाट प्राप्त भई अन्तिम प्रयोगमा आउने वस्तु तथा सेवाको प्रचलित मूल्यको योगफल नै कुल गार्हस्थ्य उत्पादन हो । कुल गार्हस्थ्य उत्पादनको मापन मुख्यतयाः उत्पादनको आधारमा, साथै व्यक्ति वा संस्थाको आम्दानी र खर्चको आधारमा पनि निकाल्ने गरिन्छ ।

४. गतवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा कति पुग्यो र चालु वर्ष कति पुग्ने अनुमान गरिएको छ ? साथै यसलाई कसरी गणना गरिएको हो ?

– गतवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ११२६ अमेरिकी डलर थियो भने चालु वर्ष ११९१ अमिरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

नेपालमा भएको कुल गार्हस्थ्य उत्पादनलाई अमिरेकी डलरको प्रचलित सटही दर अनुसार भाग गरेपछि नेपालको जीडीपी अमेरिकी डलरमा बद्लिन्छ । बदलिएको अंकलाई पुनः नेपालको कुल जनसंख्यासंग भाग गरेपछि नेपालीहरूको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा आउँछ । यही विधिबाट गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आंकडा र चालु वर्षको अनुमानित आंकडा निकालिएको हो ।

५. चालु आर्थिक वर्षमा बजेटले नेपालीहरूको प्रतिव्यक्ति खर्चयोग्य आय कति पुग्ने अनुमान गरेको छ र यस आंकडा कसरी निकालिएको हो ?

– बजेटमा एकजना नेपालीले ११९१ डलर प्रतिव्यक्ति कुल गार्हस्थ्य अनुमान गरिएको छ, तर खर्चयोग्य आय भनेर १४८६ डलरको अनुमान पनि गरिएको छ । यस्तो फरक किन भन्ने प्रश्न उठ्न सक्दछ । यसको तात्पर्य के भने, कुल गार्हस्थ्य उत्पादनमा देशभित्रको आम्दानी मात्र जोडिएको हुन्छ भने विदेशमा गएर आर्जन गरेको आम्दानी जोडिएको हुँदैन । अहिले नेपालका नागरिक विदेशमा श्रम गरेर आम्दानी गरेका छन्, जस्लाई हामी रेमिट्यान्स भन्छौं । यो रेमिट्यान्स नेपालको कुल गार्हस्थ्य उत्पादनमा नजोडिए पनि व्यक्तिको खर्च योग्य आय भने हो । यही रेमिट्यान्सलाई समेत जोडेर नेपालीहरूको खर्चयोग्य आयको अनुमान निकालिएको हो, अर्थात नेपालीहरूको खर्चयोग्य आय १४८६ अमेरिकी डलर पुग्न सक्ने अनुमान गरिएको हो ।

६. बजेटले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल लगानी र कुल राष्ट्रिय बचत कति हुने अनुमान गरेको छ ?

– कुल लगानी ३०.८ प्रतिशत र कुल राष्ट्रिय बचत ३१.४ प्रतिशत हुने अनुमान गरेको छ ।

७. मुद्रास्फिति भनेको के हो ? यो कसरी मापन गरिन्छ ? यसको वृद्धिदरबारे बजेटमा के उल्लेख गरिएको छ ?

– मुद्राले बजारमा वस्तु वा सेवा खरिद गर्न सक्ने क्षमता घट्नुलाई मुद्र्रास्फीति भनिन्छ । अथवा वस्तु र सेवा खरिद गर्न बढी मुद्रा खर्चिनु पर्ने अवस्था नै मुद्रास्फिति हो । सरल भाषामा मुद्रास्फिति भनेको महङ्गी हो, जहाँ मानिसलाई अत्यावश्यक पर्ने वस्तु र सेवा खरिद गर्न बढी मुद्रा दिनु पर्ने हुन्छ । मुद्रास्फीति हुँदा आम्दानी क्रयशक्ति घट्छ । मुद्रास्फिति धेरै अवस्थाले सिर्जना गर्दछ, । अर्थतन्त्रमा आपूर्ति भन्दा समग्र माग बढेमा वा आपूर्ति घटेमा मुद्रास्फिति सिर्जना हुन्छ । विभिन्न कारणले माग बढ्ने अथवा आपूर्ति घट्ने वा महंगो हुने गर्दछ । स्फितिको अर्थ विस्तार वा फैलावट हुने हुँदा मुद्रासँग स्फिति शब्द जोडिएर बनेको मुद्रास्फितिको अर्थ मुद्राको ज्यादा विस्तार वा फैलावट भन्ने हुन्छ ।

८. यो कसरी मापन गरिन्छ ?

– नेपाल राष्ट्र वैङ्कले खास-खास बेलामा पारिवारिक बजेट सर्वेक्षण गरेको हुन्छ । सर्भेक्षणबाट प्रत्येक घरपरिवारले आफ्नो आम्दानी कुन-कुन वस्तु तथा सेवामा कति कति मात्रामा खर्च गर्छन् वा आफ्नो बजेटको हिस्सा कुन वस्तु र सेवाको खरिदमा लगाउने गर्दछन् भन्ने आंकडा निकालिन्छ । यसरी निकालिने आंकडाले उपभोगको भार जनाउँछ । यसरी सर्वेक्षण गरी भार निकालिएको वर्षलाई आधार वर्ष मानिन्छ । यो वर्षमा छनोट भएका वस्तु तथा सेवाको मूल्यलाई सूचकांकको रूपमा १०० मानिन्छ । उपभोक्ता मूल्य सूचकांक निकाल्न ४९६ वटा वस्तु तथा सेवाहरू छनोट गरिएका छन् जसको मूल्य नियमितरूपमा मुलुकका ६० बजार केन्द्रहरूबाट संकलन गरिन्छ । आधार वर्षपछिका समयमा संकलन गरिने मूल्य आधार वर्षको तुलनामा आउने परिवर्तनको आधारमा सूचकांकलाई परिवर्तन गरिन्छ । यसरी छनोटमा परेका वस्तु तथा सेवाको मूल्यलाई सूचकांकमा परिणत गरे पछि उपभोक्ता भारले गुणन गरी जोडेर भारित औसत सूचक निकालिन्छ । यही भारित औसत सूचकांकमा आउने परिवर्तनको आधारमा मुद्रास्फिति निकालिन्छ ।

९. बजेटमा गत वर्ष र चालु वर्षमा मुद्रास्फिति दरबारे के उल्लेख छ ?

– स्वास्थ्य जोखिमका बावजूद आपूर्ति श्रृंखला नियमित गर्न सकिएकाले मुद्रास्फिति नियन्त्रणमा छ । यसको दर गत वर्ष ६.७ प्रतिशत र चालु वर्षको ९ महिनामा ३.१ प्रतिशतमा सीमित रहेको छ ।

१०. शोधानन्तर भनेको के हो ? बजेट अनुसार नेपालमा यसको अवस्था कस्तो छ ?

– वाह्य देशहरुसँग आर्थिक कारोबारका सन्दर्भमा गर्नुपर्ने भुक्तानी र प्राप्तीको अन्तिम हिसावकिताव तथा सन्तुलनलाई नै शोधानन्तर भनिन्छ । जस्तै, निश्चित समयावधिमा वाह्य देशहरुसँग विभिन्न आर्थिक कारोबार गरेर नेपालले रु १ लाख रकम भित्र्यायो तर सोही समयावधिमा रु. ५० हजार बाहिर भुक्तानी गर्‍यो भने, शोधनान्तर रु. ५० हजारले बचतमा रहने भयो । वाह्य देशहरुसँग वस्तु तथा सेवाको आयात निर्यात, लगानीको आम्दानी, वाह्य लगानी, ऋण आदि जस्ता आर्थिक कारोबारहरू यसमा पर्दछन् । कारोबारको प्रकृतिको आधारमा शोधनान्तर खातालाई पुँजीगत खाता, वित्तीय खाता र चालु खाता विभाजन गरी कारोबारको रेकर्ड राख्ने गरिन्छ ।

११. हाल शोधानन्तर अवस्था कस्तो रहेको छ ?

– २०७७ चैतमा शोधानन्तर ४२ अर्व ५४ करोड बचतमा रहेको छ ।

१२. विप्रेषण भनेको के हो ? बजेट अनुसार यसको प्रवाह कस्तो छ ?

– विदेशमा श्रम गरेर स्वदेशमा भित्रिने रकमलाई विप्रेषण भनिन्छ । नेपालमा विप्रेषणले गरिबी घटाउन र जीवनस्तर सुधार गर्न ठूलो भूमिका खेलेको छ । करिब ४० लाखभन्दा बढी नेपालीहरु विदेशी श्रमबजारमा कार्यरत रहेका छन् । कोभिड १९ को महामारीले विश्वका प्राय देशहरुका अर्थतन्त्र प्रभावित भए पनि नेपालमा आउने विप्रेषणमा कमी आएन । २०७७ चैतसम्म नेपालमा आएको विप्रेषण अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले बढेको छ ।

१३. हाल हाम्रो विप्रेषणको प्रवाह कस्तो छ ?

– विप्रेषण प्रवाहमा वृद्धि भएको छ ।

१४. विदेशी विनिमय भनेको के ? यसको अवस्था कस्तो छ ?

– वाह्य मुलुकसँगको कारोबारका लागि नेपाली मुद्रा भुक्त्तानी गर्न मिल्दैन । वा नेपालले अर्को मुलुकसँग कारोबार गर्दा नेपाली मुद्रा मान्य हुँदैन । तसर्थ वाह्य कारोवारका लागि सम्भव भए सम्वन्धित देशको मुद्रा वा त्यसो नहुँदा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुद्राको आवश्यकता पर्दछ । यस्ता अन्तर्राष्ट्रिय कारोबारका लागि मान्यता प्राप्त मुद्रालाई विदेशी विनिमय भनिन्छ । अहिले अन्तर्राष्ट्रिय कारोबारका लागि केही मुद्राहरु जस्तै यूएस डलर, यूरो, जापनिज ऐन, पाउण्ड स्ट्रिलिङ, स्वीस फयाकं, क्यानिडियन डलर, अष्ट्रेलियन डलर आदि रहेका छन । यस्ता विदेशी मुद्रा वा यी मुद्रामा रहेका वित्तीय उपकरणहरूको संचितिलाई विदेशी विनिमय संचिति भनिन्छ । नेपालको सन्दर्भमा भारतीय, चाइनिज र अरेवियन देशका मुद्राहरू पनि विदेशी विनिमय संचितिको रूपमा रहेका छन् ।

१५. हाल विदेशी विनिमयको सञ्चिति कति छ ?

– विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्व २७ करोड छ । जसले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने छ ।

१६. कर्जा र निक्षेप भनेको के हो ? यसको वृद्धिदर कस्तो छ ?

– मुलतः निक्षेप भन्नाले बैंक तथा वित्तीय संस्थाहरूमा अवस्थित चल्ती, बचत र मुद्धती खातामा जम्मा गरिने रकमको अवस्थालाई बुझाउँछ । यसमा सर्वसाधारण र अन्य संघ संस्थाबाट पछि भुक्तानी गर्ने सर्तमा रकम लिइएको हुन्छ । यसैलाई निक्षेप भन्ने गरिन्छ ।

– मुलतः बैंक तथा वित्तीय संस्थाहरूले घर, जग्गा, सुन, चाँदी, मुद्दती रसिद, ऋणपत्र, बचतपत्र लगायत धितो राखेर पछि भुक्तानी गर्ने सर्तमा ग्राहकहरूलाई दिइने रकमलाई नै कर्जा भन्ने गरिन्छ । उद्योग व्यवसाय र व्यापार, भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरूका लागि कर्जा दिने गरिन्छ । यसको आंकडाले देशमा उद्योगको स्थापना र सञ्चालन, व्यापार तथा व्यवसाय सञ्चालनको अवस्थालाई बुझाउँछ ।

१७. हाल कर्जा र निक्षेपको वृद्धिदर कस्तो छ ?

– कर्जा र निक्षेपको वृद्धिदर सकारात्मक रहेको छ ।

१८. पूँजी बजार भनेको के हो ?

– लामो समयावधिसम्म पुँजीको सञ्चालन र परिचालन गर्न सकिने बजारलाई पुँजी बजार भनिन्छ । यसमा स-साना बचतहरूलाई जम्मा गरेर पुँजीको निर्माण गरिन्छ । त्यसलाई ठूल्ठूला उद्योगधन्दा, कलकारखाना र भौतिक पूर्वाधार निर्माणमा लगाउन सकिन्छ । सरकारी वा निजीक्षेत्र दुवैलाई आवश्यक पर्ने पूँजी आपूर्तिको यो एउटा गतिलो माध्यम पनि हो । पुँजी बजार मुलुकको विकास-निर्माणमा लाग्ने जोसुकै व्यक्ति, संघ, सस्था र सरकारलाई समेत दीर्घकालीन समयका लागि रकम जम्मा गर्न र परिचालन गर्न पाउने एउटा भरपर्दो वित्तीय व्यवस्था हो । तसर्थ पुँजी बजारलाई देशको अर्थतन्त्र विकासको एक विम्वका रूपमा समेत लिने गरिन्छ । पूँजी बजारमा सेयर, धितोपत्र र ऋणपत्रहरूको विक्री गरेर पुँजी संकलन गर्ने गरिन्छ ।

१९. बजेटमा पुँजी बजारको अवस्थाबारे के उल्लेख छ ?

– पुँजी बजारमा कारोबार वृद्धि हुँदै गएको कुरा उल्लेख छ । साथै कोभिडको दोस्रो लहरका कारण यसमा चाप पर्ने अनुमान पनि बजेटमा उल्लेख छ । पछिल्ला महिनाहरूमा पुँजीबजारको रूपमा रहेको सेयर बजार उत्साहजनक रूपमा बढेको छ ।

२०. चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म गत वर्षको सोही अवधिको तुलनामा सरकारी खर्च र राजस्व संकलनको अवस्था के छ ?

– सरकारी खर्च १६ प्रतिशतले र राजस्व संकलन १४.१ प्रतिशतले वृद्धि भएको छ ।

२१. वैशाख मसान्तसम्म वैदेशिक सहायताको प्रतिवद्धता कति प्राप्त भएको छ ?

– २ खर्व २ अर्व २८ करोड वैदेशिक प्रतिबद्धता प्राप्त भएको छ ।

२२. प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण गत वर्षको दश महिनाको तुलनामा कति प्रतिशतले वृद्धि भएको छ ?

– १५.७ प्रतिशतले वृद्धि भएर २ खर्व ९४ अर्व ३३ करोड पुगेको छ ।

२३. प्रदेश र स्थानीय तहमा राजस्व कति बाँडफाँड भएको छ ?

– ९१ अर्व ४७ करोड राजस्व बाँडफाँड भएको छ ।

२४. चालु वर्षको पहिलो ९ महिनामा निर्यात र आयात कति प्रतिशतले वृद्धि भएको छ ?

– निर्यात २०.२ प्रतिशतले र आयात १३.१ प्रतिशतले वृद्धि भएको छ ।

२५. चालु वर्षमा कुल विनियोजनको कति प्रतिशत खर्च हुने संशोधित अनुमान छ ?

– कुल विनिमयको ८५.९ प्रतिशत हुने अनुमान छ ।

२६. विनियोजनमध्ये चालु खर्चतर्फ कति प्रतिशत र पुँजीगतर्फ कति प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको छ ?

– चालु खर्चतर्फ ९१.४ प्रतिशत र पुँजीगततर्फ ७१.३ प्रतिशत खर्च हुने अनुमान छ ।

२७. वित्तीय व्यवस्थातर्फ कति प्रतिशतले खर्च हुने संशोधित अनुमान छ ?

– वित्तीय व्यवस्थातर्फ ८५.२ प्रतिशतको अनुमान छ ।

२८. चालु आर्थिक वर्ष वार्षिक लक्ष्यको तुलनामा कति प्रतिशत राजस्व संकलन हुने अनुमान छ ?

– ९४.८ प्रतिशत राजस्व संकलन हुने अनुमान छ ।

२९. वैदेशिक अनुदान, वैदेशिक ऋण तथा आन्तरिक ऋण कति परिचालन हुने अनुमान छ ?

– वैदेशिक अनुदान २७ अर्व ६ करोड, वैदेशिक ऋण १ खर्ब १० करोड र आन्तरिक ऋण २ खर्ब २३ अर्व परिचालन हुने संशोधित अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *