सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेका माधव पक्षको साथ – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेका माधव पक्षको साथ

कांग्रेस संसदीय दलको बैठक जारी, विपक्षमा मतदान गर्न एमालेको ह्वीप

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

‘आइतबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने छ,’ धामीले भने । पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागिसमेत छुट्दाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको उनले बताए ।

विश्वासको मत पाउने सम्भावना

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका २५ नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२ र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद छन् । मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट विश्वास पाउन २७ मत आवश्यक पर्छ ।

माओवादी केन्द्रले आवश्यकता भन्दा बढी मत आउने दाबी गरेको छ । विगतमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि असहयोग नगर्ने माओवादीको दावी छ ।

‘हाम्रो मत सुनिश्चित छ । त्यो भन्दा बढी थप्ने प्रयासमा छौं’ माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले बताए ।

अहिले माओवादीसँग १३ सांसद छन् । एमालेको माधव पक्षका सांसदले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने माधव पक्षका नेता अमर बहादुर साउदले बताए ।

‘यसअघि नै यहि सरकारलाई समर्थन दिने निर्णय गरेका थियौं त्यहि अनुसार अघि बढ्छौं’ उनले भने ।

१३ माओवादी र १५ नेपाल पक्षको मत मुख्यमन्त्रीले पाउने आंकलन छ । माओवादीले अहिले कांग्रेसलाई पनि मनाउने प्रयास गरिरहेको छ । अहिले कांग्रेसको अहिले संसदीय दलको बैठक बसिरहेको छ र बैठकले विश्वासको मत दिने/नदिने निर्णय गर्नेछ ।

विपक्षमा मतदान गर्न एमालेको ह्वीप

एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई निर्देशन सहितको पत्र पठाएका छन् ।

माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले केहिबेरमा विश्वासको मत लिँदैछन् । त्यसमा विपक्षमा मतदान गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए । त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई विपक्षमा मतदान गर्न निर्देशन दिँदै छुट्टछुट्टै पत्र काटेको छ ।

१० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको आदेश अवज्ञा गर्दै १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम राख्ने निर्णय लियो । अहिले एमाले माधव पक्षका सांसदहरू सरकारमा सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर