६४ वर्ष उमेरका व्यक्तिलाई आज भेरोसेलको पहिलो मात्रा – Nepal Press

६४ वर्ष उमेरका व्यक्तिलाई आज भेरोसेलको पहिलो मात्रा

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर ६४ वर्ष उमेरका व्यक्तिलाई काेराेना विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ ।

यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

काठमाडाैं उपत्यका बाहिरकाे हकमा भने ६२ देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिले खाेप लगाउन पाउनेछन् । जसअनुसार आज जेठ २५ गते ६४ वर्ष उमेरका व्यक्तिले आआफ्नाे वडाले निर्धारण गरेकाे खाेप केन्द्रबाट खाेप लगाउनेछन् ।

यसअघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग वार्ता गरेपछि चीन सरकारले १० लाख मात्र भेराेसेल खाेप अनुदान दिएकाे थियाे । त्यही खाेप अहिले लगाउन लागिएकाे हाे ।

सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिने पेशाकर्मी, दीर्घ रोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।

यसरी दिइने खोप २ प्रकारका छन् । एउटा भारतको सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरोसेल हो ।

खोप कार्यक्रमअन्तर्गत फागुन २३ गतेदेखि चैत १० गतेभित्र कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिले त्यसको दोस्रो मात्रा लगाउन पाएका छैनन् । कोभिशिल्ड प्राप्तिका लागि भारतको सिरम इन्टिच्युटसँग सम्झौता गरेर अग्रिम भुक्तानी भएपछि इन्टिच्युटले खोप दिन नसक्ने पत्र पठाएको छ ।

अवस्था उल्लेख गर्दै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यसको विकल्पमा एउटै प्रकृतिको एक्स्ट्राजेनिका खोप दिइने जनाएको छ । यो खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि भए पनि अर्को मात्रा दिइनेछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब १ लाख व्यक्तिले लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर