सामाजिक सुरक्षा याेजनामा आवद्ध भए पनि खाइपाइ आएको सुविधा नघट्ने – Nepal Press

सामाजिक सुरक्षा याेजनामा आवद्ध भए पनि खाइपाइ आएको सुविधा नघट्ने

काेषमा सूचीकृत नभए पनि ऐन अनुसार कारवाहि हुने

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुँदा श्रमिकले खाइपाई आएको पारिश्रमिक घट्ने भनी भ्रामक टिकाटिप्पणी भइरहेका बेला सामाजिक सुरक्षा कोषले त्यस्तो नहुने स्पष्ट पारेको छ । कोषले श्रमिकले खाइपाइ आएको सेवासुविधा कटौती नहुने स्पष्ट पारेको हो ।

केहि दिन अघि नेपाल वित्तीय कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा जाँदा वित्तीय क्षेत्रका कर्मचारीको खाइपाइ आएको सेवासुविधा कटौती हुने भएकाले कोषमा नजाने अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेपछि त्यस सम्बन्धमा कोषले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो खालको गलत भ्रम नफैलाउन पनि चेतावनी दिएको छ ।

श्रम ऐनको दफा ५२ मा व्यवस्था गरिएको आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), दफा ५३ मा व्यवस्था भएको न्यूनतम १ वर्ष काम गरेबापत १ महिनाको उपदान, दफा ५४ बमोजिम श्रमिकको १ लाख बराबरको औषधोपचार, दफा ५५ बमोजिम दुर्घटना बीमाका लागि बीमा शुल्क बापतको रकम मात्रै सामाजिक सुरक्षामा कोषमा आउने कोषका सहायक प्रवक्ता रोहित रेग्मीले नेपाल प्रेससँग बताए । उनका अनुसार त्यस भन्दा बढी सुविधा दिइरहेको भए सम्बन्धित प्रतिष्ठानले नै सम्बन्धित श्रमिकले पाउने गरी व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।

खाइपाइ आएको उपदानको हकलाई सुनिश्चित गर्ने गरी श्रम नियमावली २०७५ मा उल्लेख गरिएको सहायक प्रवक्ता रेग्मीको भनाइ छ । सामाजिक सुरक्षा योजना निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भएको हुँदा यथाशीघ्र सूचीकृत हुन पनि उनले आग्रह गरेका छन् । सूचीकृत नहुने रोजगारदाताको हकमा पनि ऐन लागू हुने र त्यसै अनुसार उजुरी आएमा कोषले कारवाही प्रक्रिया अघि बढाउने कानूनी व्यवस्था छ ।

त्यसै अनुसार नै भर्खरै मात्र सामाजिक सुरक्षा कोषले सनराइज बैंक र ग्लोबल आइएमई बैंकमा कार्यरत १–१ जना कर्मचारीको मृत्यु भएपछि उनिहरुका आफन्तले दिएको उजुरीको आधारमा लाखदेखि करोडसम्म सम्बन्धित बैंकलाई मृतकका परिवारलाइ दिन निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर