दिउसो सामान बेच्ने भाटभटेनीका म्यानेजर ४ लाख जरिवाना तिरेर छुटे – Nepal Press

दिउसो सामान बेच्ने भाटभटेनीका म्यानेजर ४ लाख जरिवाना तिरेर छुटे

काठमाडौं । निषेधाज्ञाको समयमा सोमबार दिउसो सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाका म्यानेजर ४ लाख रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोलेर सामान बिक्री वितरण गर्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

पराजुलीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश दिएर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौलाई पत्राचार गरिएको नेपाल प्रेससँग बताए । सोमबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा दिउँसो पनि सामान बिक्री गरेको पाइएको थियो ।

सरकारले भर्खरै जारी गरेको अध्यादेश अनुसार व्यक्तिले आदेशको उल्लंघन गरे १ लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ। स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो। उनलाई प्रशासनको आदेशमा छोडिएको महानरीय प्रहरी वृत बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *