राउटे बस्तीमा बाहिरी मान्छे रोक्न कडा सुरक्षा, युवतीलाई काउन्सिलिङ गर्न कार्यदल – Nepal Press

राउटे बस्तीमा बाहिरी मान्छे रोक्न कडा सुरक्षा, युवतीलाई काउन्सिलिङ गर्न कार्यदल

सुर्खेत । गुर्भाकोट नगरपालिका-११ मा बस्दै आइरहेका दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको छ । बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा बढाउन आफूले निर्देशन दिएको बताए ।

प्रदेशसभा बैठकमा सहभागी हुन आएका शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।’
दुई युवतीमाथि भएको घटना निन्दनीय भएको मुख्यमन्त्रीको भनाइ छ । आफूले दोषीलाई कडा कारवाही गर्न र ती युवती तथा राउटे बस्तीको सुरक्षा गर्न निर्देशन दिएको उनले बताए ।

मुख्यमन्त्री शाही भन्छन्, ‘अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ ।’
उनले पीडित दुवै युवतीलाई बचाउन सरकारले सबै योजना अवलम्बन गरिरहेको उल्लेख गरे ।

‘अहिले सुरक्षाको योजना लागू गरिसकेका छौं । त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई यहाँ बोलाएको छु । राउटेका मुखियालाई आवश्यक सहयोग गर्ने र युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने योजना बनाइरहेका छौं । त्यसका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै खटाएको छु ।’

उनले अनुसन्धानका नाउँमा विभिन्न संस्थाहरुको लाइन लागेर आइरहेको बताउँदै त्यसले ती दुवै युवतीको ज्यान तलमाथि हुने सम्भावना भएका कारण कसैलाई पनि बस्तीनजिक जान नदिइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर