प्रदेशसभा बैठकमा महन्थ ठाकुर पक्षका सांसद अनुपस्थित – Nepal Press
प्रदेश-२

प्रदेशसभा बैठकमा महन्थ ठाकुर पक्षका सांसद अनुपस्थित

जनकपुरधाम । प्रदेश २ को सभा बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरू अनुपस्थित भएका छन् ।

प्रदेशसभाको छैठौं अधिवेशन आजैबाट शुरू भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई आइतवार राति बर्खास्त गरेपछि यस प्रदेशमा जसपा विवाद उत्कर्षमा पुगेको छ ।

मन्त्रीबाट बर्खास्त महन्थ ठाकुर पक्षका सांसद सुरेश मण्डलले आफूहरूले प्रदेशसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए । केन्द्र (महन्थ ठाकुर) बाट आवश्यक निर्देशन नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने उनले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रदेश २ मा तत्कालीन जसपाका २५ सांसद छन् । जसमध्ये २० सांसद बैठकमा अनुपस्थित भएका छन् । तत्कालीन जसपाबाट मन्त्री बनेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहसहित उपेन्द्र पक्षका ५ सांसद उपस्थित छन् ।

मन्त्रीद्वय राय र साह उपेन्द्र पक्षमा लागेपछि भने उनीहरुको पद जोगिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर