हिन्दु स्वयंसेवक संघद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण – Nepal Press

हिन्दु स्वयंसेवक संघद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण

चितवन । हिन्दु स्वयंसेवक संघ नेपाल र मारवाडी सेवा केन्द्रले संयुक्त रूपमा चितवनका विपन्न चेपाङ समुदायलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

चितवन राप्ती नगरपालिका– ११ का जुमलिङ, किरनटार, जोङग्वाङ, रेपाक, ठकुरी भन्ज्याङ, बेलगाउँ, सिमलडाँडालगायतका आठ गाउँका २ सय ३० परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो । चामल, दाल, तेल, नुन, सोयाविन लगायतका खाद्य सामाग्री वितरण गरिएको संघले जनाएको छ ।

चितवन, नवलपुर र मकवानपुरका संघका स्वयंसेवक एवं मारवाडी सेवा केन्द्रले चेपाङ परिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए ।

हिन्दु स्वयंसेवक संघका जिल्ला संघचालक नारायण चालिसे, सम्भाग सहकार्यवाहक गोविन्द पौडेल, लुम्बिनी सम्भाग प्रचारक कपिल भट्ट, विभाग विस्तारक सागर जोशी, राष्ट्रसेविका नेपालकी राष्ट्रिय कार्यवाहीका उर्मिला ढकाल त्यसै गरी मारवाडी सेवा केन्द्र, नारायणगढका अध्यक्ष दुल्लिचन्द डाँगा, महासचिव विक्की वर्मा, उपाध्यक्ष पंकज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

हिन्दु स्वयंसेवक संघको अग्रसरतामा कोभिड प्रभावित विपन्न नागरिकका लागि देशैभर विभिन्न सहयोगी काम भइरहेको छ ।

बाँकेमा सात थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

यसै गरी बाँकेमा संघ र सेवा इन्टरनेशनल नेपालले नारी सीप विकास केन्द्र रामलाल मैदानमा रहेको कोभिड आइसोलेसन सेन्टरलाई चार थान सानो र तीन थान ठूलो गरी सात थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघ नेपालका पश्चिम सम्भाग प्रचारक विकुल दाहालले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।

सामग्री ग्रहणपछि उपमहानगर प्रमुख राणाले आइसोलेसनमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने जनाउँदै सहयोग अनुकरणीय रहेको बताएका थिए ।

भैरहवामा १५ शय्याकाे आइसाेलेसन निर्माण

सेवा इन्टरनेशनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवास्थित केशवधाममा १५ शय्याको कोभिड आइसोलेसन सेन्टर निर्माण गरी अघिल्लो सातादेखि सञ्चालनमा ल्याएको छ ।

हिन्दु स्वयंसेवक संघ नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले जानकारी दिए ।

आइसोलेसन सेन्टरको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्दै विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेसन सेन्टर निर्माण गरी भीम अस्पताललाई हस्तान्तरण गर्नु उदाहरणीय कार्य रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर