कोरोना महामारीको तेस्रो लहरसँग जुध्न बुटवल उपमहानगरको पूर्वतयारी सुरु – Nepal Press

कोरोना महामारीको तेस्रो लहरसँग जुध्न बुटवल उपमहानगरको पूर्वतयारी सुरु

रुपन्देही । विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर अक्टोबर/नोभेम्बरदेखि सुरु हुने चेतावनी दिइसकेका छन् । यसपटक बालबालिकामा संक्रमण देखिनेतर्फ उनीहरुले पूर्वानुमान लगाएका छन् ।

बुटवल उपमहानगरपालिकाले सम्भावित तेस्रो लहरबाट वालवालिकालाई जोगाउन र सम्भावित महामारी रोक्न बालरोग विशेषज्ञहरुसँग छलफल गरेको छ । संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायतका विषयमा उनीहरुसंग छलफल गरेको हो ।

अब आउने लहरले बालबालिकालाई प्रभावित बनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि यहाँका बालरोग विशेषज्ञहरुसँग उपमहानगरले छलफल र परामर्श गरेर कसरी संक्रमण रोक्न सकिन्छ भन्ने सुझाव विज्ञहरुसँग लिएको छ ।

महामारीको तेस्रो लहरको पूर्वतयारी स्वरुप बालरोग विशेषज्ञहरुसँग सम्भावित जोखिम न्यूनीकरण र विद्यमान जनशक्तिका बारेमा छलफल गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज (युसीएमएस), क्रिमसन अस्पताल, देवदह मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बालरोग विशेषज्ञ तथा प्रतिनिधिहरुसँग उपमहानगरमा विशेष छलफल भएको हो ।

सार्वजनिक, निजी तथा सामुदायिक अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गर्नुका साथै तीनै तहका सरकारबाट आवश्यक सहयोगका बारेमा विज्ञहरुसंगै विशेष छलफल भएको नगरप्रमुख सुवेदीले बताए ।

आम्दा अस्पताललाई मातृ र शिशु स्याहार केन्द्रका रुपमा विकास गर्नेगरी उपमहानगरले विभिन्न पक्षहरुको सहकार्यमा काम अगाडि बढाएको सुवेदीको भनाइ छ । उनले महामारीको लहरले सताउने अवस्था आएमा त्यसको सामना गर्नका लागि योजना बनाउन जिल्लामा रहेका विशेषज्ञहरुसंगै छलफलको आयोजना गरिएको बताए ।

छलफलमा सहभागी विशेषज्ञहरुले आउने लहरले बालबालिकालाई मुख्य असर पुर्‍याउने दावीको ठोष वैज्ञानिक आधार नभएकाे र खोपको पर्याप्तता नहुँदासम्म जुनसुकै उमेर समूह जोखिम कायमै रहने बताएका थिए ।

विशेषज्ञहरु डा. राजु काफ्ले, डा.सन्तोष पोखरेल, डा. नेत्रबहादुर राना, डा. अजय श्रीवास्तव तथा डा. हिम श्रेष्ठलगायतका विभिन्न अस्पतालमा कार्यरत बालरोग विशेषज्ञहरुले पूर्वतयारीमा आफूहरु सतर्क र सजग भएर लागेको तर, साधन स्रोत र जनशक्तिको व्यवस्थापनमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

महामारी आइहाल्दा विद्यमान संरचना, साधन स्रोत र जनशक्तिले मात्रै थेग्न गाह्रो पर्न सक्ने भन्दै विशेषज्ञहरुले उपकरण र केही स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरेका थिए ।

बलरोगसँग सम्बन्धित विशेषज्ञहरुको सञ्जाल नेपाल पेडियाट्रिक सोसाइटीमार्फत महामारीविरुद्ध बालबालिकालाई जोगाउने विषयमा विशेष पोट्रोकल समेत तयार भएको उक्त सञ्जालमा समेत आवद्ध रहनु भएका डाक्टर राजु काफ्लेले बताए ।

तत्कालै आत्तिइहाल्नुपर्ने अवस्था नरहे पनि सचेतना, सावधानी र पूर्वतयारी अत्यन्त जरुरी रहेको विशेषज्ञहरुको भनाइ छ । कोभिडका हालसम्मका लहरमा बालबालिका पनि संक्रमित भएका र उनीहरुमध्ये धेरैमा संक्रमणका लक्षण कम पाइएको र गम्भीर अवस्था पनि नभएको पाइएको विशेषज्ञहरुले बताएका छन् ।

बालबालिकामा एन्टीबोडी र भाइरसँग जुध्ने क्षमता फरक खालको हुने भएकाले पनि संक्रमितले चाँडो परास्त गर्न सकेको पाइएको विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए ।

उपमहानगरका स्वास्थ्य जनस्वास्थ्य अधिकृत उमादेवी थापाले हालसम्म उपमहानगरमा रहेका बालबालिकामा संक्रमण नदेखिएको र केही बालबालिकामा ज्वारो आउने समस्या देखिए पनि एकदुई दिनमै ठीक भएको भन्दै रिपोर्ट आएको बताइन् ।

नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले केही दिन अघि सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शैया बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।

बालरोग विशेषज्ञहरुसँगको छलफलमा उपप्रमुख गुमादेवी आचार्य, विज्ञहरु बाबुराम भट्टराई, एजाज आलम, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा उपमहानगरका स्वास्थ्य, शिक्षा र जनशंख्या महाशाखा प्रमुख मित्रमसण खनाल र उपमहानगरका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो । विज्ञहरु भट्टराई र आलमले पूर्वतयारीलाई तीव्रता दिनुपर्ने र अफवाहलाई चिर्दै सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

उपमहानगरमा भएको छलफलमा सहभागी डाक्टरहरु डा.अरुण पोखरेल, डा.मनोज कुसवाह, डा. लक्ष्मण पौडेल, डा.किरण पन्थी, डा.नारायण पोखरेललगायतले साधान स्रोत र जनशक्तिको व्यवस्थापनमा ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *