यौन दुर्व्यवहारमा परेका राउटे युवतीको ज्यान आफ्नैबाट जोखिममा – Nepal Press

यौन दुर्व्यवहारमा परेका राउटे युवतीको ज्यान आफ्नैबाट जोखिममा

सुर्खेतं । दुई जना राउटे युवतीलाई मदिरा पिलाएर होटलमा यौनजन्य भिडियो बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तर राउटे युवतीको ज्यान उनकै समुदायको कठोर नियमका कारण जोखिममा परेको छ ।

राउटे समुदायमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्दा ज्यानै लिने गरेका घटना यसअघि हुने गरेका थिए । स्वयं भिडियो बनाइएका दुई युवतीलाई यसअघि मुखियाले नजरबन्द गरेका थिए ।

अहिले राउटे समुदायमा विवाह गर्न उमेर पुगेका दुई युवती मात्रै छन् । एउटी १९ वर्षकी र अर्की २३ वर्षकी । यी दुवैको पनि सानैमा विवाह भइसक्थ्यो तर उनीहरुलाई विवाह गर्नेहरु उनीहरुको जातमा कोही पनि छैनन् । भएकाहरु पनि सानै छन् ।

राउटे समुदायमा लामो समय काम गरेका सोसेक अध्यक्ष हिरासिंह थापाका अनुसार एकै जातीमा विवाह गर्न नहुने तर अर्को जातीमा विवाह गर्न केटा नै नभएपछि यी दुवै युवती अविवाहित छन् । यहि मौकाको फाइदा उठाउन बाहिरी हुल्याहाहरु लागेका थिए ।

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् ।

अहिले घटनास्थलमै रहेका थापाका अनुसार ती युवतीको पछि दुई स्थानीय युवा लागिरहेका थिए ।

‘म शीवमानको मृत्यु भएको खबर पछि त्यहाँ गएको थिएँ । एक राउटे बालकले ती दुई युवतिलाई दैनिक रुपमा दुई जनाले मोटरसाईकलमा बस्न कर गर्ने गरेको बताएका थिए ।’ उनी भन्छन्, ‘त्यस विषयमा मैले थप जानकारी लिएँ । मलाई राती मात्रै भिडियो आयो । त्यसपछि प्रहरी लगायतसँग कुरा गरेर दुई जनालाई नियन्त्रणमा लिन लगाइएको हो ।’

प्रहरीले ती राउटे युवतीलाई मदिरा सेवन गरेर यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

युवतीलाई बचाउन गाह्रो

अध्यक्ष थापाले यदि राउटे समुदायले यो खबर सुनेको खण्डमा ती दुवै युवतीको ज्यान खतरामा रहेको बताए । उनले पुराना कुरा सुन्दा दुवै युवतीको ज्यान जोखिममा रहेको बताउँदै अन्य समूदायका कोही कसैलाई पनि प्रवेश गर्न नदिईने वातावरण बनाउनुपर्ने बताए ।

‘अहिले त्यो खबर पाएको खण्डमा राउटे समुदायले यी युवतीलाई जे पनि गर्न सक्ने खतरा बढेको छ । त्यो जोखिम कम गर्न म यहाँ आएको हुँ ।’ थापाले नेपालप्रेससँग भने, ‘यहाँ प्रहरीको व्यवस्था मिलाउन अनुरोध गरेका छौं भने अप्रिय घटना घट्न नदिन सरकारलाई आग्रह पनि गरेका छौं । अहिले प्रहरी पनि घटना स्थलमा आइसकेको छ ।’

कोही आएर त्यो भिडियो देखाइदिएमा ती युवतीको ज्यान आफ्नै समुदायबाट जोखिममा छ ।

के गर्दैछ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले राउटे समुदायबाट अहिलेसम्म जाहेरी नआएको बताए । पक्राउ परेका तीनै जनाले गल्ति स्वीकार गरिसकेका छन् ।

घर्तीले भने- ‘त्यो समुदायका मान्छेलाई जाहेरी कसरी दिने बनाउन सकिन्छ भन्ने प्रश्न जटिल छ । उनीहरुले आज हाम्रो प्रहरी निरीक्षकलाई बस्तीमा प्रवेश गर्न दिएनन् । विभिन्न संस्थाहरुसँग यसबारेमा कुरकानी भइरहेको छ ।’

डिएसपी घर्तीले ती दुई युवतीको सुरक्षाको कुरा र राउटेको सामाजिक चलनलाई मध्यनजर गरेर कसरी हुन्छ कारवाही गर्ने प्रक्रियामा आफूहरु रहेको बताए ।

‘उनीहरु सजायको भागीदार हुन्छन् । यो समाजमा त्यस्ता काम गर्न पाइदैन ।’ उनी भन्छन्, ‘अन्य कोही कसैले त्यस्तो गरेको उजुरी पर्न आएको खण्डमा त्यसलाई पनि नियन्त्रणमा लिन्छौं र अनुसन्धान गर्छौं ।’

आयोगको अनुगमन, युवतीको ज्यान खतरामा

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले युवतीमाथि भएको यौन हिंसाको बारेमा स्थलगत अध्ययन गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै राउटे युवतीलाई प्रलोभनमा पारिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ- स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ ।

प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीहरुलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

राउटेको आफ्नै कानून

राउटे लोपोन्मुख जाती हो नेपालको । यो जातीको आफ्नै चलन छ । आफूलाई जंगलको राजा भन्न रुचाउने यो समूदायमा भिन्नै खालको परम्परा र रीतिरिवाज छ । जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाई सर्ने यो राउटे जाती कर्णालीमा मात्रै पाइन्छन् ।

हाल १३८ जना रहेको यो समूदायमा तीन थरि बस्दै आइरहेका छन् । रास्कोटी, सुर्य वंशी र कलेल ठकुरी भनेर तीन गोत्रमा विभाजित यो समूदायले आफ्नै इष्टमित्र बाहेक अन्य कोही कसैसँग विवाह गर्ने प्रचलन छैन ।

यतिसम्म कि आफ्ना इष्टमित्रको घरमा छोरी जन्मिएको खण्डमा उसै समयमा ती छोरी कसकी श्रीमती हुने भन्ने कुरा राउटेले उतिबेलै टुंगो लगाई दिन्छन् । त्यति भएपछि ती बालिका एघार देखि १२ वर्ष भएको समयमा युवतीका वुवा आमाले उनीहरुको विवाह गराइदिन्छन् ।

अस्पतालमा उपचार गराउँदा हत्या

आज भन्दा चार वर्ष पहिलेको कुरा हो । दैलेखको महावु गाउँपालिका-२ साविकको बडाखोला अस्पतालमा एक राउटे महिला सुत्केरी हुन नसकेका कारण अस्पताल भर्ना भईन् । उनको पेटमा रहेको बच्चाको मृत्यु भयो भने उनको ज्यान स्वास्थ्यकर्मीले जोगाईदिए ।

उनी अस्पतालमा तीन दिन बसिन् । उपचारपछि उनी आफ्नो बस्तीमा गईन तर त्यहाँ राउटे समुदायले अस्पतालमा गई उपचार गरेर अन्य व्यक्तिसँग कुरा गरेको भन्दै हत्या गरिदिए । यो कुरा दैलेखका एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा नेपालप्रेसलाई बताए ।

यतिसम्म कि राउटे समुदायको पुरुषले पनि अन्य समुदायका युवतीसँग लसपस गरेमा, हिमचिम बढाएमा स्वीकार्दैनन् । केहीअघि एक राउटेका मुखियाको पनि अन्य महिलासँग सम्वन्ध भएको पाएपछि मुखमा ढुंगा हालेर राउटेले नै हत्या गरेका थिए ।

यी इतिहासका कुरा हुन । राउटे समूदायले नेपालको कानून मान्दैनन् । उनीहरु फिरन्ते जाती भएका कारण उनीहरु जंगलमै रमाउन खोज्छन् । आफ्नै नीति नियम र कानून मान्छन् ।

पुरुष राउटेले बस्तीमा गएका आम नागरिकलाई नमस्कार भनेर फर्काउने गरेपनि महिलाले भने नमस्कार नै फर्काउँदैनन् । अन्य जातीसँग हेलमेल गर्न, घुम्न उनीहरु कसैलाई पनि उक्त समाजले छुट दिएको छैन । गाउँमा काठका भाँडा लिएर गएको खण्डमा श्रीमान र श्रीमती जाने प्रचलन भएपनि विवाह नगरेका युवतीलाई गाउँमा जान बन्देज छ यो समाजमा ।

अझ, यो समुदायमा कोही महिलाको श्रीमान वितेको खण्डमा अर्को विहे गर्न पाईदैन । केहि दिन अघि मात्रै विवाह गरेकी १४ वर्षकी सुरमानले अव अर्को विवाह गर्न पाउँदिनन् । उनका श्रीमान शीवमानको निधन भइसकेपछि उनीहरु बसाई सरेका थिए ।

‘राउटे समुदाय गाउँमा जाँदा पहिले पैसा लिँदैन थिए । उनीहरु शहरको राजाले बनाएको नोट नलिने भन्दै अनाज ल्याउँथे । त्यो अनाज आफैंले पकाएर खाने गर्थे ।’ राउटे संरक्षणमा लामो समय काम गरेका सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा भन्छन्, ‘बाहिर पकाइएको खानेकुरा, मदिरा केहि पनि सेवन नगर्ने उनीहरुको नियम थियो । घरमै उनीहरु अनाजको जाँड बनाएर खाने गर्थे ।’

संस्थाले विगारेको समूदाय

तर पछिल्लो समयमा भने राउटे बस्तीमा विभिन्न विकृतिहरु भित्रिएका छन् । बजारमा पाईने सस्तो तथा कमसल खालको मदिरा पिउने उनीहरुको बानी लागिसकेको छ ।

बीचमा विभिन्न संघसंस्थाले राहत सहयोगको नाउँमा उनीहरुको बस्तीमा निर्वाध रुपमा प्रवेश गर्ने अवसर पाए । उनीहरुसँग तस्बिर खिचेको खण्डमा पैसादेखि जे माग्यो त्यहि दिने बानी बसाए ।

काम गरेर खाने जाती राउटेले फोटो खिचे वापत नै पैसा आउने भएपछि काम गर्न छाडे । जंगलमा काठ नपाईने गरेको गुनासो लिएर नेपालका प्रधानमन्त्रीहरुसँग भेट्न काठमाडौं गए अथवा लगियो ।

त्यति मात्रै होइन पछिल्लो समयमा राउटे बस्तीमा जाने र मस्ति गर्ने, टिकटकमा भाइरल हुने नाउँमा युवतीहरुलाई खुशी पार्ने प्रचलन आयो । राउटे युवतीसँग टिकटक बनाएकै कारण युट्युबरहरले पनि मनग्य डलर कमाए । राउटे युवतीहरुलाई भने मदिराको र पैसाको बानी लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *