मुख्यमन्त्रीको दोहोरो व्यवहार : फौजदारी सजाय पाएका मन्त्रीको संरक्षण – Nepal Press

मुख्यमन्त्रीको दोहोरो व्यवहार : फौजदारी सजाय पाएका मन्त्रीको संरक्षण

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अदालतबाट फौजदारी सजाय पाएका भौतिक पूर्वाधार विकासमन्त्री अम्मर थापालाई पदबाट नहटाएर संरक्षण गरेका छन् । उनले सरकारी कागजात किर्ते गरेको अदालतले प्रमाणित गरिसकेको छ ।

फौजदारी अभियोग प्रमाणित भैसकेको व्यक्ति उच्च सार्वजनिक पदमा बहाल रहन नमिल्ने भन्दै तत्काल मन्त्री पदको कामकाज नगर्न/नगराउन अन्तरिम आदेशको मागसहित सर्वोच्चमा गत मंगलबार रिट निवेदन दर्ता गरिएको थियो । रिटमाथी अघिल्लो आइतबार सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनलाई ३० गते छलफलका लागि बोलाएको छ । तर, सर्वोच्चको आदेश आएको एक हप्ता पुग्न लाग्दा पनि थापामाथि मुख्यमन्त्रीले कुनै एक्सन लिएका छैनन् ।

यसअघि २०७६ साल साउन ३० गते सोही मन्त्रालयका मन्त्री खड्क खत्रीलाई उनले बर्खास्त गरेका थिए । नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेको तीन दिनमा कालिकोट भ्रमणमा रहेको बेला नै मन्त्री खत्रीमाथि एक्सन लिएका थिए । खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको थियो । तर, मन्त्री थापालाई भने संरक्षण गरेर मुख्यमन्त्रीले द्वैध चरित्र देखाएको आरोप लागेको छ ।

नेकपा एमालेको प्रदेशसभा सदस्य खत्रीले त्यसबेला मुख्यमन्त्रीले आफू विरुद्ध षडयन्त्र गरेको बताए ।

‘मलाई पक्राउ पुर्जी जारी हुने वित्तिकै बर्खास्त गर्नु सही थिएन । म अहिले पनि संसद नै छु,’ उनले भने, ‘मैले मुख्यमन्त्री शाहीलाई मनलागी निर्णय लिनबाट रोक्ने र उनीसँग बहस गर्ने गरेको थिएँ । त्यही रिस फेर्न उनले मलाई मन्त्रीबाट निकालेका हुन् । अन्य कुनै कारण थिएन ।’

नैतिक पतन प्रमाणित भइ सर्वोच्च अदालतमा बोलाइएका मन्त्री थापा कानूनतः कुनै पनि पदका लागि योग्य नहुने भएकाले मुख्यमन्त्रीले तत्काल पदबाट हटाउनुपर्ने माओवादीकै एक सांसदले बताए ।

‘भौतिक पूर्वाधार विकास मन्त्री थापालाई त्यत्रो आरोप लागेर प्रमाणित भइसकेको कुरालाई मुख्यमन्त्री शाहीले नै नजरअन्दाज गर्नु राम्रो होइन,’ ती सांसदले भने, ‘उहाँलाई बर्खास्त गरी अर्को मन्त्री बनाऔं भनेका हौं । किन उहाँ जोगाउन लाग्नु भएको हो थाहा भएन ।’

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले अदालतले फैसला नगरेको अवस्थामा मन्त्री खत्रीलाई हटाउनु र थापालाई नहटाउनुमा मुख्यमन्त्रीको निजी स्वार्थ भएको हुनसक्ने बताए ।

‘समाचारमा आएअनुसार मन्त्री थापाको मुद्दा अर्कै हो, खत्रीको अर्के थियो,’ उनी भन्छन्, ‘बाँकी कुरा हामी सदन चलेपछि भनौंला । अहिले धेरै नबोलौं ।’


प्रतिक्रिया

One thought on “मुख्यमन्त्रीको दोहोरो व्यवहार : फौजदारी सजाय पाएका मन्त्रीको संरक्षण

  1. यो बिषयको उठान हाल आएर गर्नु गलत हो? मुद्दा हाल्नेले त्यति बेला हाल्नु पर्थ्यो जतिबेला एमालेको दैलेखमा निरन्तर सचिव भएका थिए!अनि, २०७० सालमा संविधान सभा सदस्य भएका थिए,२०७४ सालमा प्रदेश सभा सदस्य थिए! त्यति मात्र होइन ३ बर्ष सम्म समिती सभापति भएका थिए! अनि उहाँ हिजोको बिगतको कानुन अनुसार फस्नु भएको हो,त्यति बेलाको कानुनमा फौजदारी कानुनमा सजाय पाएका ब्यक्ति ५ बर्ष सम्म पदमा बस्न नपाउने र त्यसपछि कानुनले नै बस्न मिल्ने भनेको थियो! पछिल्लो कानुनले मात्र ब्रजित गरेकोछ!!! उहाँको केसमा अघिल्लो कानुन आकर्षित हुन्छ!! मुख्य मन्त्रीलाई गलत र संरक्षण गरे भन्ने हो भने टिकट दिने केपि ओलि(केन्द्रीय अध्यक्ष ) यमलाल कडेल(प्रदेश सह इन्चार्ज) ले यसको जिम्मेवारी लिनुपर्छ!! वा उनिहरु नै संरक्षक हुन!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर