‘सांसद र नागरिकको चाहनाअनुरुपकै बजेट आउँछ’ – Nepal Press
कुराकानी

‘सांसद र नागरिकको चाहनाअनुरुपकै बजेट आउँछ’

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याउने बजेटको तयारी तीव्र पारेको छ । बजेटका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रालयले सांसदहरुसँग योजना माग गरेको छ । र, मन्त्रालयले बजेटमा प्रदेशका योजना प्राथमिकीकरणको काम गरिरहेको छ । असार एक गते प्रदेशसभामा प्रस्तुत हुने बजेटबारे प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग नेपाल प्रेसका लागि शेरबहादुर थापाले गरेको कुराकानीः

बजेटको तयारी कसरी गरिरहनु भएको छ ?

अहिले हामीले मातहतका निकायहरुबाट बजेटका लागि आवश्यक कार्यक्रम माग गरिरहेका छौं । माग भएका कार्यक्रमबारे छलफल पनि भइरहेको छ । त्यस्तै अरु मन्त्रालयले तयार पारेको बजेटको सिलिङ र योजनाबारे पनि छलफल, अध्ययन भइरहेको छ ।

साथै, हामीले बजेटका प्राथमिकता पनि तोकिसकेका छौं । समग्रमा हामी बजेट कायान्वयनमुखी र नतिजा देखिने प्रकारको बनाउनेमा केन्द्रित छौं ।

बजेटका प्राथमिकता चाहिँ के–के हुन्, कसरी निर्धारण गर्नुभएको छ ?

हामीले पहिलो प्राथमिकता कोरोना महामारी र यसले निम्त्याएको समस्या समाधानलाई नियन्त्रणलाई दिएका छौं । मूलतः स्वास्थ्य क्षेत्र सबल र सदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।

दोस्रोमा हामीले बेरोजगारी समस्या समाधानलाई राखेका छौं । त्यससँगै पूर्वाधार विकास र शिक्षा क्षेत्रलाई पनि महत्व दिइनेछ ।

प्रदेशसभामा ‘प्रि–बजेट’ छलफलबिनै बजेट ल्याउँदै हुनुहुन्छ । विगतमा जस्तो सरकारले ल्याएको बजेट प्रदेशसभाले उल्ट्याइदिने त होइन ?

प्रदेशसभामा ‘प्रि–बजेट’ छलफल गर्ने अवस्था आयो भने हामी अझै तयारै छौं । सदनसँग जोडिएर काम गर्ने कुरामा कुनै समस्या छैन । अहिलेको विषम परिस्थितिलाई प्रदेशसभाले पनि बुझ्छ, बुझ्नुपर्छ ।

मलाई बजेटप्रति सांसदले गर्ने अनुभूतिबारे राम्रो ज्ञान छ । म सांसदको मनोभावना बुझ्छु । प्रदेशसभा सदस्यहरुसँगको छलफलपछि नै बजेट ल्याउने हो । त्यसैले त्यस्तो समस्या हुन्छ जस्तो लाग्दैन ।

हामी जनमुखी बजेट बनाउन चाहन्छौं । सांसदहरुका अधिकांश कुरा समेटछौं । जनताले अपेक्षा गरेका कुराभन्दा बाहिर कोही पनि जनप्रतिनिधि जान सक्दैनन् । जनताबाट निर्वाचित प्रतिनिधि नै जनताका लागि काम गर्ने भएकाले सबैको सल्लाहअनुसार नै हामी अघि बढछौं ।

बजेट कार्यान्वयनको अवस्था दयनीय हुने गरेको छ । बजेट कति प्रतिशत कार्यान्वयन गर्नुहुन्छ ?

अहिले प्रतिशत नै त नभनौं । तर कार्यान्वयनमुखी बजेट ल्याउँछौं । बजेट कायान्वयनको खाका, योजना बनाएरै बजेट ल्याउँछौं । सकेसम्म धेरै बजेट प्रभावकारी ढंगमा खर्च हुनेगरी नै बजेट ल्याउने हो ।

बजेटको सिलिङ कति जति हुन्छ ?

अहिले नै यति उति त नभनौं । तर, गत वर्षकै जस्तो ३३–३४ अर्ब हाराहारीकै बजेट आउँछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर