निषेधाज्ञाकै बीच सेयर बजारमा लगातार उछाल, के भन्छन् सरोकारवाला ? – Nepal Press

निषेधाज्ञाकै बीच सेयर बजारमा लगातार उछाल, के भन्छन् सरोकारवाला ?

काठमाडौं । निषेधाज्ञाकै बीचमा पनि पछिल्लो समय नेपालको पूँजी बजार ‘बुम’ भइरहेको छ । अन्य व्यापार-व्यवसाय ठप्प भएको वेलामा पूँजीबजार भने दैनिक नयाँ-नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ ।

शेयर बजारमा अहिले नयाँ अनुहारहरु धेरै देखिएका छन् । नयाँ र पुराना लगानीकर्ताको भिडसँगै कारोवार रकम उच्च दरले बढिरहेको छ भने नेप्से पनि उकालो यात्रामा छ । डेढ वर्ष अघिसम्म नेप्सेमा ५/६ अर्ब कारोबार रकम पुग्न पनि हम्मे हम्मे पर्थ्यो । तर, अहिले १७ अर्ब नाघेको अवस्था छ । नेप्से पनि १५ सय बिन्दूबाट २८ सय विन्दुमा पुगेको छ ।

अहिलेको सेयर बजारमा अवसरसँगै जोखिम पनि उत्तिकै रहेको शेयर विश्लेषकहरु बताउँछन् । लगानीकर्ताहरु पनि बजार आगामी दिनमा कुन दिशामा जाला भनेर अन्योलमा नै छन् ।

अहिले शेयर बजारको अहिलेको अवस्था कस्तो छ र नयाँ लगानीकर्ता कसरी सुरक्षित हुन सक्छन् भनेर हामीले केही शेयर बजार विश्लेषक तथा नियामक निकायका पदाधिकारीलाई सोधेका छौं:

सिस्टम नबसाउन्जेल जोखिम नै छ
प्रकाश तिवारी
शेयर बाजार विश्लेषक

अहिले बजार र कारोबार रकम दैनिक बढ्दै जानुमा पहिलो त अनलाइन कारोबार भएर हो । हिजोको जस्तो ब्रोकर कम्पनीमा भएका एक-दुई जना कर्माचारीबाट शेयर किनबेच गर्दा धेरै नै झण्झट वेहुर्नु पर्थ्यो । तर, अहिले त्यस्तो छैन । लाखौ लगानीकर्ताले घरमा बसेर शेयर कारोबार गर्न सक्छन् ।

अहिले नेप्सेलाई धेरै कुराले साथ दिएको छ । एकातिर अनलाइन कारोबार शुरु भयो अर्कोतिर लकडाउन भएका मानिस कोरोनाका कारण घरमा थुनिन बाध्य भए । त्यसै समयमा अन्यन्त्र लगानीको अवसर खुम्चिन पुग्यो ।

अहिले सामान्य विद्यार्थीदेखि विभिन्न पेशा-व्यापार गर्ने मानिस शेयर बजारमा छन् । शेयर बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन थाले । तर, बजार हो, सँधै बढिरहने र सँधै घटिरहने हुँदैन । अब पनि शेयर बजार कता जान्छ भन्न सकिने अवस्था छैन । किनकी लकडाउन खुल्नासाथ शेयरबजारमा भएका लगानीकर्ता विभिन्न क्षेत्रका भएकाले उनीहरु आफ्नो क्षेत्रमा फर्कन सक्छन् ।

साथै असार मसान्तमा सबै बैंक तथा वित्तीय क्षेत्रको रिपोर्ट आउँछ त्यसले पनि बजार बढ्न र घट्नमा भूमिका निर्वाह गर्छ । देशको राजनीतिक अवस्थाले पनि प्रभाव पर्छ । संसद् पुनर्स्थापना हुन्छ कि चुनाव हुन्छ भन्ने अहिले टुंगो छैन । अदालतको फैसलाले पनि शेयर बजारलाई थोरबहुत प्रभाव पार्न सक्छ । त्यसैले लकडाउन खुल्नासाथ शेयर बजार यसरी नै अघि बढ्छ कि वा केही करेक्शन हुन्छ त्यो अहिले भन्न सक्ने अवस्था रहँदैन ।

नेपालको पूँजी बजारलाई नियामक निकायले केही गरेको हस्तक्षेप अवस्था छैन् । नेप्से हेर्ने नियामक निकाय धेरै नै कमजोर देखिन्छ । नेप्सेलाई पारदर्शी तथा चुस्त-दुरुस्त बनाउनका लागि ऐन-कानून छन्, तर कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको छ । हिजो २० वर्ष अघि पनि टाठा÷बाठा लगानीकर्ताले जसरी गैह्रकानूनी ढंगले शेयरबजारबाट कमाउन सक्थे, आज पनि त्यसरी नै कमाइरहेका छन् । साथै, अहिले नयाँ लगानीकर्ताको संरक्षणका लागि नियामक निकायबाट कामै हुन सकेको छैन ।

त्यसैले अहिले नयाँ लगानीकर्ता बजार ‘बुम’ भएको अवस्थामा प्रवेश गर्दा धेरै जोखिम हुने गर्छ । शेयर बजारमा नकारात्मक क्रियकलाप गरेर आफूले अकुत कमाउने र सोझासाझा लगानीकर्तालाई फँसाउनेलाई कडाइका साथ नियामक निकायले कारवाही गर्नु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।

नेप्सेमा आउने समस्या सामधान गर्नुपर्‍यो
राधा पोख्रेल
अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ

हिजोसम्म नेपालको शेयर बजारमा १० अर्बको कारोबार होला त ? भन्ने अवस्थामा अहिले कारोबार रकम २० अर्बको नजिक पुगेको अवस्था छ । यसले पनि नेपालको पूँजीबजार दिनानुदिन ठूलो भोल्यूममा कारोबार गर्दैछ भन्ने देखाउँछ ।

शेयर बजारको प्रकृति नै बढ्ने र घट्ने भइरहन्छ । तर, हिजो सानो बजारमा जस्तो समस्या र झण्झट थियो आज बजारको दायरा बढ्दा पनि त्यो समस्या सामधान हुन सकेको छैन । भलै हिजो ब्रोकरकोमा गएर घण्टौ लाइन बसेर आइपिओ भर्नुपर्थ्यो भने आज भर्नु पर्दैन । शेयर कारोबार पनि घरबाट नै गर्न सकिन्छ ।

तर, हेर्नुस इडियस गर्न अहिले पनि राति १२ बजे उठ्नु पर्ने वाध्यता छ । अर्कोतिर टिएमएस नचलेर ब्रोकरकोमा नै गएर पैसा बुझाउनु पर्ने बाध्यता छ । बजारमा हुने अन्य चलखेलका कुरै छाडौं । यस्तो वेलामा हाम्रो देशको नियामक निकाय धितोपत्र बोर्ड भने ढुंगेयुगमा जसरी अत्यन्त सुस्त गतिमा काम गरिरहेको छ । जसरी कारोबार रकम र लगानीकर्ता बढेका छन् त्यसैगरी प्रविधिको पनि विकास गर्नु पर्ने होइन ?

अलि बढी कारोबार होस् त, टिएमएस त चल्नै पो छाड्छ । अर्कोतिर अहिले पनि बजारमा चलखेल गरेर केही टाठा/बाठा लगानीकर्ता तथा कम्पनीले नै साना लगानीकर्तालाई आफ्नो पासोमा पारिरहेको अवस्था छ । तर, नियामक निकाय मौन बसेको छ । हिजो सानो रुपमा कारोबार हुँदा पनि ब्रोकर संख्या एउटै थियो, आज कारोबार बढेर डबल\ट्रिपल भएको अवस्थामा पनि ब्रोकरको संख्या उही छ । ब्रोकर संख्या बढाउन वा बैंकलाई ब्रोकरको लाइसेन्स अझै दिन सकिएको छैन । यस्तो परस्थितिमा नियामक निकायले बजार कसरी बढ्यो भनेर अंकुश लाउनमात्र खोजेर हुँदैन । राम्रोसँग नियमन भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ।

अहिले बजार बुलिस ट्रेन्डमा भएकाले साना लगानीकर्ताले अत्यन्त चनाखो भएर मात्र लगानी गनुृपर्ने हुन्छ । सामाजिक सञ्जालका भरमा लगानी गर्ने, कुनै कम्पनीको शेयर मूल्यले सकारात्मक सर्किट हान्यो भन्दैमा लहैलहैमा कम्पनीको विश्लेषण नै नगरी लगानी गर्नु हुँदैन । यसो गरेको खण्डमा डुब्ने पक्का छ ।

नेपाली दाजुभाई जुवातास छोडेर शेयर बजारमा आएका छन्
चन्द्र सिंह साउद
निर्देशक नेप्से

अहिले विश्वभर रहेका नेपालीले जहाँबाट पनि कारोबार गर्न सक्छन् । उद्योग-व्यापार सबै बन्द भएको अवस्था छ । अन्यन्त्र कारोबार भइरहने रकम अहिले पूँजी बजारमा आएको पनि छ । साथै बैंक तथा वित्तीय संस्थाबाट सस्तो व्याजदरमा ऋण पाइरहेको अवस्था पनि छ । यसले पनि बजार बढ्नलाई सहयोग पुर्‍याएको छ ।

पछिल्लो समय बैंकको तुलनामा पूँजीबजारको प्रतिफल राम्रो भएर पनि मानिस यसमा आकर्षित भएका हुन् ।

पछिल्ला दिनमा जसरी मानिसले आइपीओमा लगानी गरे, त्यसले पनि बजारबाट राम्रो प्रतिफल पाइँदो रहेछ भन्ने भयो ।

पहिला शेयर बजारमा प्रवेश गर्नका लागि सहरका ब्रोकर कम्पनीमा मात्र निर्भर थियो । तर, अहिले अनलाइनबाट गाउँ, सहर, देश, विदेश सबै ठाउँबाट कारोबार गर्न सकिन्छ । यसले पनि शेयर कारोबारको दायरा बढाएको छ ।

यस्तै, अहिले नेपाली दाजुभाई जुवा, तास, जाँड, रक्सी छोडेर शेयर बजारमा प्रवेश गरेका छन्, यसले पनि शेयर बजारलाई बुम गर्नमा सहयोग पुर्‍याएको छ ।

यसले त बजार मात्र बुम होइन, देशलाई नै समुन्नत बनाउनेतर्फ डोर्‍याउँछ । पूँजी बजारको विगत पनि राम्रो थियो, वर्तमान पनि राम्रो छ र, भविष्य पनि राम्रो छ ।

नियामक निकायले पनि समयसापेक्ष राम्रै काम गर्दै आएको छ । अझै आफूले करेक्सन गर्नु पर्ने ठाउँमा करेक्सन गर्दै जानु पर्छ ।

धितोपत्र बोर्डले गर्नुपर्ने काम गरिरहेको छ
भिष्मराज ढुंगना
अध्यक्ष, धितोपत्र बोर्ड 

नेप्सेको नियमक निकाय धितोपत्र बोर्डले काम नगरेको भन्ने होइन । धितोपत्र बोर्डले गर्नु पर्ने काम गरिरहेको छ । यसको उदाहरण त हिजो लगानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ, त्यो हेरे पनि हुन्छ ।

हामीले प्रविधि भित्र्याउनेदेखि आफूले अनुसन्धान गर्ने कार्य पनि गरिरहेका छौं । अहिले पनि धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गर्ने लगायतका नेप्सेमा देखिएका विकृतिहरुलाई कसरी कारबाही गर्ने भनेर अनुसन्धान गरिरहेका छौं ।

हामीले कसैले भनेको भरमा कारवाही गरिहाल्न मिल्दैन । अरुले भनेकै भरमा त्यसलाई ठोकिहालुम भनेर हुँदैन । यसका लागि धेरै नै अनुसन्धान गर्नु पर्ने हुन्छ । साथै हाम्रो कानूनले पनि धितोपत्र बोर्डलाई धेरै अधिकार दिएको रहेनछ । जस्तो राष्ट्र बैंकले वित्तीय संस्थाले नकारात्मक काम गरेको पाएमा कारवाही गर्छ तर, धितोपत्र बोर्डले त्यसरी कारवाही गर्न पनि सक्दैन ।

यसमा हामीले के भेनका छौं भने इन्साइडर ट्रेडिङ गर्ने तथा अन्य क्रियाकलाप गरेर बजारलाई प्रभावित तुल्याउने मानिस छन् भने तिनीहरुलाई समात्न नसकिने होइन् । तर, त्यसका लागि सरकारले तदारुकता देखाएर ती व्यक्तिहरुको फोन ट्रेसिङ गर्ने, इन्टरनेटको माध्यमबाट गरेको रहेछ भने त्यो पत्ता लगाउने आदि कामका गर्न अनुमति दिन आवश्यक छ । यससम्बन्धमा हामीले अव कसरी अघि बढ्ने भनेर अध्ययन गरिरहेका छौं । कानून दह्रो नबनुन्जेलसम्म धितोपत्र बोर्डले केही गर्न सक्दैन ।

अहिले बजार बुम भइरहेको अवस्था छ यस्तो वेलामा साना लगानीकर्ता अत्यन्त सचेत हुन आवश्यक छ । कुनै पनि कम्पनीको शेयर किन्दा आफ्नो औकातले भ्याउने मात्र किन्नुस । अन्धाधुन्ध प्रतिफल पाइहालिन्छ भन्ने हल्लाका भरमा ऋण काढेर लगानी नगर्नुस । यदि नयाँ लगानीकर्ता हुनुहुन्छ भने कम्पनीको बारेमा सम्पूर्ण जानकारी दिएर मात्र लगानी गर्नुस । यसो गरेको खण्डमा शेयरमा डुब्नबाट बच्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *