विपक्षी गठवन्धनको आरोप : सरकारले घरमा आगो लगाएर खरानी बेच्न खोज्यो – Nepal Press

विपक्षी गठवन्धनको आरोप : सरकारले घरमा आगो लगाएर खरानी बेच्न खोज्यो

काठमाडौं । सरकारले बजेटमार्फत ढुंगा गिट्टी निकास गर्ने योजना अघि सारेकोमा विपक्षी दलहरुको गठवन्धनले विरोध जनाएको छ । गठवन्धनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्णय खारेज गर्न माग गरेका छन् ।

यो निर्णयले नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका बासिन्दाको जनजीवनलार्य जोखिमयुक्त बनाउने गठवन्धनको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो राष्ट्रघाति र जनघाति निर्णय हो । बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ ।’ सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतको दुरुपयोग गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो गरेको मन्त्रीमण्डल पुनर्गठनप्रति पनि गठवन्धनका नेताहरुले आपत्ति जनाएका छन् । संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गर्ने कार्य संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव, र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर