अक्सिजनदेखि तरकारीसम्म : निषेधाज्ञामा झन् फस्टाए यी व्यवसाय – Nepal Press

अक्सिजनदेखि तरकारीसम्म : निषेधाज्ञामा झन् फस्टाए यी व्यवसाय

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरलाई रोक्नका लागि सरकारले काठमाडौंमा निषेधाज्ञा जारी गरेको एक महिनाभन्दा बढी भयो । निषेधाज्ञामा अधिकांस उद्योगधन्दा तथा व्यापार-व्यवसाय ठप्प छन् । व्यवसायीहरु टाउकोमा हात लगाएर बसिरहेका छन् ।

तर, यही निषेधाज्ञाकै बीचमा पनि केही व्यवसाय भने मालामाल भएका छन् । उनीहरुको कारोवार र आम्दानी नियमितभन्दा बढी छ । कोरोनाले उनीहरुलाई आर्थिक लाभ भएको छ ।

निषेधाज्ञाका बीच आवतजावत ठप्प भए पनि मानिसहरुले खाने, लगाउने तथा बिरामी पर्दा स्वास्थ्यउपचार त गर्नैपर्छ । सरकारले निषेधाज्ञामा पनि अत्यावश्यक वस्तुहरुको आपूर्ति गर्न अनुमति दिएको छ । साथै कोरोना र यसको उपचारका वस्तुहरुसँग जोडिएका उत्पादनहरुको माग र खपत बढिरहेको छ ।

दैनिक उपभोग्य बस्तुको आपूर्तिका लागि पसल र सुपरमार्केट र मार्केट बन्द भएपनि अनलाइन व्यापार चालु छ । खाद्यान्न, औषधि पसल, मासु पसल, फलफुल तथा तरकारीको व्यापार निरन्तर भइनैरहेको छ । त्यसैले यी व्यवसायमा लागेकाहरुलाई निषेधाज्ञाले केही फरक परेको छैन ।

इ-कमर्श

लकडाउनले बजार ठप्प हुँदा अनलाइन व्यापारले फस्टाउने मौका पाएको छ । नेपालमा पछिल्लो समय अनलाइनबाट सामान खरिद गर्नेहरु उपभोक्ताहरु उल्लेख्यरुपमा थपिएका छन् । अनलाइन व्यापार सञ्चालन गर्नेहरुले बन्दको समयमा पनि उपभोक्ताको रोजाइ अनुसारको सामान होम डेलिभरी नै गरिदिएर पैसा कमाइरहेका छन् ।

रोल्लिङ बजारका प्रमूख अनुप जङ्गमले अनलाइन व्यापारमा पछिल्लो समय आकर्षण बढेको बताए । पसलहरु बन्द भएपछि अनलाइनमा ग्राहक वृद्धि भएको उनको भनाइ छ ।

जंगमले भने, ‘अनलाइनमा आएका अडरहरु पुर्याउनै नभ्याउने अवस्था आएको छ ।’

हो, उपभोक्ता घर बसी बसेर सामान अर्डर गर्न बानी पर्दै गएका छन् । तर अहिले घरमा सामान होम डेलिभर गर्न जानका लागि केही समस्या छन् । जिल्ला प्रशासन कार्यालयले पास दिएको छैन । अफिसको कार्ड प्रयोग गरेर सामान डेलिभरी गर्दा समस्या रहेको छ ।

अक्सिजन ग्यास

कोरोनाको दोस्रो लहर आउनुभन्दा पहिले नेपालमा अक्सिजनको माग सामान्य थियो । तर, जब महामारी उत्कर्षमा पुग्यो, थेग्नै नसक्ने गरी माग बढ्यो ।

विगतमा उत्पादन भएको करिब ३० प्रतिशत मात्रै अक्सिजन उपचारको लागि प्रयोग हुने गरेकोमा अक्सिजन दिनुपर्ने कोरोनाका बिरामी बढ्न थाले । त्यससँगै अस्पतालहरुमा अक्सिजन हाहाकार नै भयो । व्यवसायीहरुलाई माग धान्न गाह्रो पर्यो ।

एभरेष्ट अक्सिजन उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले कोरोनाले अक्सिजनको माग निकै बढेको बताए ।

घिमिरेले भने, ‘कोरोना महामारीमा अक्सिजनको व्यापारभन्दा पनि सेवा जस्तै गरी काम गरीयो । नेपालमा अक्सिजन उद्योग सुरु भएको करिब ३० वर्षपछि बजारमा यति धेरै माग भएको हो ।’

जीवन रक्षाको महत्वपूर्ण बस्तु भएकोले आफूहरुले यसलाई सेवाका रुपमा लिएको उनको भनाइ छ । घिमिरेले ७ हजार ५० वटा अक्सिजन सिलिन्डर र ५ हजार अक्सिजन व्याग चीनबाट नेपाल ल्याएर बिक्री गरका थिए ।

नेपालमा १.५, ६.५ र ७ क्यूभी लिटर अक्सिजन प्रयोग हुने गरेको छ । १.५ क्यूभी अक्सिजनको ग्याससहित करिब ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पर्छ । यसमा अक्सिजनको मूल्य भने २५० रुपैयाँ मात्रै हो । सात ७ क्यूभी लिटर अक्सिजनको सिलिन्डरसहित १४ हजारमा बिक्री गरिरहको एक उद्योगीले बताए । खाली सिलिन्डर फिर्ता गरेपछि अक्सिजनको पैसा काटेर अरु पैसा बिक्रेताले फिर्ता दिन्छन् ।

तरकारी तथा फलफूल बजार

तरकारी तथा फलफूलको बिक्री पनि निषेधाज्ञामा निरन्तर भइरहेको छ । सरकारले किराना पसल केही समय बन्द गर्दा पनि तरकारीको होलसेल भने विहान १० बजेसम्म सञ्चालन गर्न दिएको थियो ।

दैनिक प्रयोग हुने तरकारी तथा फलफुलको व्यापार सन्तोषजनक भइरहेको व्यापारीहरु बताउँछन् । तरकारी दैनिक उपभोग्य बस्तु भएको कारणले व्यापार हुने नै भयो, फलफुल कोरोनाका संक्रमितहरुले शरीरको प्रतिरोध क्षमता बढाउन पनि फलफल खानुपर्ने भएकाले यसको खपत राम्रो छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समिति सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटीमा तरकारीको व्यापार ठिकै भइरहेको बताए ।

श्रेष्ठले भने, ‘सामान्य समयमा करिब ८ सय टन तरकारी तथा फलफूल कालीमाटीबाट बिक्री हुने गरेको थियो । अहिले पनि ६ सय ५० देखि ७ सय टनको हाराहारीका तरकारी तथा फलफूल बिक्री भइरहेको छ ।’

अहिले बाहिरबाट २७ प्रतिशत जति तरकारी आइरहेको छ भने ७३ प्रतिशत देशको उत्पादनले नै धानिरहेको छ । तरकारी बिक्रीमा भिडभाड काम गर्न र सहज तरिकाले विक्री गर्न विहान १ बजेदेखि नै अनुमति दिइएको छ । पहिले विहान ३ बजेबाट मात्रै कालीमाटीमा तरकारी तथा फलफूल बिक्री गर्ने व्यवस्था थियो ।

कलंकी तरकारी बजारमा तरकारी पसल सञ्चालन गरिरहेका दिनेश कार्कीले तरकारीको व्यापारमा खासै कमि नआएको बताए ।

कार्कीले भने, ‘सरकारले होलसेलमा मात्रै तरकारी बिक्री गर्ने निर्णय गरेसँगै पसलमा तरकारी किन्नेहरु पनि अहिले बजारमै नै आइरहेका छन् । ठेलाका र अन्य पसलका ग्राहकहरु पनि अहिले होलसेलमा नै तरकारी किन्न आएकाले व्यापार राम्रो भएको छ ।’

मास्क र स्वास्थ्य सामग्री

कोरोनाको वृद्धि हुँदै जाँदा माक्स र स्यानिटाइजरको प्रयोग ह्वात्तै बढेको छ । माक्स उत्पादन गरिरहेका उद्योगी दिपक मल्होत्राले उत्पादन अनुसार राम्रो बजार भएको बताए ।

उनले भने, ‘अहिले स्वास्थ्यका सामग्रीहरुको बजार राम्रो छ । अहिले पैसाभन्दा पनि सेवालाई ध्यानमा दिएर काम गर्ने समय हो । स्वास्थ्य सामग्रीको व्यापार भने राम्रो छ ।’

कोरोना महामारीको समयमा औषधिको विक्रीवितरण पनि उच्च छ । स्वास्थ्यमा थोरै समस्या आए पनि आत्तिएर मेडिकल दौडिहाल्ने धेरै छन् । पाल मेडिकलका सञ्चालक सरोज खड्काले औषधिको माग बढेको बताए ।

उनले भने, ‘कोरोनाको दोस्रो लहर सुरु भएर निषेधाज्ञा जारी हुनासाथै औषधिको माग तीव्ररुपले बढ्यो । अहिले पनि व्यापार राम्रो छ ।’

माक्स, स्यानिटाइजर, भिटामीन सि, जिङ्क्, क्याल्सियम, एन्टिबायोटिक, खोकीको औषधि अहिले सबैभन्दा धेरै बिक्री भइरहेको उनले जानकारी दिए ।

अहिले बजारमा सिटामोलको केही कमीजस्तो भए पनि अन्य औषधि अभाव छैन ।’

किराना पसल

सरकारले एक साताको लागि किराना पसल बन्द गरे पनि अरु बेला निरन्तर खुलिरहेका छन् । किराना पसलहरुको ब्यापार पनि राम्रो छ ।

निषेधाज्ञाको घोषणासँगै मानिसहरु खाद्यान्नको जोहो गर्नतिर लागेका थिए । त्यसबेला केही दिन विक्री निकै उच्च रह्यो । फेरि सरकारले एक साता बन्द गर्ने भनेपछि किराना पसलमा फेरि भिड लाग्यो । त्यसबेला व्यवसायीले राम्रै आम्दानी गरे ।

दैनिक उपभोग्य बस्तु भएकाले अन्य व्यवसाय बन्द भएको समयमा पनि किराना पसलको व्यापार ठिकै रहेको खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बताए ।

उनले भने, ‘सरकारले किराना पसल बन्द गराउनुभन्दा एक दिनअगाडि पनि ५ गुणासम्म बढी व्यापार भएको थियो । अहिले खुलेपछि पनि उपभोक्ताको घरमा दैनिक उपभोग्य बस्तु सकिएर होला, राम्रो छ ।’

निषेधाज्ञाको समयमा मासु र दुध लगायतका बस्तुको नियमित बिक्री भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर