मन्त्री बनेलगत्तै राजेन्द्र महतो विवादमा, ‘बहुल राष्ट्र’को अभिव्यक्तिप्रति एमाले नेताहरूकै आपत्ति – Nepal Press

मन्त्री बनेलगत्तै राजेन्द्र महतो विवादमा, ‘बहुल राष्ट्र’को अभिव्यक्तिप्रति एमाले नेताहरूकै आपत्ति

काठमाडौं । उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा तानिएका छन् । हिजो पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए ।

महतोले भनेका थिए, ‘हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं । सरकारमा आउने निर्णय त्यसैका लागि हो ।’

सत्तारुढ दल एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोको सो अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् ।

गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु ।’

उनले नेपाल एउटा मात्रै राष्ट्र भएको भन्दै महतोले भनेको कथित आन्दोलनले नेपाललाई विघटन गर्ने मनसाय राखेका उल्लेख गरेका छन् ।

‘नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनविज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

एमालेका युवा नेता योगेश भट्टराईले पनि फेसबुक स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

भट्टराई लेख्छन्, ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’

आज एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट जिल्ला पदाधिकारीसँगको भर्चुअल वैठकमा यो विषय उप्काएका थिए । उनले सम्वोधनका क्रममा भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर