यी हुन् परराष्ट्रमन्त्रीको रूपमा प्रदीप ज्ञवालीका सात सफलता – Nepal Press

यी हुन् परराष्ट्रमन्त्रीको रूपमा प्रदीप ज्ञवालीका सात सफलता

काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो हेरफेरपछि बहिर्गमित मन्त्रीमध्ये सबैभन्दा धेरै सहानुभूति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाए । इमानदार, स्वच्छ छवि र बौद्धिक मन्त्रीको व्यक्तित्व बनाएका मन्त्री आउट भएको भन्दै धेरै पक्षबाट ज्ञवालीबारे सामाजिक संजालमा प्रशंसा भयो ।

परराष्ट्रमन्त्रीको रुपमा २०७४ चैत्र २ गते मन्त्रालयमा कार्यभार सम्हालेका ज्ञवाली शुक्रबार विदा हुँदा झन्डै सवा तीन बर्षको कार्यकाल मन्त्रालयमा बिताए । कोरियाली युनिफिकेसन चर्चको कार्यक्रममा सरकार सह-आयोजक हुनु, पछिल्लो समयमा नियुक्ति प्रकृयामा भएका नयाँ राजदूतहरुको परराष्ट्र मामिलाको योग्यतामा प्रश्न उठ्नु जस्ता केहि अपजश ज्ञवालीको भागमा पनि परेको छ । यद्यपि, केहि देखिने काम गरेर जस पनि उत्तिकै पाएका छन ज्ञवालीले ।

यस्ता छन् ज्ञवालीलाई श्रेय जाने सात सफलता :

चीनसँग पारवाहन सन्धिको प्रोटोकलमा हस्ताक्षरदेखि राष्ट्रपति सीको भ्रमणसम्म

नेपाल र चीन बीचमा सम्पन्न ऐतिहासिक पारवाहन सन्धिको काम भारतले लगाएको नाकाबन्दीपछि भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल (चैत ७ देखि १४) सम्म भएको ८ दिने चीनको औपचारिक भ्रमणको सिलसिलामा पारवाहन सन्धि भएको थियो ।

सन्धि भएपनि ओलीको बहिर्गमनसँगै आएका प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवा दुवैको कार्यकालमा सन्धिको प्रोटोकल सन्धि भने भएन । पुनः ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि प्रोटोकल सन्धि सन २०१९ अप्रिल २९ (२०७६ बैशाख १६ गते) मा भयो । राष्ट्रपति विद्यादेवी भन्डारीको २०७६ बैशाख ११ बाट सुरु नौ दिने औपचारिक चीन भ्रमणको सिलसिलामा राष्ट्रपति सी जिङपिङ समेतको उपस्थितिमा ग्रेट हल अफ दि पिपुलमा ज्ञवाली र चिनियाँ यातायात मन्त्री लि स्याओपिङले प्रोटोकल सन्धिमा हस्ताक्षर गरेका थिए ।

लिखित परराष्ट्र नीति सार्वजनिक

२०७७ मंसिर २१ गते नेपालको पहिलो लिखित परराष्ट्र नीति सार्वजनिक भयो । ३१ पेजको उक्त नीति कात्र्तिक ४ गते मन्त्रिपरिषद् बैठकबाट पारित भएर मंसिर २१ मा सार्वजनिक भएको थियो । पब्लिक डिप्लोमेसी, डिजिटल डिप्लोमेसी, ट्रयाक टु डिप्लोमेसी जस्ता रचनात्मक विषयहरू नेपालको परराष्ट्र नीतिमा समेटिएका छन् ।

मुलुकको सफ्ट पावर (शौम्य शक्ति) प्रवद्र्धन गर्नेदेखि अबको कूटनीतिक मूलधारमा जलवायु परिवर्तनको कुरा समेटिने सवालमा पनि परराष्ट्र नीति बोलेको छ । नेपालको प्रथम लिपिबद्ध परराष्ट्र नीति यहि हो । केहि तथ्यगत कमजोरी भएपनि पहिलो र लिपिबद्ध परराष्ट्र नीति ल्याएको श्रेय ज्ञवालीलाइ जान्छ । यस्तै, सन २०१९ अक्टोबर १२ र १३ (२०७६ असोज २५ र २६)मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो । यसको श्रेयको एक हिस्सा परराष्ट्रमन्त्रीको रुपमा प्रदीप ज्ञवालीलाइ जान्छ ।

यस्तै, सन २०२० डिसेम्बर ८ (२०७७ मंसिर २३ गते) मा नेपाल र चीनले ८८४८.८६ मिटर अग्लो सगरमाथाको नयाँ उचाइ सामूहिक रुपमा सार्वजनिक गरे । दुई देशको सीमाको सगरमाथाको उचाइ पश्चिमाहरुले दिएको मापनको अन्त्य गर्दै दुई देशले फरक–फरक समयमा नापेको उचाईलाइ गणित गरेर नयाँ उचाई पहिलोपटक सार्वजनिक भयो । यसको श्रेय पनि परराष्ट्रमन्त्रीको रुपमा ज्ञवालीलाई जान्छ ।

सगरमाथा संवाद

जलवायु परिवर्तनको सवालमा वैश्विक बहस गर्ने नेपाल सरकारको सिग्नेचर कार्यक्रम ‘सगरमाथा संवाद’ हो । सन २०२० अप्रिल २ देखि ४ (२०७६ चैत्र २० देखी २२) सम्म तय भएको सगरमाथा संवादको पहिलो संस्करण नै कोभिड–१९ ले गर्दा संचालन हुन पाएन । विश्वभरका विज्ञहरुलाइ बोलाएर नेपाल जस्तो जलवायु परिवर्तनको पीडामा भएको देश र यस्तै देशहरुको समस्या बारेमा छलफलको विश्व स्तरिय मंचको परिकल्पना र शुभारम्भ ज्ञवाली नेतृत्वमै भएको थियो । यस बारेमा बरिष्ठ पत्रकार कनकमणी दीक्षितले ट्विटरमा ज्ञवालीलाई मेन्सन गर्दै लेखेका छन, ‘सगरमाथा संवाद र अन्य योजनाद्वारा नेपालको प्रयोग नभएको शौम्य शक्ति (सफ्ट पावर) चलायमान बनाउन प्रयासरत रहनुभयो । धन्यवाद ।’ स्थगित भएको सगरमाथा संवाद आगामी अक्टोबर छेकोमा गर्ने सरकारको तयारी छ ।

चोरिएका नेपाली पुरातात्विक वस्तुहरु फिर्ता

नेपालबाट चोरिएका पुरातात्विक वस्तुहरु नेपालमा फिर्ता गर्न ज्ञवालीको कूटनीतिक सक्रियता राम्रो थियो । यसैको प्रशंसा गर्दै बरिष्ठ पत्रकार कनकमणी दीक्षितले ट्वीट गरे, ‘प्रदीप जी, जाँदाजाँदै, हिजो देखिको तपाइँको क्रियाशिलताले पाटनका पाँच मूर्ति पेरिसमा लिलाम हुनबाट बने । धन्यवाद ।’ हालसालै फ्रान्सको लिलामी गर्ने संस्था बोनह्याम्सले पाटनको तलेजु मन्दिरबाट चोरिएका पाँच प्राचिन मूर्ति लिलामीका रोखेको थियो ।

सार्वजनिक र कूटनीतिक दबाबपछि लिलामीबाट मुक्तिहरु शुक्रबार हटाइएको थियो । यस्तै, २०७७ फागुन अन्तिम सातामा अमेरिकी सरकारले नेपालबाट ३७ बर्ष अगाडि चोरी भएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाको लागि नेपाली राजदूत युवराज खतिवडालाइ हस्तान्तरण गरेको थियो ।

थप १२ देशसँग कूटनीतिक सम्बन्ध स्थापना

ज्ञवाली परराष्ट्रमन्त्री भएपछि थप १२ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ज्ञवाली आउँदा १५८ देशसँग मात्रै नेपालको कूटनीतिक सम्बन्ध थियो । उनको कार्यकालमा १७० पुगेको छ । ती १२ मुलुकहरुमा सेन्ट किट्स एन्ट नेभिस, बुरुन्डी, रुवान्डा, माडागास्कर, सुरिनाम, टोगो, इक्वेटोरियन गुइना, इस्वाटीनि, सेन्ट लुसिया, घाना, कमनवेल्थ अफ डोमिनिका र गाम्बिया छन । कार्यकालको सुरुमा सेन्ट किट्स एन्ड नेभिससँग सन २०१८ मे ३० (विसं २०७५ जेठ १६)मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो भने पछिल्लोपटक २०२१ मे २४ (२०७८ जेठ १०) गाम्बियासँग भएको थियो । रास्ट्रसंघका सबै १९३ सदस्यहरुसँग नेपालको कूटनीतिक सम्बन्ध बनाउने माइलस्टोन भने ज्ञवालीको कार्यकालमा पनि पुरा हुन पाएन ।

खोप कूटनीति

कोरोनाभाइरस महामारीको समयमा नेपालको गरेको खोप कूटनीतिले देखिने प्रगति गर्‍यो । दक्षिण एसियामा भारतपछि खोप अभियान थालनी गर्ने मुलुकमा नेपाल दोस्रो थियो । विश्वमा खोप लगाउने प्रथम चरणका ६० देशमा नेपाल पर्‍यो । भारतले १० लाख डोज खोप अनुदानमा दियो र नेपालले थप १० लाख डोज किन्न अग्रिम भुक्तानी पनि दियो । चीनले ८ लाख डोज खोप अनुदानमा सहयोग गर्‍यो ।

दोस्रो लहरमा चीनले १० लाख डोज दिएको छ । अमेरिकाले नेपाल लगायत एसियाका १६ देशलाई ७० लाख डोज खोप बाँड्ने भएको छ । एसियाका ४८ देशमध्ये १६ देशलाई दिएको खोपमा नेपाल पनि समेटिनुमा यसको निम्ती भएको कूटनीतिक पहलको जस ज्ञवालीलाई नै जान्छ । अमेरिकी सहायक विदेश सचिव वेन्डी सेरमनसँग ज्ञवालीले खोपको आग्रह गर्दै जेठ १० गते टेलिफोन संवाद गरेका थिए ।

कालापानीदेखि लिम्पीयाधुरा मिचिएको बिषयमा भारतसँग औपचारिक छलफल

नेपाल र भारतको सीमा र नयाँ नक्साको तनावका बीच ज्ञवाली तीन दिने भारत भ्रमणमा गए । २०७७ माघ १ मा गएका उनले नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमणको कुरा उठाए । सरकारी तहको बैठकमा लिपुलेक, कालापानीदेखि लिम्पियाधुरासम्मको सीमाको कुरा उठाउने ज्ञवाली प्रथम परराष्ट्रमन्त्री हुन् ।

२१ जेठको बेलुका परराष्ट्रमन्त्रीे पदबाट बाहिरिएपछि ज्ञवालीले सामाजिक संजालमा लेखे- भिन्न स्वरुपमा तपाईंहरुसँग भेट भइरहने र तपाईंहरुबाट सद्भाव प्राप्त भैरहने विश्वास लिएको छु ।


प्रतिक्रिया

One thought on “यी हुन् परराष्ट्रमन्त्रीको रूपमा प्रदीप ज्ञवालीका सात सफलता

  1. नेपालकै ईतिहासमा सबैभन्दा बढी उलेख्य काम गक्ने, आर्थिक पारदर्सिताको अनुपम उदाहरण र नेपाली वाम आन्दोलनका भाष्यकार नेता हुन प्रदीप ज्ञवाली!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर