नयाँ पार्टीबारे जिल्लाका नेतालाई माधवले भने : केही प्राविधिक कुरा छन्, तर ओलीसँग मिल्न सकिन्न – Nepal Press

नयाँ पार्टीबारे जिल्लाका नेतालाई माधवले भने : केही प्राविधिक कुरा छन्, तर ओलीसँग मिल्न सकिन्न

संसद विघटनको निर्णय फिर्ता नगरे ओलीसँग वार्ता हुन्न

काठमाडौं । एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले केपी ओली सच्चिएर आउलान् भन्ने आफूलाई विश्वास नलागेकोले चुनौती बुझेर भए पनि आफू अघि बढेको बताएका छन् ।

उनले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको भन्दै नेपालले भने, ‘मैले त निष्कर्ष निकालिसकेको छु बालुवा पेलेर तेल निस्कनेवाला छैन ।’

आफूनिकट समानान्तर जिल्ला कमिटी पदाधिकारीको जारी भर्चुअल बैठकमा नयाँ पार्टी गठनतर्फ संकेत गर्दै नेता नेपालले केही प्राविधिक उल्झन देखाएका छन् । बैठकमा सहभागी एक जिल्ला नेताका अनुसार शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सांसदको हैसियतमा सर्वोच्चमा रिट दायर गरेकाले अहिले पार्टी घोषणा गर्न सक्ने अवस्था नभएको उनले बताएका छन् ।

‘हामीले सांसदको हैसियतमा सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । हामीले अहिले पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुनेछौं’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले नेपाल प्रेससँग भने, ‘सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ । नत्र हामी घर न घाटको हुनेछौं ।’

ढिला भने गर्न नहुने भन्दै सम्बोधनको क्रममा नेपालले भने, ‘माझीहरूको सल्लाहले डुंगा पल्टेजस्तै नहोस् । मरिसकेपछि डाक्टर बोलाउनुको कुनै अर्थ हुन्न ।’

हिजो र अस्तिको केन्द्रीय कमिटी र जनसंगठनका नेताको छलफलमा ओली बेठिक भन्नेतर्फ कसैको द्विविधा नदेखिएको उल्लेख गर्दै नेता नेपालले तलबाट जस्तो ‘इन्जेक्सन’ लगाइदिनुहुन्छ आफूहरू त्यही अनुसार चल्न तयार रहेको भन्दै ढाडस दिएका छन् ।

‘ यत्रो संकट र चुनौतीमा साथ दिनुभएको छ । वागमतीमा बादललाई हराउनुभयो । लुम्बिनीमा पहिला हाम्रै नेता हुनुन्थ्यो उहाँलाई जिताउनुभयो । सबै प्रदेशमा साथीहरू आफ्नो आफ्नो भूमिका निभाइरहनुभएको छ । तपाईंहरूलाई हामीलाई भुल्न सक्दैनौं । प्रतिनिधिसभाको पुनस्थापनापछि ओलीले पटकपटक हार खेपेका छन्’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामी निष्कर्षमा पुगेपनि कार्यकर्ता निष्कर्षमा पुगेका छन् कि छैनन् जनता निष्कर्षमा पुगेका छन् कि छैनन् । त्यो बुझ्नुपर्छ । तपाईंहरूलाई छाडेर जान्नौं । उचित जिम्मेवारी दिइन्छ ।’

समानान्तर कमिटी गठनसँगै केपी ओलीसँग विद्रोहको बिगुल फुकिसकेकोले टोलटोलसम्म कमिटी बनाउन कार्यकर्ता पंक्तिलाई नेता नेपालले निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर अघि बढ्छन् भने मात्र ओलीसँग औपचारिक वार्तामा वस्न तयार रहेको नेपालले प्रष्ट्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर