मन्त्रिमण्डल पुनर्गठनप्रति माधव नेपालको टिप्पणी- ओली र भारतबीचको साँठगाँठ प्रष्ट देखियो – Nepal Press

मन्त्रिमण्डल पुनर्गठनप्रति माधव नेपालको टिप्पणी- ओली र भारतबीचको साँठगाँठ प्रष्ट देखियो

काठमाडौं । एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गरेका छन् ।

हिजो पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाए ।

‘केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्छ । हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ’, आफुनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा उनले भने ।

नेपालले सम्बोधनको क्रममा भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ इंगित गर्दै नेता नेपालले भने, ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’

कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जिकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर