मुसिकोटको मेयरका प्रतिबद्धता : के-के पूरा, के-के अधुरा ? – Nepal Press

मुसिकोटको मेयरका प्रतिबद्धता : के-के पूरा, के-के अधुरा ?

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतमले बजेट अभावमा एक घर एक खानेपानी अभियान पूरा गर्न नसकेको बताएका छन् ।

चार वर्ष बितिसक्दा पनि बजेट अभावका कारण अभियान सम्पन्न गर्न नसकेको उनले बताए । ‘पानीको स्रोत भएका सबै वडा, टोल र बस्तीमा पानीका धारा पुगेका छन् । ७५ प्रतिशत भन्दा धेरै नागरिकको घरमा धारा जडान भइसकेका छन् । बाँकी काम गर्न बजेट छैन,’ उनले नेपाल प्रेससँग भने ।

यद्यपि, आफू निर्वाचित भएपछि अधिकांश ठाउँमा बिजुली पुर्‍याएको उनको दाबी छ ।

उनले यो वर्ष वडा कार्यालय निर्माणका लागि बजेट व्यवस्थापन गरिने बताए । ‘हाल वडा नं. ७, ९, ११, १का मात्रै आफ्नै भवन छन् । बाँकी सबै भवनहरू भाडामा रहेका छन् ,’ उनी भन्छन्, ‘यो वर्षको बजेट हामी डिपीआर भइसकेका बाँकी वडा कार्यालय निर्माणका लागि विनियोजित गर्छौं,’ उनले भने ।

उनले आफ्नो कार्याकालमा वडा कार्यालय भन्दा सबै वडामा स्वास्थ्य कार्यालयका भवनहरू निर्माण गरिएको बताए । ‘कोभिड महामारीमा हामीले बजेट स्वास्थ्य संरचना निर्माणमा खर्च गरेका छौं । १४ वटै वडामा रहेका स्वास्थ्य कार्यालयका भवन निर्माण गरिएको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा भवनहरु पर्याप्त छन् । विद्यालयमा गुणस्तरीय शिक्षा दिन सहज होस भनेर ९० जना शिक्षकलाई पालिकाबाटै व्यहोर्ने गरि नियुक्ति दिइएको छ ।’

यद्यपि सामुदायिक विद्यालयमा अध्ययन गर्नेको संख्या बढाउन नसकिएको र गुणस्तरीय शिक्षा दिने व्यवस्था मिलाउन नसकिएको उनको भनाइ छ ।

‘हामीले प्रविधिमैत्री शिक्षा दिन सकेका छैनौं । प्रविधिको प्रयोग गर्न जान्ने शिक्षकहरूको अभाव पालिकामा छ । नेट इन्टरनेटमा सबैको पहुँच पुर्‍याउन सकिएको छैन,’ उनले भने ।

कोभिड महामारीमा रोजगारी

उनले कोरोनाको महामारी भइरहेको समयमा पनि रोजगारीका अवसर सिर्जना गरिएको बताए । ‘सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरेर अहिले पनि रोजगारीका काम भइहेका छन् । गोरेटो बाटो बनाउने, अन्य विकास निर्माणका काम गरिरहेका छौं,’ उनले भने ।

पर्यटकीय क्षेत्रमा पनि लदगानी गरिएको बताउँदै मेयर भन्छन्, ‘मुसिकोट दरबार निर्माण भएको छ । यसबाट वार्षिक डेढ लाख भन्दा बढी राजश्व संकलन भइरहेको छ । डिग्रे शाही कुमारी मन्दिरको विकास गरिरहेका छौं । वडा नं. ७ को ठूली दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेका छौं ।’

उनले नगरपालिकाले चाहेर पनि गर्न नसकिएको बसपार्क निर्माण रहेको बताए । बसपार्कका लागि एअरपोर्ट नजिकै जग्गा भएपनि विविध कारणले बसपार्क निर्माण गर्न नसकिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर