बहिर्गमित मन्त्री भन्छन् : प्रधानमन्त्रीले संकेत दिनुभएको थियो, केही गुनासो छैन – Nepal Press

बहिर्गमित मन्त्री भन्छन् : प्रधानमन्त्रीले संकेत दिनुभएको थियो, केही गुनासो छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् पुनर्गठन गर्दा १३ जना बहालबाला मन्त्री बहिर्गमनमा परेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउँदा प्रधानमन्त्रीकै विश्वासपात्र समेत सरकारबाट बाहिरिनुपरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मन्त्रीपरिषदबाट निस्कने हाइप्रोफाइल नाम हुन् । बहिर्गमित अन्य मन्त्रीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ छन् ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोको पनि पद गएको छ । तीन राज्यमन्त्री नवराज रावत, रामवीर मानन्धर र विमला विकले पनि सरकारबाट बाहिरिनु परेको छ ।

प्रधानमन्त्री ओलीले बिहिबारकाे मन्त्रीपरिषद्‌ बैठकमा ‘धेरै मन्त्री विदा हुनुपर्ने’ बताएकाले धेरै मन्त्रीले ‘माइन्ड मेकअप’ गरेरै बसेका थिए । नेपाल प्रेससँगको कुराकानीमा उनीहरूले मन्त्री पद गुमाउनुपर्दा गुनासो नरहेको बताएका छन् ।

जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफैं हटेको हुँ : हृदयेश त्रिपाठी

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका हृदयेश त्रिपाठीले आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताए । नेपाल प्रेससँग कुराकानी गर्दै उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको स्पष्ट पारे । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’

ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । उनीहरु दुवै आफूभन्दा जुनियर रहेको त्रिपाठीको संकेछ छ । उनले नयाँ बनेको मन्त्रीपरिषद्लाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

छाति फुलाएर निस्केकी छु : पद्मा अर्याल

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रुपमा २ वर्ष, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका रुपमा ४ महिना र हाल कृषि तथा पशुपन्छी मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी पद्मा अर्याल यसपाली बहिर्गमनमा परिन् । उनले आफू बाहिरिने कुराको पूर्वजानकारी पाएकाे बताएकी छन् ।

अर्यालले भनिन्, ‘म यसै पनि लामो समय नै विभिन्न मन्त्रालयको जिम्मेवारीमा बसेँ । अरुलाई पनि मौका दिनुपर्छ भन्ने मैले सोचेकी थिएँ, त्यस्तै भयो ।’

काम गर्न नसकेकोका कारणले हटाइएको हो कि भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यस्तो होइन । अहिले कुनै पनि मन्त्रीलाई अयोग्य भनेर हटाइएको होइन । झन् मेरो हकमा भन्नुपर्दा त अनुहार खुम्च्याएर मन्त्रीको जिम्मेवारीमा छिरेकीँ थिए । तर अहिले छाती फुलाएर बाहिर निस्किन पाएको छु । एकदमै खुसी छु ।’

भागबण्डाले गर्दा बाहिरिनुपर्‍यो  : डा. शिवमाया तुम्बाहाम्फे

सुरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेर पछि भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेकी डा. शिवमाया तुम्बाहाम्फेले भागबण्डाका कारण आफुले मन्त्रीमा निरन्तरता पाउन नसकेको प्रतिक्रिया दिइन् ।

उनले पनि आफू बाहिरिने पूर्वजानकारी पाएको बताउदै भनिन्, ‘प्रधानमन्त्रीले सबै मन्त्रीलाई मानसिक रुपमा तयार हुन बिहीबारको बैठकमा नै भनिसक्नुभएको थियो । त्यसै अनुसार हामी तयार थियौ । जसमा म पनि बाहिरिनेमा परेँ ।’

९ महिना कानून मन्त्रालय र ४ महिना भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आएर धेरै काम गर्न सकेको उनले बताइन । तपाईं मन्त्रीबाट हटेपछि एक जना महिलाको सहभागिता घट्यो नि भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘नेपालमा महिलाको सहभागिता भनेको त संविधान र कानुनमा मात्र अटाउने हो । व्यवहारमा लागू हुन मुस्किल नै छ ।’

प्रधानमन्त्रीले चाहेमा फेरि फर्किन सक्छु : प्रेम आले

मन्त्री बनेदेखि नै विभिन्न कारणले चर्चामा आएका वन तथा वातावरण मन्त्री प्रेम आलेले पनि आफू हट्नेबारे पूर्व जानकारी पाइसकेको बताए । उनले भने, ‘अस्ति नै थाहा पाइसकेका थियौ हामी सबैले । तर को रहने को हट्ने भन्ने एकिन थिएन । हामीमध्ये कोही न कोही त हट्छौं भन्ने लागेको थियो । त्यसमा म पनि परेँ ।’

तपाईंको निकै चर्चा थियो, तर किन प्रधानमन्त्रीले निरन्तरता दिनुभएन होला भन्ने प्रश्नमा आलेले भने, ‘अहिले राम्रो काम भन्दा पनि अर्को पार्टीलाई सरकारमा सहभागी भएपछि मिलाउनका लागि यसो गरिएको हो । फेरि सबै मन्त्रालको जिम्मेवारी पनि दिइसकिएको छैन । अझै प्रधानमन्त्रीले चाहेमा फर्किन पनि सकिन्छ ।’

आफैंले छोड्छु भनेकी हुँ : जुलीकुमारी महतो

रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त हुँदा उनकी पत्नी जुलीकुमारी महतो सरकारबाट बाहिरिएकी छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महतोले आफ्नै इच्छाअनुसार हटेको बताइन् । प्रधानमन्त्रीले आफूलाई निरन्तरता दिने बताए पनि आफैंले हट्छु् भनेको उनको दावी छ ।

उनले भनिन्, ‘बिहिबारकै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी सरकारमा सहभागि हुदैँछ भनेर जानकारी गराउनुभएको थियो । उनीहरुलाई मिलाउनका लागि कतिपय साथीहरुले बिदाइ लिनुपर्ने हुन्छ, सबै तयार भएर बस्नुहोला भनेर भन्नुभएको थियो ।’

आफूले मन्त्रालयमा राम्रो काम गरेको उनले बताइन् । साढे ५ महिनामा दुई पटक सपथ लिने मौका पाएको भन्दै उनले आफ्नो क्षेत्रमा गर्न सक्ने सबै काम गरेको उल्लेख गरिन् । ‘म आफ्नो कामबाट सन्तुष्ट नै छु । मलाई प्रधानमन्त्रीले पनि तपाईं दोहोरिनुपर्छ भन्नुभएको थियो, तर म आफैले नबस्ने भनेको हो ।’ श्रीमान र श्रीमती दुवैजना मन्त्रीपरिषदमा बस्दा नराम्रो सन्देश जाने भएकाले आफू बाहिरिएको उनले संकेत गरिन् ।

निवासमै थिए, समाचार हेरेर थाहा पाएँ : बिमला विक

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकले भने आफु पदमुक्त भएको आधिकारीक जानकारी पाएकी छैनन् । उनले विभिन्न सञ्चारमाध्यममा आएका समाचार हेरेर आफु पदमुक्त भएको जानकारी पाएको नेपाल प्रेससँग बताईन् । ‘नयाँ मन्त्रीको सूचीमा मेरो नाम देखिन मैले । नाम नआएपछि हटेको त होला नि ।’ उनले भनिन् ।

मन्त्रालयमा कोरोना संक्रमण धेरै जनालाई देखिएपछि उनी मन्त्रालय नआएको एक साता बितिसकेको छ । अब उनी मन्त्रालय नगएर मन्त्री निवास पुल्चोकबाट सिधै आफ्नो घर फर्किनेछिन् । उनले भनिन्, ‘मन्त्रालयलमा धेरैलाई कोभिड भएका कारणले म एक हप्तादेखि मन्त्रालयमा गएको छैन ।’

आफु किन राज्यमन्त्रीबाट हटेँ भन्ने प्रश्नको जवाफ आफुसँग नभएको उनले बताइन । विकले भनिन्, ‘मलाई प्रधानमन्त्रीज्यूले नै राज्यमन्त्री नियुक्त गर्नुभएको हो । केही समय काम गर्ने मौका दिनुभयो र अहिले पदमुक्त गर्नुभयो । यसमा मेरो केही पनि प्रतिक्रिया छैन ।’

मन्त्री रहनु र हट्नुमा के फरक छ र ? : रामवीर मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भने सरकारबाट हट्नुपरेकोमा केही असन्तुष्ट देखिए । मन्त्रीमण्डल विस्तार हुदैँ गर्दा उनी घरमै थिए । उनले आफू पदमुक्त भएको विषयमा औपचारिक जानकारी नै नभएको बताए । उनले भने, ‘अहिले मन्त्री रहनु र हट्नुमा के फरक छ ? कुरा एउटै होइन र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर