तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी – Nepal Press

तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड-१९ संक्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।

आगामी असोजमा आउन सक्ने भनिएको तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए ।

फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जानकारी दिए । जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको उनले बताए ।

मन्त्री त्रिपाठीले यही जेठ ५ गते नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको सशस्त्र प्रहरीले हत्या गरेको बताए । उक्त घटनामा सशस्त्र प्रहरीको ज्यादती र गैरजिम्मेवारपन देखिएको बताए ।

सुस्ता गाउँपालिका–५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतकको घरमा पुगी पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिएका थिए ।

आइसीयू उद्घाटन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले आइसीयू कक्ष निर्माण गरेको छ । जिल्लामा आइसीयू कक्ष नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवनलगायतका स्थानमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै रोटरी क्लबले चार शय्याको आइसीयू कक्ष स्थापना गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिए ।

रोटरी क्लबका सदस्यहरुले व्यक्तिगत सहयोगबाट निर्माण गरेको आइसीयू सञ्चालनपछि जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज हुने आइसीयू कक्ष निर्माण संयोजक वीरेन्द्र अग्रहरीले विश्वास व्यक्त गरे । नवनिर्मित आइसीयू कक्ष आजै अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित आइसीयू कक्षको आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गरे । मन्त्री त्रिपाठीले कोभिड-१९ को संक्रमणबाट जिल्लाबासीलाई जोगाउन उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट, एचडीयू सेवा, भेन्टिलेटरसहितको आइसीयू कक्ष स्थापनाका लागि रकम पठाउनुका साथै पीसीआर मेसिन पनि आफूले मन्त्रालयबाट पठाएको जानकारी दिए ।

यद्यपि उनले अस्पताल व्यवस्थापन पक्षले पीसीआर मेसिन पठाएको एक महिना बितिसक्दा पनि जडान गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनले तत्काल पीसीआर मेसिन जडान गरी सञ्चालनमा नल्याए अन्यत्र पठाउने चेतावनी दिए ।

मन्त्री त्रिपाठीका अनुसार अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड, एचडीयू सेवाका लागि एक करोड नौ लाख ७५ हजार, भेन्टिलेटरसहितको आइसीयू कक्षका लागि तीन करोड तथा एक थान पीसीआर मेसिन उपलब्ध गराइएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले पूर्वाधार अभावका कारण पीसीआर मेसिन समयमै सञ्चालन गर्न नसकेको तर अब छिटो सञ्चालनमा ल्याउने गरी काम अघि बढेको बताए । उनले एचडीयू र अक्सिजन प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर