नेपालमा मौलाउँदै अवैध अनलाइन क्यासिनो, नियामक निकाय बेखबर – Nepal Press

नेपालमा मौलाउँदै अवैध अनलाइन क्यासिनो, नियामक निकाय बेखबर

काठमाडौं । इन्टरनेट प्रयोगकर्ता बढेसँगै नेपालमा यससँग सम्बन्धित अवैध गतिविधि पनि बढ्दो छ । कानूनले वर्जित गरेका सट्टेबाजी, ग्याम्ब्लिङ, अनलाइन क्यासिनो लगायतका धन्दाहरू खुलेआम मौलाइरहेका छन् । त्यसमाथि सरकार र प्रशासनको उदासहीनताले यसलाई अझ बढावा दिएका छन् ।

सट्टेबाजी, ग्याम्ब्लिङसँगै पछिल्लो सयम अनलाइन क्यासिनोसमेत मौलाउन थालेको पाइएको छ । ‘रूपी बेट’ नामक एक कम्पनीले अहिले नेपालमा अवैधरूपमा अनलाइन क्यासिनो चलाइरहेको छ ।

‘रूपी बेट’ ले ‘लोकल पेमेन्ट एजेन्ट’ राखेर ‘पियर टू पियर’ ट्रान्सफरमार्फत् डिजिटल वालेट र ठूल्ठूला बैंकमार्फत् नै यसको यसको धन्दा चलाइरहेको सूचना नेपाल प्रेसलाई जानकारी प्राप्त भएको छ ।

‘सन् २०१६ देखि नै रूपी बेटले नेपालमा अनलाइन क्यासिना चलाइरहेको थियो,’ स्रोतले भन्यो, ‘तर, सीमित मात्रै प्रयोगकर्ता थिए । पछिल्लो समय अन्य कम्पनीहरूले खुलेआम विज्ञापन गर्न थालेपछि यो कम्पनी पनि बाहिर आएको हो ।’

नेपाली नागरिकका लागि क्यासिनो खेल्न र सट्टेबाजी गर्न पूर्णरूपमा प्रतिबन्ध छ । तर, इन्टरनेट प्रयोगमाथि नियामकको उदासीनताले यो प्रतिबन्ध कागजमा मात्रै सीमित बनाइदिएको छ । ‘पिटूपी’ माध्यमबाट पैसा जम्मा र झिक्नसमेत मिल्ने भएकोले के प्रयोजनका लागि रकम कारोबार भइरहेको छ भन्ने पत्ता लगाउन गाह्रो हुने स्रोतले बतायो ।

‘धेरै कम्पनीहरूले नेपालमै एजेन्ट बनाउँछन् । र, नेपालमै उपलब्ध डिजिटल वालेटको प्रयोग गरेर आर्थिक कारोबार गर्छन्,’ स्रोतले भन्यो, ‘एजेन्टले पहिले नै हुन्डी गरेर कम्पनीलाई पैसा पठाइसकेका हुन्छन् । र, सोही रकम बराबरको डिपोजिट/विथड्र गर्छन् ।’

नेपालमा सट्टेबाजी कम्पनीहरूले जस्तै ‘रूपी अनलाइन क्यासिना’ले पनि नेपालबाट दिनहुँ करोडौं रूपैयाँ बाहिर लगिरहेको यसबाट स्पष्ट हुन्छ ।

इ-सेवा, कुमारी बैंक, लक्ष्मी बैंक र सनराइज बैंकको प्रयोग

नेपालमा पाँच वर्षभन्दा अगाडिदेखि अवैध क्यासिनो चलाइरहेको ‘रूपी बेट’ले नेपालकै डिजिटल वालेट बैंकको प्रयोग गरिरहेको पाइएको छ । अनलाइन क्यासिनोको धन्दा चलाइरहेको यो कम्पनीले स्थानीय भुक्तानीका लागि वेबसाइटमै इ-सेवा, कुमारी बैंक, लक्ष्मी बैंक र सनराइज बैंकलाई पेमेन्ट प्लेटफर्म सेग्मेन्टमै राखेर कारोबार गरिरहेको छ ।

नेपाली मुद्रा भारूमा डिपोजिट

‘रूपी बेट’ले नेपालकै बैंकबाट कारोबार गरिरहेको र नेपाललाई नै आफ्नो बजार बनाइरहे पनि क्यासिनो र अनलाइन गेममा भने भारतीय रूपैयाँमा कारोबार गरिरहेको छ । नेपालबाट एजेन्टलाई नेपाली मुद्रामा पैसा पठाए पनि आफ्नौ ‘रूपी बेट’को गेमिङ अकाउन्टमा भने भारतीय रूपैयाँ डिपोजिट हुने र त्यसैमार्फत् अनलाइन क्यासिनो र अनलाइन गेम खेलाउने गरेको देखिन्छ ।

‘पीटूपी’ को माध्यमबाट कारोबार

पाँच वर्षदेखि नेपालमा अवैध धन्दा चलाइरहेको ‘रूपी बेट’ले सरोकारवाला निकायको आँखामा छारो हाल्न ‘पीटुपी’ माध्यमबाट डिपोजिट र विथड्र गर्ने गरेको देखिन्छ । ‘एजेन्टले लोकल पेमेन्ट प्लेटफर्महरू- इ-सेवा र बैंकको प्रयोग गरेर कारोबार गर्छन्,’ स्रोतले भन्यो, ‘यसो हुँदा सरोकारवालाले के प्रयोजनका लागि कारोबार भएको भन्ने थाहा पाउँदैन ।’

‘रूपी बेट’को वेबसाइटमै प्लेटफर्ममा उपलब्ध बैंकमा पैसा डिपोजिट गरेर भौचरको फोटो अपलोड गरेपछि प्लेयर्स-गेमिङ अकाउन्टमा डिपोजिट हुने र त्यो सेवा २४ घण्टा सातै दिन उपलब्ध हुने बताइएको छ ।

अवैध कारोबारबारे राष्ट्र बैङ्क बेखबर 

‘रूपी बेट’ मा भइरहेको यो अवैध कारोबारबारे राष्ट्र बैङ्कलाई भने थाहै नभएको प्रवक्ता देवकुमार ढकाल बताउँछन् । ‘कसैको खाताबाट असामान्य कारोबार भएको देखियो भने सम्बन्धित बैंक तथा सेवा प्रदायकले राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने हो,’ ढकालले नेपाल प्रेससँग भने, ‘कानूनले वर्जित गरेको कार्य तथा प्रयोजनका लागि कुनै पनि प्लेटफर्मको प्रयोग गरेर कारोबार गर्न पाइँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर