माधव पक्षको बैठक आज पनि, जेठ २ मा फर्किँदैमा एकता हुने वा नहुनेमा दुईखाले मत – Nepal Press

माधव पक्षको बैठक आज पनि, जेठ २ मा फर्किँदैमा एकता हुने वा नहुनेमा दुईखाले मत

काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका केन्द्रीय सदस्यहर”को बैठक आज पनि जारी छ । बिहान ११ बजेबाट शुरू बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ ।

बैठकमा प्रष्ट रूपमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो समूहका बटमलाइन सुनाउने सम्भावना छ । माधव नेपालको पक्षमा सधैँ खडा हुँदै आएका नेताहरुले २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने विचार व्यक्त गरेका छन् ।
त्यो विचारको नेतृत्व भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडाजस्ता नेताहरूले गरिरहेका छन् ।

अर्कोतिर विशेषगरी माधव नेपालसँग नवौं महाधिवेशनबाट जोडिएका नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ । यो विचारमा गोकर्ण विष्ट पनि सहमत छन् । आजको बैठकमा विष्टले पनि बोल्दैछन् ।

पार्टी एकताको लागि प्रयत्न गरिरहेका नेता ठाकुर गैरेले जेठ २ को विन्दूबाट पार्टीका सबै संरचनाहरुलाई अघि बढाएपछि सबै समस्याहरु आफैं समाधान हुँदै जाने र पार्टी एकढीक्का रहने बताए । उनले वैठकमा कसैले पनि एकताको विरोध नगरेको दावी गरे ।

एकता वा विद्रोह जे गर्ने हो तत्कालै गर्न नेपालमाथि दबाब छ । धेरै सदस्यहरुले जे २ मा फर्किने भनेर ओलीबाट फेरि छलछाम र धोखा हुने आशंका गरेका छन् । ओलीले एकतर्फी रुपमा जेठ २ मा फर्किएको घोषणा गरे आफ्नो समूहको धारणा के हुने ? भन्ने प्रश्न पनि बैठकमा उठेको छ ।

बैठकमा ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको नेता झपट रावलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर