बन्ला त ओलीविरुद्ध चुनावी महागठबन्धन ? – Nepal Press

बन्ला त ओलीविरुद्ध चुनावी महागठबन्धन ?

काठमाडौं । सरकार र राष्ट्रपति कार्यालयविरुद्ध राजनीतिक र न्यायिक प्रतिवादको उद्घोष गरेको विपक्षी गठबन्धनलाई कतिपयले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ‘महागठबन्धन’ का रुपमा बुझ्ने गरेका छन् । यद्यपि यो महागठबन्धन आगामि निर्वाचनसम्म रहने निश्चित भने भइसकेको छैन । गठनबन्धमा रहेका दलहरुको आ-आफ्नै स्वार्थ र सरोकारका कारण तत्कालीन कार्यदिशा मिलेपनि दीर्घकालीन सहकार्य हुनेमा शंका छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको समूह विपक्षी गठबन्धनमा आबद्ध छन् । विपक्षी गठबन्धनको गत जेठ ७ गतेको संयुक्त वक्तव्यमा ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने संवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्द एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’, उल्लेख छ । गठबन्धनका तर्फबाट गत जेठ १६ मा जारी दोस्रो वक्तव्यमा अध्यादेशबाट बजेट ल्याउने सरकारी कदमको विरोध गर्नुका साथै संविधान र लोकतन्त्रको पक्षमा सशक्त किसिमले आवाज उठाउन आह्वान गर्ने उल्लेख छ ।

बन्ला त चुनावी महागठबन्धन ?

विपक्षी गठबन्धनका एकाध बाहेक बैठक बसिसकेका छैनन् । ती बैठकमा दीर्घकालीन भन्दा तत्कालीन रणनीतिबारे छलफल हुँदै आएको छ । कांग्रेसभित्र संविधान र लोकतन्त्रका निम्तिमात्रै अन्य दलसंग सहकार्य गर्नुपर्ने मत बलियो छ । यद्यपि नेकपा विभाजन र केही नेताले पार्टी छाडेपछि माओवादी नेताहरु हच्किएका छन् ।

एमाले र जसपाको विभाजन सन्निकट भएकाले ती दलका नेताहरु पनि आगामि चुनावसम्मै सहकार्यको पक्षमा छन् । प्रधानमन्त्री ओली र जसपाको महन्थ ठाकुर नेतृत्वको समूहबीच सत्तासहितको सहकार्य निश्चित भइसकेकोले चुनावी गठबन्धनको सम्भावना पनि बढ्दो छ । यहीकारण ओली-ठाकुर गठबन्धनविरुद्द दीर्घकालीन मोर्चा बनाउन माओवादी र जसपाको यादव समूह चाहन्छ । कांग्रेस भने कम्युनिष्ट मत विभाजित रहेको अवस्थामा एक्लै चुनाव लड्नु नै उपलब्धीपूर्ण हुने आँकलनमा छ । यद्यपि चुनवामा ओली-ठाकुर गठबन्धन भए मधेशका अधिकांश क्षेत्रमा कांग्रेसलाई असहज हुने देखिन्छ ।

कांग्रेसभित्र विगतमा माओवादी र तत्कालीन राजपासंग एकता गर्दाको तीतो अनुभव छ । कांग्रेसका अधिकांश कार्यकर्ताहरु चुनावी गठबन्धनको विपक्षमा छन् । पुस ५ पछि आन्दोलनका अधिकांश मञ्चमा कांग्रेसका शीर्ष नेताहरुले ‘दुवै खाले कम्युनिष्टसंग सहकार्य नगर्ने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए । यिनै विविध कारणले कांग्रेस संसद पुनःस्थापना र आफ्नो नेतृत्वमा सरकार गठनका लागि मात्रै गठबन्धनको पक्षमा छ । प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसभित्र टिकटका आकांक्षी रहने र गठबन्धनमा जाँदा अन्तर्घातको शिकार भई अझ बढी क्षति हुनसक्ने दावी पनि केही कांग्रेस नेता गर्छन् । यद्यपि राजनीतिक र कानुनी प्रतिवादका दौरान सफलता हात परे विपक्षी गठबन्धन नै चुनावी महागठबन्धन बन्नसक्ने सम्भावना यथावत छ ।

के भन्छन् नेताहरु ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विपक्षी दलहरुबीच लोकतन्त्र र संविधान जोगाउन सहकार्य भएको बताउँछन् । चुनावी गठबन्धनबारे छलफल नभएको भन्दै नेता पौडेलले प्रतिगमनबाट संविधान जोगाउने एजेण्डा नै अहिले प्रधान भएको बताउँछन् । ‘पहिला प्रतिगमनबाट मुलुक जोगाउने हो । संविधान र परिवर्तन जोगाउन हाम्रा बीचमा अहिले सहकार्य भएको छ । चुनावका बारेमा अहिले भन्नुको अर्थ छैन, लोकतन्त्र बचाउन सके चुनाव त हुँदैगर्छ नि’, पौडेलले नेपाल प्रेससंग भने । उनले नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति भएकोले चुनावी गठबन्धन गरेर भन्दा लोकतन्त्रको एजेण्डाबाटै मुलुक अगाडि बढाउन चाहेको बताए ।

नेकपा एमालेका नेता भीम रावल संविधानविपरीत चालिएका राजनीतिक कदमविरुद्द कांग्रेस, माओवादी र जसपासंग सहकार्य भएको बताउँछन् । ‘लोकतन्त्र, संविधान र देशको स्वाधीनता बचाउने अभियानमा हामी जोडिएका हौं । भविष्यमा यो सहकार्य कसरी अगाडि बढ्छ, त्यसका आधारमा मात्रै बाँकी कुरा निर्दिष्ट हुन्छ’, रावलले नेपाल प्रेससंग भने । चुनावी गठबन्धनबारे बोल्ने बेला नभएको भन्दै रावलले अहिलेसम्मको अवस्थामा चुनावभन्दा राजनीतिक एजेण्डाकै लागि सहकार्य भइरहेको बताए । ‘चुनावबारे भोलीका दिनमा छलफल होला तर अहिले त संविधान मिच्नेविरुद्ध एकताबद्ध छौ’, रावलले भने ।

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल विपक्षी गठबन्धन प्रतिगमनविरुद्धको महागठबन्धन रहेको बताउँछन् । ‘यो प्रतिगमनविरुद्धको महागठबन्धन हो । तत्कालै चुनावको सम्भावना छैन तर चुनावसम्म प्रतिगमनविरुद्धको लडाई जारी रह्यो भने तालमेल हुनसक्छ’, पौडेलले नेपाल प्रेससंग भने । उनले राजनीतिका हरेक मोर्चाबाट प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुपर्ने भएकोले चुनावी महागठबन्धन बन्न आवश्यक रहेकोमा जोड दिए ।

विपक्षी गठबन्धनमै रहेको जसपाका नेता डम्बर खतिवडा भने चुनावी सहकार्यको सम्भावना नरहेको बताउँछन् । विपक्षी गठबन्धनमा रहेका दलहरुको आकार र दावीका कारण चुनावी सहकार्य सम्भव नहुने खतिवडाको तर्क छ । ‘कांग्रेसको आकार ठूलो छ त्यसैले ऊ गठबन्धनको पक्षमा नरहन सक्छ । जसपा, माओवादी र माधव नेपाल पक्षले पनि कांग्रेसको सहयोगी वा साना दल बनेर चुनाव लड्छन् भन्ने मलाई लाग्दैन’, खतिवडाले नेपाल प्रेससंग भने । उनले राजनीतिक एजेण्डामा सहकार्य भएपनि चुनावी प्रतिस्पर्धा स्वभाविक रहने बताए । ‘चुनावी गठबन्धन हुने सम्भावना म देख्दिन’, खतिवडाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर