माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन – Nepal Press

माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

बुधबारको बैठकपछि बीहीबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै उनीहरूले ती सबै खारेजयोग्य रहेको दावी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।

उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर