कोरोनाबाट मृत्यु भएकाका परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने – Nepal Press

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने

काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोनाभाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ ।

‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौं’, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार कोरोना संक्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र संक्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय संक्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट २८ को मृत्यु भइसकेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३२५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा २७३ संक्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ संक्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
–रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर