गोकर्ण विष्टले भने- एकताको इमानदार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिए – Nepal Press

गोकर्ण विष्टले भने- एकताको इमानदार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिए

काठमाडौं । एमाले एकताका लागि संवादमा रहेका नेता गोकर्ण विष्टले आफ्नो बारेमा सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

विष्टले आज वक्तव्य मार्फत पार्टी र जनसंगठनहरुका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पुर्ववत् अवस्थामा फर्काउनु पर्ने आफ्नो अडानमा यथावत रहेको समेत प्रष्ट पारेका छन् ।

विष्ट पार्टीको संस्थापन पक्षसँग वार्तामा रहेको भन्दै माधव नेपाल पक्षबाटै उनीसहितका नेताहरुको भूमिकाप्रति विरोध प्रकट भइरहेका बेला उनले आफू अर्को समूहमा नगएको संकेत दिएका हुन् ।

विष्टले भनेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’

नेता विष्टले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताएका छन् । एकताका लागि गरिएका इमानदार प्रयासलाई कमजोर पार्ने प्रयास भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर