१० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त – Nepal Press

१० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको मंगलबार उपचारका क्रममा निधन भयो । कोरोना संक्रणपछि गम्भीर बिरामी भएका थापा पछिल्लो समय मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए ।

स्मरणीय के छ भने थापाको निधन हुनुभन्दा एक दिनअघि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआरको नेगेटिभ रिपोर्ट आउनुको अर्थ
कोरोना संक्रमणमुक्त हुनु हो । त्यसैले यो खबरले उनका धेरै शुभेच्छुकमा आशा पनि पलायो । तर चिकित्सकहरुका लागि भने यसको खासै अर्थ थिएन । किन त ?

मेडिसिटी अस्पतालले थापाको निधनपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, ‘उहाँको पीसीआर नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन । चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेच्छाका बाबजुद पनि उहाँको शारीरिक अवस्था सुदृढ हुन सकेन ।’

उज्ववल थापाको भन्दा ठीक उल्टो अवस्था कलाकार मदनकृष्ण श्रेष्ठको छ । उनको रोग निको भइसकेको छ, तर पछिल्लो पीसीआर परिक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आयो ।

करिब एक महिनाअघि कोरोना संक्रमण भएका मदनकृष्ण अस्पतालमा उपचारपछि अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । उनले पनि मेडिसिटी अस्पतालमै उपचार गराएका थिए । पहिलोपटक ८ दिन र दोस्रो पटक १४ दिन मेडिसिटी अस्पताल बसेपछि उनी घर फर्केका हुन् ।

मंगलबारले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै लेखेका छन्, ‘मेरो पीसीआर नेगेटिभ आयो भनेर सबैलाई सुनाउने इच्छाले केही नलेखी चुपचाप कुरिरहेको थिएँ । तर हिजो टेस्ट गराउँदा घरमा सबैको नेगेटिभ देखियो । मेरो अझै पोजेटिभ देखाएको छ ।’

शरीरमा पोजेटिभ भए पनि डाक्टरहरूले भारसरहरू मरिसकेको भनेर आश्वस्त तुल्याएको उनले बताएका छन् । ‘अब खाली ती मरेका भाइरसका लाशहरु मात्र बाँकी छन् । त्यो बाँकी हुञ्जेल पनि मेसिनले पोजेटिभ नै देखाउँछ । तर, त्यसले केही फरक पर्दैन, केही दिनपछि
त्यो आफैं जान्छ भनेका छन्,’ उनी लेख्छन् ।

१० दिनपछिको पीसीआर ‘अर्थहीन’

कसैलाई सञ्चो भइसक्दा पनि रिपोर्ट पोजिटिभ आइराख्ने कसैलाई रोगले गाँज्दै लैजादा पनि रिपोर्ट नेगेटिभ आउने किन हुन्छ त ? विशेषज्ञहरु जवाफमा भन्छन्– कोरोना संक्रमणको १० दिनपछि गरिने पीसीआर परिक्षणको रिपोर्ट जे आए पनि त्यसको अर्थ छैन ।

कोरोना संक्रमण भएको १० दिनपछि परीक्षण गर्न नै आवश्यक नरहेको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल । सरकारको गाइडलाइन पनि यही भएको उनले उल्लेख गरे ।

‘मानिसहरू नेगेटिभ रिपोर्ट कुरेर बस्छन् । जबकि संक्रमणको १० दिनपछि पीसीआर टेस्ट गर्नु आवश्यक नै हुँदैन । राष्ट्रिय टेस्टिङ गाइडलाइनले पनि नगर्नु भन्छ,’ डा पौडेलले भने । शरीरमा मरिसकेको भाइरसले पनि पोेजेटिभ देखाउने हुँदा कसैको महिना दिनसम्म पनि पाोजेटिभ देखिनसक्ने उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ पनि उस्तै छ । अन्तर्राष्ट्रिय अनुसन्धानाले १० दिनपछि कोरोना भाइरस सक्रिय नहुने देखाएको उनले बताए । ‘निष्क्रिय भाइरस अरुलाई नसर्ने भएको हुँदा नेपाल सरकारले १० दिन आइसोलेसनमा बस्न भनेको हो,’ डा पुन भन्छन्, ‘धेरैजसोलाई एक-दुई दिन ज्वरो आएर निको हुन्छ । १० दिनसम्म सबै ठीक छ भने टेस्ट गरिराख्नु पर्दैन ।’

‘नेगेटिभ आउँदैमा ढुक्क हुन मिल्दैन’

लक्षणहरु बढेको वा यथावत छन् भने १० दिनपछि गरेको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि ढुक्क हुन नसकिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।

‘स्वास्थ्य जटिल भइसकेको अवस्थामा पीसीआर नेगेटिभ आउँदैमा सञ्चो हुँदैन । उज्ववल थापाको हकमा यही भएको हो । उहाँको पीसीआर नेगेटिभ आयो, तर त्यसबेलासम्म निमोनियाले फोक्सोमा पूरै असर गरिसकेको थियो । त्यसैले १० दिनपछि पीसीआर रिपोर्टभन्दा स्वास्थ्य अवस्था हेर्नुपर्छ,’ उनी भन्छन् ।

डा पुन पनि नेगेटिभ रिपोर्ट आउँदैमा रोग सकियो भनेर बस्न नहुने सुझाउँछन् । ‘भाइरस नेगेटिभ हुनु भनेको यो अगाडि बढ्दैन भनेर बुझ्नुहुन्न । भाइरस सधैंभरि शरीरमा त रहँदैन । तर यसले एक प्रकारको असर छाडेको हुन्छ, जसल एक प्रकारको हलचल शरीरमा ल्याउने काम गर्छ । जब त्यो हलचल ल्याइदिन्छ, भाइरस नभए पनि असर रहिरहन्छ,’ डा पुनले भने । अंगहरूमा समस्या भइसकेको अवस्थामा त्यसले निरन्तरता पाउने उनको भनाइ छ ।

उज्ववल थापाको रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य स्थिति गम्भीर बनिसकेको थियो । दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत थिए।

उनको केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको थियो । थापाजस्तै कतिपय निधन हुनेहरूमा त्यस्ता संक्रमित छन्, जसको रिपोर्ट नेगेटिभ आए पनि भाइरसले दीर्घकालीन असर गरिसकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर