महाधिवेशनका लागि पौडेल पक्षको दवाव, देउवासंग वार्ता गर्ने जिम्मा कोइरालालाई – Nepal Press

महाधिवेशनका लागि पौडेल पक्षको दवाव, देउवासंग वार्ता गर्ने जिम्मा कोइरालालाई

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको मितिभन्दा सर्न नदिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दवाव बढाउने भएको छ । पौडेल पक्षका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको आज बसेको भर्चुअल बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

‘महाधिवेशन गर्नैपर्ने संवैधानिक संकट पार्टीसामु छ । प्रतिकुल परिस्थितिका बावजुद कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेबारे पार्टीभित्र छलफल हुनुपर्ने देखिएको छ । आज हामीले महामन्त्री मार्फत् केन्द्रीय समिति बैठक बोलाउन पहल गर्ने निर्णय गरेका छौं’, वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेससँगभने ।

पौडेलका अनुसार पार्टीको वैधानिक अस्तित्व रक्षा गर्न सम्भावित विकल्पबारे पार्टीभित्र खुल्ला छलफल गर्न प्रस्ताव गरिएको छ ।

‘आपसमा बसेर महाधिवेशन गर्ने र संवैधानिक संकट टार्ने विषयमा खुला छलफल गर्न हामीले प्रस्ताव गरेका छौं’, पौडेलले भने । उनले संविधानले दिएको अन्तिम अवधी खेर फाल्न नहुनेमा अधिकांश केन्द्रीय नेताहरुले जोड दिएको जानकारी दिए ।

निर्विवाद सदस्यताबाट महाधिवेशन

पौडेल पक्षको बैठकमा अधिकांश नेताहरुले विवादित क्रियाशील सदस्यता थाँती राखेर भएपनि महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । बैठकले क्रियाशील सदस्यता छानबिन समितिबाट निर्विवाद रुपमा टुंगिएका सदस्यताको आधारमै महाधिवेशन गर्न सकिने विकल्पमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

‘विवादित सदस्यता अर्को महाधिवेशनलाई थाँती राख्ने प्रचलन पनि छ । क्रियाशीलमा सहमति गरेर पार्टीको वैधानिकता जोगाउनुपर्छ भन्ने निष्कर्ष रह्यो’, केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने ।

घिमिरेका अनुसार बृहद सभा सम्मेलन सम्भव नभएकोले प्रविधिको उच्चतम प्रयोग गर्ने विकल्पबारे पनि छलफल भएको छ । त्यस्तै सदस्यता छानबिन समितिले तत्काल बाँकी काम सुचारु गर्ने, समायोजन रोकिएका जिल्लाबारे महामन्त्रीले सभापतिसंग छलफल गर्ने लगायतका निष्कर्ष बैठकले निकालेको छ ।

देउवासंग कुरा गर्ने जिम्मा कोइरालालाई

बैठकले पार्टीका आन्तरिक समस्या समाधानका विषयमा सभापति शेरबहादुर देउवासंग वार्ता गर्ने जिम्मा महामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।

‘महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, समायोजन लगायत जतिपनि समस्या छन् त्यसबारे सभापतिसंग छलफल गर्ने जिम्मा महामन्त्रीलाई दिएका छौं’, वरिष्ठ नेता पौडेलले नेपाल प्रेससंग भने । भर्चुअल बैठकमा महामन्त्री कोइरालाले भदौमा पार्टीको महाधिवेशन जसरी पनि सम्पन्न गर्न आवश्यक कदम लिन आफू तयार रहेको बताएका थिए ।

कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्मका लागि तोकिएको छ । यद्यपि कोरोनाका कारण उत्पन्न परिस्थिति र क्रियाशील सदस्यताको टुंगो नलागेका कारण महाधिवेशन अनिश्चित देखिदै आएको छ ।

पौडेल पक्षको छलफलमा पूर्व महामन्त्री कृष्ण सिटौला नेतृत्वको समूहमा रहेका नेताहरु गगन थापा र प्रदीप पौडेल पनि सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर