बजेटले फर्कायो विद्युतीय सवारीमा आकर्षण, १ करोड पर्ने गाडी अब ७० लाखमै – Nepal Press

बजेटले फर्कायो विद्युतीय सवारीमा आकर्षण, १ करोड पर्ने गाडी अब ७० लाखमै

काठमाडौं । नेपालमा सरकारले पेट्रोलियम गाडीलाई विद्युतीय गाडीबाट विस्थापित गर्ने भनेर फलाक्न थालेको धेरै भयो । तर, आज पनि विद्युतीय सवारीसाधन सडकमा बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।

सरकारको बोली र व्यवहारमा एकरूपता नहुँदा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन नसकेको हो । तर, यसपाली अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको वार्षिक बजेटबाट भने विद्युतीय सवारीका बिक्रेता र प्रयोगकर्ता उत्साहित छन् । बजेटले यस्ता सवारीको अन्तशुल्क शून्यमा झारेको छ ।

गत वर्षको बजेटमा भन्सार र अन्तशुल्क वृद्धि गरिएको थियो र त्यसको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा अन्तशुल्क शून्यबाट बढाएर ६० प्रतिशत बनाएका थिए । उनले भन्सारसमेत वृद्धि गरेर ४० प्रतिशत पुर्‍याएका थिए । त्यसलाई यो वर्षको बजेटले सच्याएको हो ।

पहिले ६० प्रतिशत रहेको विद्युतीय गाडीको अन्तशुल्क खारेज गर्नुका साथै भन्सार पनि ४० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ । यसले आगामी दिनमा विद्युतीय सवारीसाधनको मूल्य ह्वात्तै घट्ने देखिन्छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल अब १ करोड पर्ने विद्युतीय गाडी ७० लाखमै किन्न सकिने बताउँछन् । आमरुपमा विद्युतीय गाडीको मूल्य ३० प्रतिशत घट्ने उनको भनाइ छ ।

त्यसो त बजेटले डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीमा प्रयोग हुने केही पार्ट्सको समेत मूल्य घटाएको छ ।

दुलालले भने, ‘डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीको केही पार्टपुर्जाको मूल्य घटेको छ । सबैखाले गाडी र बाइकमा सडक शुल्क घटेको छ । पहिले सडक प्रयोग गरे वापत ७ प्रतिशत कर तिर्नुपथ्यो भने अब ५ प्रतिशत तिरे पुग्छ ।’

अटोमोबाइल्स व्यवसायीले राख्दै आएका माग सरकारले बजेटमा सम्वोधन गरेको हो । त्यसैले बजेटबाट गाडी बिक्रेता खुसी भएका छन् ।

दुलालले भने, ‘कर बढेपछि नेपालमा विद्युतीय गाडीको बिक्री ठप्प जस्तै थियो । अब फेरि यसले बजार लिनसक्ने वातावरण बनेको छ ।’

कर वृद्धि हुनुभन्दा पहिले नेपालमा विभिन्न कम्पनीका १ हजार थान विद्युतीय गाडी बिक्री हुने गरेको थियो । तर गत करवृद्धिसँगै मूल्य बढेपछि उपभोक्ताले विद्युतीय गाडीमा चासो राख्न छोडे । अब फेरि विद्युतीय गाडीमा आकर्षण फर्किने व्यवसायीको अपेक्षा छ ।

नेपालका लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी हुण्डाइका निर्देशक निराकार श्रेष्ठले कर घटाएर सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गरेको बताए ।

उनले भने, ‘यो राम्रो कुरा हो । नेपालभर पहिले करिब १ हजारको हाराहारीमा विद्युतीय गाडी बिक्री हुने गरेकोमा गत वर्षको बजेटपछि ठप्प जस्तै भएको थियो । अब फेरि माग बढ्ने आशा गरेका छौं ।’

नेपालमा गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ ।

अब भन्सार र अन्तशुल्क घटेको आधारमा गाडीको मूल्य घट्ने उनले बताए । अहिले नै यति मूल्य घट्यो भन्न नसकिने उनको भनाइ छ ।

हुण्डाइले ६८ लाख मूल्यको कोना विद्युतीय गाडी बिक्री गरिरहेको छ ।

सरकारले साझा यातायासँग मिलेर एक सय वटा विद्युतीय बस काठमाडौंमा सञ्चालन गर्ने र निजी क्षेत्रसँग मिलेर देशैभर चार्जिङ स्टेसन निर्माण गर्ने बजेटमार्फत घोषणा गरेको छ । अर्थमन्त्रीले पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना समेत अघि सारेका छन् ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी नियोगको सहयोगमा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो ।

अहिले उपत्यकामा विद्युतीय बस, विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । नेपालम पछिल्लो समय विद्युतीय रिक्सा पनि सञ्चालन भइरहेका छन् ।

बजेट भाषणमा अर्थमन्त्रीले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउन प्रयास गर्नेसमेत बताएका छन् । उनले नेपालमा नै गाडी उत्पादन गर्न प्रोत्साहित गर्ने भन्दै सवारीसाधनका पार्टसहरू उत्पादन गर्ने उद्योगका लागि कर सहुलियत र निःशुल्क गर्ने नीति अघि सारेका छन् ।

नेपालमा गाडी उत्पादन गर्न पछिल्लो समय केही कम्पनी अघि सरेका पनि छन् । कोरियाको मोट्रेक्स कम्पनीले नेपालमा गाडी उत्पादन गर्न अनुमति लिएपछि उद्योग विभागमा धेरै कम्पनी दर्ता भएका थिए ।

उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा कम्पनी दर्ता भएका छन् । यीमध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ वटामध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् । तर, ती कम्पनीले कहिलेबाट उत्पादन थाल्छन् भन्ने यकिन छैन ।

नेपालमा गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ ।

स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले गर्ने भएको छ । सो उद्योगको कूल पुँजी १ अर्ब ३२ करोड रहेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहेको छ भने दर्ता भएका मध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् ।

नेपालमा हाल गोल्छा अर्गनाइजेसन र जगदम्बा मोटर्सले कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छन् । उनीहरुले टीभीएस र बजाज ब्रान्डका केही सेगमेन्टका बाइकहरु एसेम्बल गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर