जसपा केन्द्रको विवादले प्रदेश २ सरकारमा असर नपर्ने ! – Nepal Press

जसपा केन्द्रको विवादले प्रदेश २ सरकारमा असर नपर्ने !

प्रदेशमा पनि जसपा फुटे बन्ने छ विपक्षी गठबन्धको सरकार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रमा देखिएको विवादले प्रदेश २ सरकारमा असर नपर्ने नेताहरूले बताएका छन्।

निर्वाचन आयोगमा एक-अर्काको नाम दर्ता किताबबाट हटाउन महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा हिजो पठाएको पत्रसँगै जसपा विभाजनको संघारमा पुगेको छ । यो विवाद उग्र बनेपछि प्रदेश २ सरकार फेरिने चर्चा चले पनि नेताहरुले भने त्यस्तो अवस्था नआउने बताउँछन् ।

प्रदेश २ मा तत्कालिन राष्ट्रिय जनता पार्टीका २५ र तत्कालीन समाजवादी पार्टीका ३० सांसद थिए। सांसद संख्या अधिक रहेको आधारमा समाजवादी पार्टीको तर्फबाट लालबाबु राउत मुख्यमन्त्री बने । पार्टी एकता भएर जनता समाजवादी पार्टी बने पनि उनी नै निरन्तरता पाएका छन् ।

हुन त सरकारबाट केही मन्त्रीलाई फिर्ता बोलाउन पटक-पटक छलफल नचलेको होइन् । तर, पार्टी एकतादेखि नै शीर्ष नेताहरुबीच देखिएको मनमुटाव (विवाद) ले मन्त्रीहरु फेरिएनन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई कारवाही गरेपछि प्रदेश २ सरकारमा भूकम्प आउने हल्ला यादव पक्षका केही तल्लो तहका नेताले गरेका छन् ।

तर, तत्कालीन समाजवादी पार्टीका मधेस प्रदेश कमिटी अध्यक्ष समेत रहेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव जसपाकै सरकार रहने बताउँछन् । ‘कसैलाई बस्ने इच्छा नै नभएको अवस्थामा त केही गर्न सकिन्न, तर जसपाकै सरकार रहिरहन्छ,’ उनको दावी छ ।

‘केन्द्रको आक्रोस थाम्न नसकेर पूर्व राजपाका केही मन्त्रीलाई हटाउने सम्भावना छ’, ठाकुर निकट प्रदेशका एक नेताले भने, ‘तर त्यो निर्णयले उपेन्द्र यादवलाई नै क्षति पुर्‍याउँछ । किनभने जनताले दिएको म्यान्डेटको अपमान गर्ने अधिकार कसैलाई छैन ।’

ती नेताका अनुसार उपेन्द्र पक्षले पूर्वराजपाका मन्त्रीलाई हटाए सरकार नै परिवर्तन हुनसक्छ । तर पार्टी औपचारिक रुपमा नफुटेसम्म त्यो विकल्पबारे तत्काल नसोचेको उनको भनाई छ ।

यस्तो अवस्था आए फेरिन सक्छ

संघीय सरकारमा जाने/नजाने विषयमा भएको विवादले पार्टीका दुवै अध्यक्ष निर्वाचन आयोग पुगेका छन् ।

आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ ।

आयोगले मुद्दा अदालतमा पठाउन सक्छ र अदालतले पार्टी समायोजन समेत नभएको अवस्था रहेकाले पूर्वजसपा र समाजवादी पार्टी ब्युँताउने सम्भावना रहेको छ ।

१०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको कारवाहीपछि अहिले प्रदेश सभामा १०४ सांसद छन् । तत्कालीन संघीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ ।

जसपा विघटन भएर ब्यूँतिने समाजवादी पार्टीले राजपालाई हटाएर कांग्रेस र माओवादीसँग गठबन्धन गर्यो भने यो सरकारलाई नै निरन्तरता दिन सक्छ। तर कांग्रेसले साथ दिएन भने मुस्किल हुनेछ। त्यस्तो अवस्थामा मात्र राजपा, नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउन सक्ने अवस्था सृजना हुनेछ । तर, त्यस्तो समीकरण बन्न पनि कठिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर